+
+

विद्युतमा ‘बरदान’ बन्दै माथिल्लो तामाकोशी

विहान बेलुकीको पिक आवरमा भारतबाट सानो परिमाणमा बिजुली ल्याउँदा पनि माग धान्न सकिने अवस्था तामाकोशीको पिकिङ फेसिलिटी (केही घण्टा पानी जमाएर राख्न सकिने सुविधा)का कारण सम्भव भएको छ ।

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७८ पुष १४ गते १९:४३

१४ पुस, काठमाडौं । पछिल्ला दिनमा नदीमा पानीको सतह घट्दै गएपनि धेरै बिजुली माग हुने पिक आवर (बिहान–बेलुकी)मा भारतबाट आयात हुने विद्युतको परिमाण न्यून छ । नेपाल विद्युत प्राधिकरणको भारप्रेशण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईको भनाइ मान्ने हो भने पिक आवरमा विद्युतको माग व्यवस्थापन गर्न मूल रुपमा नेपालकै जलविद्युत परियोजनाबाट उत्पादित बिजुली प्रयोग गरिँदै छ । यसलाई सम्भव बनाएको हो, माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले ।

प्राधिकरणको प्रवक्ता समेत रहेका भट्टराईको भनाइमा पिक आवरमा थोरै बिजुली आयात गरेरै प्रणालीमा माग व्यवस्थापन गर्न सकिने स्थिति बनाउन ४५६ मेगावाटको माथिल्लो तामाकोशी बदरदानजस्तै बनेको छ । उनका अनुसार एउटा ठूलो आयोजना थपिँदा विद्युत् प्रणालीमा माग र आपूर्तिको व्यवस्थापन गर्न कति सहज हुन्छ भन्ने प्रमाण तामाकोशी हो ।

गत साउनबाट सञ्चालनमा आएको परियोजनाको बिजुली वर्षायाममा भारत पठाउने प्राधिकरणको प्रयत्न सफल भएन । तर, यो परियोजना नेपालको विद्युत प्रणालीको मेरुदण्डको रुपमा स्थापित भइसकेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् ।

पिक आवरमा भारतबाट सानो परिमाणमा बिजुली ल्याउँदा पनि माग धान्न सकिने अवस्था तामाकोशीको पिकिङ फेसिलिटी (केही घण्टा पानी जमाएर राख्न सकिने सुविधा)का कारण सम्भव भएको घिसिङ बताउँछन् ।

‘हामी बिहान–बेलुकी धेरै बिजुली माग हुने समयभन्दा अघि करिब ३–४ घण्टा माथिल्लो तामाकोशी नचलाइ पानी रोकेर राख्छौं,’ उनी भन्छन्, ‘जब साँझमा माग बढ्दै जान्छ, तामाकोशीका सबै युनिट चलाएर ४५६ मेगावाट नै बिजुली उत्पादन गर्छौं ।’

घिसिङको भनाइमा तामाकोशीले दिएको यो सुविधाले मूल्य रुपमा दुई वटा फाइदा गरेको छ । भारतबाट आयात गर्नुपर्ने बिजुलीको परिमाण र लागत दुवै घटाउन सहयोग पुग्नेछ ।

अहिले दिउँसो र रातमा तामाकोशी पिकिङ गर्दा अपुग बिजुली भारतबाट ल्याउने गरिएको छ । पछिल्ला दिनमा दिउँसो करिब साढे तीन सय मेगावाटसम्म बिजुली भारतबाट किन्ने गरिएको प्राधिकरणले जानकारी दिएको छ ।

रोचक के छ भने भारतबाट दिउँसो र रातमा बिजुली आयात गर्दा पिक आवरको भन्दा चार भागसम्मले मूल्य कम पर्छ । दिउँसो र रातमा भारतबाट बिजुली किन्दा भारु ३.१० भारतीय रुपैयाँदेखि ३.५० रुपैयाँसम्म पर्छ । तर, पिक आवरमा बिजुली किन्ने हो भने त्यो लागत १० देखि १५ रुपैयाँ भारुसम्म पर्छ ।

‘भारतमा पनि साँझ र विहानमा बिजुलीको मूल्य निकै उच्च छ, तामाकोशी बनेपछि हामीले पिक आवरमा भारतबाट ल्याउनुपर्ने बिजुलीको परिमाण निकै घटेको छ,’ घिसिङ भन्छन्,‘दिउँसो र रातमा आयात गर्दा गर्दा हामीले भारतलाई तिर्नुपर्ने शुल्क कम हुन्छ ।’

भारप्रेशण केन्द्रका प्रमुख भट्टराई भारत र नेपालको दैनिक ‘लोड प्यार्टन’ उस्तै भएको बताउँछन् । भारतमा पनि पिक आवरमा बिजुली महँगो पर्ने भएकाले सकेसम्म पिक आवरमा कम बिजुली ल्याउने गरी स्वदेशी आयोजनाहरु चलाउने गरिएको बताए ।

‘हामी दिउँसो र रातमा तामाकोशी मात्रै हैन, कालीगण्डकी, मर्स्याङ्दीजस्ता आयोजनामा पनि पिक गर्छौं,’ उनी भन्छन्, ‘यसका कारण हामीले भारतमा निकै महँगो मूल्य पर्ने बिजुली किन्न पर्ने अवस्था हुँदैन ।’

