+
+

कहाँ पुग्यो नेप्सेको सीईओ नियुक्ति प्रक्रिया ?

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १४ गते १४:३२

१४ पुस, काठमाडौं । शेयर बजारको फ्रन्टलाइनर रेगुलेटरको रुपमा रहेको नपाल स्टक एक्सचेञ्जको प्रमुख कार्यकारी नियुक्ति प्रक्रिया अलमलमा परेको छ । दैनिक बजार सञ्चालन गर्ने नेप्से प्रमुख कार्यकारी अधिकृतविहीन बनेको ५ महिना बढी भइसक्दा पनि चाँडो नियुक्त गर्न सरकारले चासो देखाएको छैन ।

सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा मुछिएपछि तत्कालीन सीईओ चन्द्रसिंह साउदले ८ भदौमा पदबाट राजीनामा दिएका थिए । तत्कालै सरकारले राजीनामा स्वीकृत गरेपनि नयाँ सीईओ नियुक्त गर्न सकेका छैन ।

समग्र पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डमा भने संयोजक छनोट प्रक्रियामा नै बिवाद हुँदा सरकारले अध्यक्ष नियुक्त गर्न सकेको छैन । नेप्सेको सीईओ नियुक्त गर्न पनि सरकारले छनोट समिति गठन गरेर काम अघि बढाइसकेको छ । ११ कात्तिकमा सार्वजनिक सूचना निकालेर अर्थमन्त्रालयले खुला प्रतिष्पर्धाबाट सीईओ नियुक्त गर्ने प्रक्रिया अघि बढाएको थियो ।

मन्त्रालयका सहसचिव रमेशकुमार केसीको संयोजकत्वमा छनोट समिति बनाएर मन्त्रालय काम अघि बढाएको थियो । समितिको सदस्यमा प्रा. डा. जीवननाथ धिताल र अर्थमन्त्रायका प्रवक्ता रितेश शाक्य छन् ।

नेप्सेको सीईओ बन्नका लागि निरन्जन फुँयाल, प्रबिन पन्दाक, डा. रमेशकुमार भण्डारी, जीवन अमगाईं, बद्रीप्रसाद प्याकुरेल, केशवप्रसाद श्रेष्ठ, रमेश घिमिरे, दिपक गौतम, गोविन्दप्रसाद दाहाल र छविराज पन्तसहित ११ जनाले आवेदन दिएका छन् । आवेदन दिएका फुँयाल नेप्सेकै कामु प्रमुख कार्यकारी अधिकृत हुन् भने पन्दाक नेप्सेकी कामु प्रबन्धक र प्याकुरेल हाल आरबीबी मर्चेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत हुन् ।

अब चाँडो नियुक्ति हुन्छ : मन्त्रालय

कम्पनी ऐन अनुसार नेप्सेको सीईओ नेप्सकै सञ्चालक समितिले समेत गठन गर्न सक्नेछ । अर्थमन्त्रालयका सहसचिव दीर्घराज मैनाली नै नेप्सेको सञ्चालक समिति अध्यक्ष छन् । तर सरकारले सञ्चालक समितिलाई नदिइ स्वस्थ प्रतिस्पर्धाबाट नियुक्ति गर्ने भन्दै छुट्टै समिति बनाएर काम अघि बढाएको थियो ।

अर्थमन्त्रालयका अनुसार नियुक्ति प्रक्रियामा कुनै विवाद वा झमेला छैन । संयोजक केसी केही दिन बिदामा बस्दा काम केही ढिला भएको मन्त्रालयको भनाइ छ । तर अहिले भने काम अघि बढिसकेको मन्त्रालयका प्रवक्ता रितेश शाक्य बताउँछन् ।

छनोट समितिका सदस्य समेत रहेका शाक्यले नेप्सेले चाँडै नयाँ प्रमुख कार्यकारी अधिकृत पाउने बताए । उनका अनुसार अहिले प्राप्त आवेदनहरु अध्ययन गर्ने काम भइरहेको छ । ‘कति समय लाग्छ भनेर ठ्याक्कै त भन्न सक्दिन तर अब ढिलाइ हुँदैन, चाँडै नियुक्त हुन्छ’ प्रवक्ता केसीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?