+
+

अमेरिकाको आलोचनाबारे माओवादी प्रतिनिधिले उठाए प्रश्न

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १४ गते १४:०५

१४ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनका प्रतिनिधिहरुले अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमा गरिएको अमेरिकाको आलोचनाबारे थप प्रष्ट पार्न माग गरेका छन् । अमेरिकाको आलोचना गरेर चीनलाई खुसी पार्न खोजिएको त होइन भन्ने उनीहरुको शंका छ ।

सोलुखुम्बुका प्रतिनिधि गोम्बु शेर्पाले भने, ‘हिन्द प्रशान्त क्षेत्रमा चीनलाई रोक्ने रणनीति अन्तरगत पश्चिमा पुँजीवादले आफ्नो गतिविधि बढाएको भनिएको छ । यसको चिन्ता हामीलाई मात्रै हो कि चीनलाई पनि हो यो प्रष्ट हुनुपर्यो ।’ चीन अमेरिकासँगै मिलेको हुनसक्ने अनुमान गर्दै उनले चीन नबोलेको विषयमा हामीले किन आलोचना गर्ने भनेर प्रश्न गरे ।

प्रचण्डको राजनीतिक प्रतिवेदनमा अमेरिकाको आलोचना गरिएको छ । अमेरिका आफू र आफ्ना साझेदारलाई युद्धमा होम्ने योजनामा रहेको भन्दै प्रचण्डले सोही रणनीति अनुसार अमेरिकाले भारतसँग सम्बन्ध सुदृढ बनाउन खोजेको टिप्पणी गरेका छन् ।

शेर्पाले भारतप्रतिको पार्टीको दृष्टिकोण पनि प्रतिवेदनमा उल्लेख गर्न माग गरेका छन् । प्रचण्डको प्रतिवेदन भारतबारे मौन छ ।

शेर्पाले विचारको उचाइको तुलनामा योजना र कार्यक्रम असाध्यै कमजोर आएको भन्दै त्यसको गम्भीरतापूर्वक पुनरलेखन गर्न, समानुपातिक प्रणाली समावेशी वर्गको आधारमा लागू गर्न, बेरोजगारी समस्या समाधान गर्नुपर्ने लगायतमा प्रतिवेदनमा प्रष्ट पार्नुपर्नेमा जोड दिए ।

यसैगरी पूर्वमन्त्री पदम बहादुर राईले एमसीसी खारेज गर्न माग गरेका छन् । उनले श्रमको सम्मान गर्नुपर्ने सँस्कृतिको विकास गर्न, युद्धकालीन मुद्दाहरुको समस्या समाधान गर्न र घाइते तथा अपाङ्गता भएकाहरुका माग सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् ।

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत जारी बन्दसत्रमा प्रतिनिधिहरुले राजनीतिक र विधान मस्यौदा प्रतिवेदनमा गरिएको सामूहिक छलफलको निष्कर्ष सुनाउने क्रम  जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?