उनले सकेसम्म भारतबाट सस्तो पाएका बेला बिजुली ल्याउने र महँगो पर्ने समयमा पिकिङ आयोजनाहरुको सुव्यवस्थित र योजनावद्ध सञ्चालन गर्ने रणनीति लिइएको बताए ।

आवश्यक्ताअनुसार भारतबाट बिजुली ल्याउनु परेपनि सकेसम्म पिक आवरमा कम ल्याउने गरी प्रणालीको व्यवस्थापन गरिएको भट्टराईको भनाइ छ ।

‘तामाकोशी नभएको भए अहिलेको जस्तो सजिलो अवस्था हुँदैन थियो,’ उनले भने, ‘पिक आवरमा माग १६९९ मेगावाटसम्म पुग्दा पनि हामी अधिकतम स्वदेशकै बिजुलीबाट माग धानिरहेका छौं ।’

तामाकोशीबाट आयोजनाबाट वार्षिक करिब दुई अर्ब २८ करोड युनिट ऊर्जा उत्पादन हुन्छ । यो गतर्षसम्म नेपालमा खपत भइरहेको विद्युत परिमाणको करिब एक तिहाइ हिस्सा हो । आयोजनाले गत साउनदेखि गत हप्ता(२४ डिसेम्बर) सम्म करिब ७१ करोड युनिट विद्युत ऊर्जा उत्पादन गरेर राष्ट्रिय विद्युत प्रणालीमा प्रवाह गरिसकेको छ ।

आयोजनाले वर्षायामको चार महीना पूर्ण क्षमतामा उत्पादन गर्न सक्छ भने बाँकी महीना पानीको उपलब्धता अनुसार समानुपातिक रूपमा उत्पादन गर्छ ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङका अनुसार यो आयोजना पिकिङ गर्दा विद्युत् प्रणालीको स्थिरता (सिस्टम स्टाबिलिटी) र विश्वसनीयता (रिलायबिलिटी) बढाउन सहयोग पुगेको छ । विशेषगरी खाना पकाउनको लागि भविष्यमा आउनसक्ने इन्डक्सन लोडका लागि आवश्यक विद्युत् मागलाई सन्तुलित रूपले विद्युत् आपूर्ति दिन यो आयोजना सहयोगी हुने घिसिङ बताउँछन् ।

माथिल्लो तामाकोशी प्राधिकरणको लागि मुनाफा कमाइदिने एकदमै राम्रो आयोजनाको रूपमा रहनेछ ।

प्राधिकरणसँग भएको विद्युत् खरीद–बिक्री सम्झौता (पीपीए) अनुसार आयोजनाको व्यापारिक उत्पादन शुरू भएको वर्ष प्राधिकरणले खरिद गर्ने विद्युत्को दर औसतमा रु.४.०६ (हिउँद यामको चार महीना प्रतियुनिट रु.६.९६ र अन्य ८ महीनाको लागि प्रति युनिट रु.३.६३) कायम गरेको छ ।

यो दरमा त्यसपछिका नौ वर्षसम्म प्रत्येक वर्ष ३ प्रतिशतका दरले वृद्धि (चक्रवृद्धि) भई नवौं वर्षमा प्रति युनिट खरीददर औसतमा रु.५.३० (हिउँद यामको चार महिना प्रति युनिट रु.९.०८ र अन्य ८ महिनाको लागि प्रति युनिट रु.४.७३) कायम हुनेछ ।

ग्राहकसम्म पुग्दा करीब १५ प्रतिशत विद्युत् चुहावट हुन्छ भन्ने मान्ने हो भने ग्राहकको मिटरमा पुग्दाको खरिददर व्यापारिक उत्पादनको पहिलो वर्ष प्रति युनिट औसत रु.४.७८ र नवौं वर्षमा प्रति युनिट औसत रु.६.२४ पुग्ने अवस्था छ ।

प्राधिकरणले हाल भएको संरचना र कर्मचारीबाटै माथिल्लो तामाकोशीबाट प्राप्त विद्युत् बिक्री गर्न सक्ने हुँदा थप खर्च लाग्ने अवस्था छैन । त्यसैले पनि माथिल्लो तामाकोशीको विद्युत् शतप्रतिशत देशभित्रै बिक्री गर्न सकेमा यसबाट मात्र वार्षिक करिब १० अर्ब रुपैयाँ थप मुनाफा गर्न सक्ने घिसिङ बताउँछन् ।

प्राधिकरणको लागि माथिल्लो तामाकोशीको विद्युत् नगद कमाउने स्रोतको रूपमा रहनेछ । प्राधिकरणले सबभन्दा बढी विद्युत् बिक्रीबाट फाइदा गर्नेछ भने दीर्घकालीन रूपमा ४१ प्रतिशत शेयरबाट प्राप्त लाभांशबाट पनि मुनाफा आर्जन गर्ने घिसिङ बताउँछन् ।

‘शेयरधनीलाई पनि आयोजनाले लाभ दिने दिन धेरै पर छैन,’ उनी भन्छन् ।

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?