+
+

समृद्धि कति नै टाढा रहला र !

रामबहादुर शाह रामबहादुर शाह
२०७८ पुष १४ गते ७:५०

संसारभरका दृष्टान्तलाई हेर्ने हो भने ऐतिहासिक परिवर्तनहरू युवाको संघर्षबाट मात्र सम्भव भएका छन् । नेपालमा पनि युवाहरूको उपस्थितिमा महत्वपूर्ण उपलब्धि हासिल भएका छन् । नेपालमा परिवर्तन र अग्रगमनका लागि भएका प्रयत्नहरूमा युवावर्गको भूमिका उदाहरणीय छ । युवाहरूमा ऊर्जा र सचेतना हुन्छ, जसले परिवर्तन र विकासको बाटो तय गर्दै समृद्धिको ढोका खोल्छ । आफ्नो सक्षमता विकास गर्दै हरेक क्षेत्रमा आफ्नो उपस्थितिलाई सशक्त बनाउने सवाल युवाहरूको प्रमुख दायित्वको रूपमा देखापरेको छ । समृद्धिको जग विकास र सुशासनको संयोजन भएकाले युवाहरूले आफ्नो सकारात्मक भूमिका फराकिलो बनाउँदै लैजानु आजको अपरिहार्य आवश्यकता भएको छ । युवा वर्गले नीति तथा निर्णय निर्माणमा आफ्नो भूमिका खोज्नु र उदाहरणीय ढङ्गले निर्वाह गर्नु नै सही अर्थमा समृद्ध यात्रा तय गर्नु हो ।

लोकतान्त्रिक मूल्य-मान्यताहरूको अभ्यासबाट मात्र समृद्धि हासिल गर्न सकिन्छ । आवधिक निर्वाचनका माध्यमबाट आफ्नो अमूल्य मताधिकारको प्रयोग गरी सही व्यक्तिलाई सही ठाउँमा स्थापित गर्न सकियो भने मात्रै सार्थक हुन्छ । असल व्यक्तिको उपस्थितिमा उचित निर्णयहरू हुन्छन् र त्यसको सकारात्मक प्रभाव सबै क्षेत्रमा देखा पर्दछ । कानूनको शासनमार्फत देशलाई विकास र समृद्धिको मार्गमा डोर्‍याउन युवाको अहम् भूमिका रहन्छ । पद्दतिबाट राज्यका सबै संयन्त्र चल्ने किसिमको वातावरण सिर्जना गर्न युवाहरूले आफ्ना प्रयत्नहरू जारी राख्नुपर्छ । असल सोच र प्रवृत्तिलाई समर्थन र सहयोग गर्न सके मात्र राज्यका सबै प्रणालीमा सुधारको अपेक्षा गर्न सकिन्छ । तटस्थता र गुणात्मकताका आधारमा मात्र अपेक्षित उपलब्धि हासिल गर्न सकिने भएकाले स्वस्थ प्रतिस्पर्धालाई प्रवर्धन गर्न सकेको खण्डमा युवाहरूले आफ्नो उपस्थिति र प्रतिनिधित्वलाई सशक्त बनाउन सक्छन् । लोकतन्त्रलाई संस्थागत गर्न सके मात्र लोकतन्त्रको सही अभ्यास हुन जान्छ । तसर्थ लोकतन्त्रको सुदृढीकरणका लागि युवा वर्गले आफ्नो तर्फबाट भरपुर प्रयत्न गर्नुपर्छ ।

असल राजनीतिक संस्कारको विकासमा युवाहरूको भूमिका सबैभन्दा महत्वपूर्ण सवालका रूपमा देखिएको छ । गुण र दोषका आधारमा मात्र हरेक कामको समर्थन र विरोध गर्ने संस्कृतिको विकास युवाहरूले गर्नु जरूरी छ । जसले गर्दा समाज र राष्ट्रमा सकारात्मक परिवर्तनहरू प्रतिबिम्बित हुने गर्दछन् । सुशासन प्रवर्द्घनमा युवाहरू क्रियाशील रहन सके समृद्धिको गन्तव्यमा पुग्न धेरै कुर्नु पर्दैन ।

