+
+

कानुन अस्पष्ट हुँदा गल्तीबिनै सजाय पाउँछन् गर्भवती

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १५ गते १६:३७

१५ पुस, काठमाडौं । सर्खेतकी कमला खत्री (परिवर्तित नाम) को तीन वर्षअघि स्थानीय एक युवकसँग मागी विवाह भयो । उनको विवाह भएको करीब एक वर्षपछि गर्भवती भइन् । कमला गर्भवती भएको दुई महिनापछि उनका श्रीमान वैदेशिक रोजगारीमा गए ।

गर्भावस्थामा गह्रौं भारी बोक्न, उचाल्न नहुने डाक्टरहरुको सुझाव छ । तर ग्रामीण क्षेत्रका अरु महिलाले जस्तै कमलाले पनि घाँस, मलको भारी बोक्नुपथ्र्यो । मल बोक्ने क्रममा चिप्लेर लड्दा उनको गर्भ खेर गयो । त्यसपछि नजिकैको स्वास्थ्य संस्थामा उपचार गराएर घर जान नपाउँदै गर्भपतन गराएको आरोपमा उनी पक्राउ परिन् ।

डाक्टरले पनि सात महिनाको बच्चा खेर गएको रिपोर्ट दिएको छ । तर परिवारकै व्यक्तिले गर्भपात गराएको प्रहरीमा उजुरी गरेपछि उनी गर्भपात गराएको आरोपमा कारबाही भोगिरहेकी छिन् ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ ले व्यवस्था गरेका प्रावधानहरु स्पष्ट नहुँदा यस्ता भवितव्यका घटनाहरुमा समेत गर्भपतन गराएको सजाय भोगिरहेका महिलाहरु धेरै रहेका महिला, कानून र विकास मञ्च (एफडब्लुएलडी) का अधिवक्ता नवीनकुमार श्रेष्ठ बताउँछन् ।

बिहीबार एफडब्लुएलडी र आइपास नेपालले गरेको संयुक्त छलफलमा कानुनी व्यवस्था स्पष्ट नहुँदा धेरै महिलाहरु बिना कसुर कारबाही भोग्न परिरहेको भन्दै ऐन संशोधन हुनुपर्ने आवाज उठेको थियो ।

ऐनको पारम्भिक परिच्छेदको दफा २ (घ) मा गर्भपतन भन्नाले गर्भमा रहेको भ्र्रूण स्वाभाविक रुपमा जन्मन सक्ने हुनुभन्दा अगावै गर्भाशयबाट भ्रूण बाहिर निस्कने वा निकाल्ने कार्य सम्झनुपर्छ भनिएको छ ।

यसले स्वतः गर्भपतन र प्रेरित गर्भपतन बीच फरक छुट्याउन नसकेको अधिवक्ता श्रेष्ठ बताउँछन् । साविकको दफा २ (घ) को सट्टामा गर्भपतन भन्नाले गर्भमा रहेको भु्रण स्वाभाविक रुपमा जन्मन सक्ने हुनुभन्दा अगावै गर्भाशयबाट भ्रूण बाहिर निकाल्ने कार्य सम्झनुपर्छ’ राख्नुपर्ने अधिकारकर्मीहरुको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?