
१४ पुस, काठमाडौं । सुविन भट्टराई चर्चित उपन्यासकार हुन् । ‘कथाकी पात्र’ कथा संग्रह लेखेर लेखन क्षेत्रमा प्रवेश गरेका भट्टराई युवापुस्तामाझ निक्कै लोकप्रिय छन् । उनका हालसम्म समर लभ, साया र मनसुन लगायतका उपन्यास प्रकाशित भइसकेका छन् ।
चर्चित उपन्यास ‘समर लभ’ उनको दोस्रो कृति हो भने पहिलो उपन्यास हो । यो २०६९ सालमा सर्वाधिक बिक्री हुने पुस्तकमध्ये एक हो । उनै लेखक भट्टराईको जीवनशैली र दैनिकीका विषयमा गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
बिहान कति बजे उठ्नुहुन्छ ? उठ्ने तालिका नियमित छ वा छैन ?
बिहान ६ देखि ७ बजेसम्म उठिसक्छु, त्यस्तो तालिका नियमित भन्ने नै छैन ।
उठ्नासाथ के गर्नुहुन्छ ? मोबाइल चलाउनुहुन्छ वा पूजापाठ गर्नुहुन्छ ?
उठेर सबैभन्दा पहिला फ्रेस हुन्छु । मोबाइल हेर्ने र पूजापाठ दुवै गर्दिन ।
बिहान फ्रेस भइसकेपछि योग ध्यान, एक्सरसाइज गर्नुहुन्छ ?
त्यस्तो केही छैन । साँझमा भने म हिँड्न रुचाउँछु, एक्सरसाइजको लागि साँझमा मुटु धड्किने गरेर भर्याङमा तलमाथि गर्छु ।
बिहान नास्ता खानुहुन्छ वा हुन्न ?
नास्ता चाहिन्छ नि, बिहान खान्छु ।
नास्तामा के खानुहुन्छ ?
दूधमा ओड्स, बदाम, केरा मिसाएर खान्छु ।
बिहानको खाना कति बजे खानुहुन्छ ?
खाना त्यस्तै १० बजेभित्र खाइसक्छु ।
कस्तो खाना रुचाउनुहुन्छ ?
त्यस्तो यही हो भन्ने नै छैन । सबै प्रकारका खाना मन पर्छ ।
तपाईंको खानामा छुट्दै नछुट्ने चिज के हो ?
खानामा त्यस्तो केही छैन ।
माछा-मासु कत्तिको खानुहुन्छ ?
नियमित नै चाहिन्छ । मासु पहिला धेरै खान्थें, हिजोआज माछा बढी खान थालेको छु । स्वास्थ्यलाई ख्याल गरेर खान थालेको छु ।
मदिरापान गर्नुहुन्छ ?
गर्छु, मन मिल्नेसँग ।
भान्सामा काम गर्ने जाँगर कत्तिको चल्छ ?
भान्साको काम गर्दा रमाइलो लाग्छ । आफ्नो तरिकाले पकाउँदा बेग्लै आनन्द आउँछ । अरुलाई खुवाउँदा थप आनन्द मिल्छ ।
तपाईंलाई आफैंले बनाएको कुन खानेकुरा बढी मन पर्छ ?
खानामा माछा-मासु नै मन पर्छ । मैले बनाएको चिया पनि मीठो हुन्छ भनेर परिवारका दस्य र साथीभाइले भन्छन् ।
बाहिर रेष्टुरेन्टको खाना मीठो कि घरमा बनाएको ?
जिब्रोलाई बाहिरको मीठो हुन्छ नै ।
एकदमै भोक लागेको तर खाना खाने अनुकूलता नमिलेको कुनै क्षण ?
एक वर्षअघि म र एक जना साथी मेरो घर खोटाङ गएका थियौं । घरसम्म जाने सडक निर्माण भएको थिएन हिँडेर नै जानुपर्दथ्यो । म नगएको पनि १५ वर्ष भइसकेको थियो । बिहानको खाना खाएर पैदल हिँडेको बाटो बिर्सेर रातिको १२ बजेसम्म जंगलमा भौतारियौं । भोकले सुन्तला, केराको बोक्रा भेटेपनि खान्थें जस्तो भएको थियो । १२ बजेपछि बल्ल घर पुगियो । यही नै हो भोकको पराकाष्ठा । अहिले त घरसम्मै गाडी जान्छ ।
घरको काम कुचो लगाउने, सरसफाइ गर्ने, भाँडा माँझ्ने, लुगा धुने काम आफैं गर्नुहुन्छ ?
लुगाधुने काम बाहेक सबै गर्छु ।
घरबाट निस्कनुअघि मेकअपमा कति समय लाग्छ ?
मैले मेकअपको नाममा लगाउने भनेको हेयर क्रिम मात्रै हो । त्यसैले समय लाग्ने कुरै भएन ।
बाहिर हिँडडुल गर्दा कस्तो लुगा सहज लाग्छ ?
क्याजुल लुगा मन पर्छ ।
गरगहनामा कत्तिको आशक्ति छ ?
गहना लगाउन मलाई मन पर्दैन ।
तपाईं कस्तो सवारी साधन प्रयोग गर्नुहुन्छ ?
रेनल्टको क्विड कार प्रयोग गर्दै आएको छु ।
तपाईंको दिन प्रायः कसरी बित्छ ?
लेख्ने, पढ्ने र सिनेमा हेरेरै बिताउने गर्दछु ।
रातिको खाना कति बजे खानुहुन्छ ?
जाडो समयमा ६ बजेभन्दा अघि र गर्मीमा ७ बजेसम्म खाइसक्छु ।
रातिको खानामा प्रायः के खानुहुन्छ ?
दाल, भात र तरकारी नै रुचाउँछु ।
सुत्दा कति बज्छ ?
१० देखि ११ बजेभित्र सुतिसक्छु ।
प्रतिक्रिया 4