ट्रान्सपरेन्सी इन्टरनेशनलद्वारा प्रकाशित भ्रष्टाचार सम्बन्धी सूचक २०२० मा नेपालको स्थान ११७औं रहेको छ । यसले नेपालमा सुशासनका लागि प्रयत्नहरू ज्ाारी राख्नुपर्ने संकेत गर्दछ । युवाहरू नै राजनीति र प्रशासन लगायत विभिन्न क्षेत्रमा क्रियाशील छन् । युवा वर्गले सदाचार तथा व्यावसायिकतालाई केन्द्रविन्दुमा राखेर काम गर्ने हो भने धेरै हदसम्म सुशासन कायम गर्न सकिन्छ । गलत निर्णयहरू हुन नदिनु पनि युवाको दायित्व हो । युवाहरूको उपस्थिति सबै क्षेत्रमा रहने हुँदा राम्रो परिणामका लागि युवाहरू उदाहरण बन्न जरूरी छ । पद्दति र विद्यमान कानूनको परिपालनामा जोड दिएर कार्य सम्पादन गर्न सके सुशासन प्रवर्द्घन हुन गई समृद्धिको ढोका खुल्ने निश्चित छ । जब सार्वजनिक सेवा प्रवाह प्रभावकारी बन्छ, विकासका प्रतिफल सन्तुलित ढङ्गले वितरण हुन्छन्, तब मात्र जनताले सुशासन र सामाजिक न्यायको अनुभूति गर्छन् ।

युवाहरू अध्ययनशील बन्ने र नागरिकहरूलाई सचेत बनाउने प्रयत्न गर्नु आजको अपरिहार्यता हो । सूचना र जानकारी विना मानिस अनभिज्ञ रहन्छ । सुसूचित हुन सके आफू र अरूलाई सचेत बनाउन सकिन्छ । आफू रहेको समाजका नागरिकहरूको सचेतनाको स्तरलाई समेत माथि उठाउनुपर्छ भन्ने भावना जागृत हुनै पर्छ । अनि मात्र समाज चेतनशील र गतिशील बन्छ । समृद्धिको ढोका खोल्न युवाहरू नवप्रवर्तनात्मक तथा अनुसन्धानात्मक कार्यहरूमा केन्द्रित हुनै पर्दछ । युवाहरू जब सिर्जनशीलताको उपयोग गर्छन्, तब समृद्धिको यात्रा छोटो समयमै पार गर्न सकिन्छ ।

विदेशमा सिकेको ज्ञान, सीप र अनुभवलाई स्वदेशमा उपयोग गर्ने हो भने मात्रै युवा वर्गका तर्फबाट राज्य र राष्ट्र निर्माणप्रति न्याय हुन्छ । राष्ट्र समृद्धिको यात्रामा अघि बढ्छ । राष्ट्र समृद्धि र विकसित हुन सके सम्भावनाका ढोका स्वदेशमै खुल्छन् । नेपाली धेरै क्षेत्रमा उत्कृष्ट छन् तर त्यो उत्कृष्टता विदेशी भूमिमा प्रदर्शन भइरहेको छ

वैज्ञानिक खोज, अनुसन्धानबाट कसरी समृद्धि हासिल हुन्छ भन्ने पाठ विश्व समुदायबाट सिक्न जरूरी छ । खोज तथा अन्वेषणबाट नयाँ तथ्य पत्ता लाग्छ, जसले विकासलाई तीव्र गतिमा अघि बढाउनुका साथै परराष्ट्र तहमा समेत राष्ट्रको पहिचान स्थापित गर्दछ । हाम्रो राष्ट्रिय परिवेशलाई हेर्दा अनुसन्धानात्मक क्रियाकलापमा युवाहरू कम मात्रामा संलग्न भएको पाइन्छ । त्यस क्षेत्रमा युवा वर्गले आफ्नो संलग्नतालाई व्यापक बनाउन सके थुप्रै उपलब्धि हासिल गर्न सकिन्छ । विज्ञान र प्रविधिका क्षेत्रमा युवाले आफूलाई जति क्रियाशील बनाउन सके त्यति नै हामीसँग भएका स्रोत र साधनको अधिकतम उपयोग गर्न सकिन्छ र नयाँ-नयाँ उपलब्धि हासिल गर्न सकिन्छ । विकासको छलाङ मार्न युवाहरू अनुसन्धानमूलक कार्यहरूमा केन्द्रित हुनै पर्छ ।

उत्पादनशील क्षेत्रमा युवाहरू सक्रिय रहनुपर्दछ । युवा वर्ग सम्भावनाको खानी हो । राष्ट्र र राज्य निर्माणमा यदि सबैभन्दा बढी कसैले योगदान दिन सक्छ भने त्यो युवा वर्गले नै हो । आफ्नो सक्षमता विकासका लागि युवाहरू आफू नै अघि सर्नुपर्छ । अवसरहरूको खोजी र सम्भावनाका ढोका खोल्ने प्रयत्न जारी राखिराख्न आवश्यक छ । उत्पादनशील क्षेत्रमा युवाहरू सक्रिय रहन सके मात्र समृद्धि हासिल गर्न सकिन्छ । युवा वर्गको सकारात्मक कदमहरूबाट देशलाई समृद्धि र उन्नतिको पथमा डोर्‍याइरहन्छ । तसर्थ सकारात्मक तथा उत्पादनशील कार्यमा युवाहरू केन्द्रित हुनु अपरिहार्य छ ।

निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्दा विवेक प्रयोग गर्न सके मात्र समृद्धिको परिकल्पना गर्न सकिन्छ । निर्वाचन प्रजातन्त्रको मुटु हो । निर्वाचनका माध्यमबाट मात्र लोकतन्त्रको असल अभ्यास हुन सक्छ । जनताले आफ्नो मतका माध्यमबाट शासन गर्न चाहन्छन् । त्यही भएर अब्राहम लिङ्कनले भनेका छन्- ‘जनताद्वारा जनताका लागि गरिएको जनताको शासन नै प्रजातन्त्र हो ।’ जनमतको कदर केवल लोकतन्त्रबाट मात्र सम्भव छ । त्यसैले लोकतन्त्रलाई जीवन्त बनाइराख्न आवधिक निर्वाचन महत्वपूर्ण माध्यम हो । निर्वाचनका माध्यमबाट नै शक्ति आर्जन र शासनको आधार तयार हुन्छ । तसर्थ, युवाहरूले आफ्नो मताधिकारको प्रयोग गर्दा विवेक पुर्‍याउनु अत्यन्त आवश्यक छ । मताधिकारको सही प्रयोगबाट मात्र लोकतन्त्र अस्तित्वमा रहने हुँदा युवा वर्गको विवेकले धेरै अर्थ राख्दछ । मताधिकारको प्रयोग नै जनता र देशको भविष्यसँग जोडिने हुँदा मताधिकारको सही प्रयोग भएमा राष्ट्रले सही दिशामा यात्रा गर्छ भने विवेक नपुर्‍याउँदा देशको भविष्य घडीको उल्टो सुई जस्तै घुम्छ, जसले राष्ट्रको सही समय निर्धारण गर्दैन । युवावर्गले व्यक्तिगत र दलीय स्वार्थभन्दा माथि उठेर राष्ट्रिय स्वार्थलाई केन्द्रमा राख्दै मताधिकारको सदुपयोग गर्नुपर्दछ । किनकि राष्ट्रिय स्वार्थमा युवाहरूको स्वार्थ सबैभन्दा बढी सुरक्षित हुन्छ । तसर्थ, तीन वटै तहका निर्वाचनहरू न्जिकिंदै गर्दा युवाहरूले सबैभन्दा बढी विवेक पुर्‍याउने बेला आएको छ ।

स्वदेशमै केही गर्ने सोचको विकास नै समृद्धि हासिल गर्ने सबैभन्दा महत्वपूर्ण उपाय हो । अहिले युवाहरूमा विदेशमोह धेरै देखिएको छ । जसको परिणाम ब्रेन ड्रेन हो । यसले देशलाई समृद्धिको  दिशातर्फ डोर्‍याउँदैन । अध्ययनका लागि विदेश जाने र ज्ञान, सीप आर्जन गरिसकेपछि स्वदेशमै काम गर्ने सोचको विकास युवाहरूले गर्नु जरूरी छ । स्वदेशमै अवसर र सम्भावनाहरूको सिर्जना गर्न समेत युवाहरू अग्रसर हुनुपर्छ । विदेशमा सिकेको ज्ञान, सीप र अनुभवलाई स्वदेशमा उपयोग गर्ने हो भने मात्रै युवा वर्गका तर्फबाट राज्य र राष्ट्र निर्माणप्रति न्याय हुन्छ । राष्ट्र समृद्धिको यात्रामा अघि बढ्छ । राष्ट्र समृद्ध र विकसित हुन सके सम्भावनाका ढोका स्वदेशमै खुल्छन् । नेपाली धेरै क्षेत्रमा उत्कृष्ट छन् तर त्यो उत्कृष्टता विदेशी भूमिमा प्रदर्शन भइरहेको छ । त्यसलाई आफ्नै माटोमा सदुपयोग गर्ने हो भने हाम्रो देशले छोटो समयमा नै छलाङ मार्ने निश्चित छ ।

युवावर्ग सर्वाधिक ऊर्जाशील र सिर्जनशील मानव पंक्ति हो । नेपालमा कुल जनसंख्याको करीब ४० प्रतिशत भन्दा बढी हिस्सा युवाहरूको छ । समृद्धिका लागि राज्यका हरेक क्षेत्रहरूमा युवाहरूको अर्थपूर्ण सहभागिता आजको अपरिहार्यता बनेको छ । ‘म जे गर्छु आफ्नै देशमा गर्छु, आफ्नै देशका लागि गर्छु’ भन्ने सोचको विकास गर्दै युवाहरूले राष्ट्रिय समृद्धिका लागि सकारात्मक भूमिकाका साथ आफ्नो ऊर्जा र सम्भावनालाई खर्चिने हो भने समृद्धि कति नै टाढा रहला र !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?