+
+

पुरुष भलिबल टिम : नतिजा नआउँदा स्वागतमा बेवास्ता !

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १५ गते २१:०४

काठमाडौं । पाँच दशक भन्दा लामो अन्तर्राष्ट्रिय भलिबल यात्रामा नेपाली पुरुष भलिबल टिमको उपलब्धि जम्मा एक कास्य पदक हो । २०१७ मा माल्दिभ्समा भएको एसियन सेन्ट्रल जोनमा प्रतियोगितामा नेपाल तेस्रो हुँदै कास्य पदक जितेको हो ।

त्यसयता नेपालले तीन पटक एसियन सेन्ट्रल जोन, एक पटक एसियन गेम्स अनि एउटा दक्षिण एसियाली खेलकुद गरी ५ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेको छ । तर कुनैमा पनि नेपालले सफलता हात पार्न सकेको छैन । अर्को अर्थमा भन्दा प्रदर्शन औसत रहँदा नतिजा भने ल्याउन सकेको छैन ।

मंगलबार बंगलादेशको ढाकामा सम्पन्न एसियन सेन्ट्रल जोन पुरुक्ष भलिबल च्यालेन्ज कपमा नेपाल चौथो भयो । पदक जित्ने लक्ष्यसहित ढाका पुगेको नेपाल पाँच टिममध्ये चौथो स्थानमा रह्यो ।

राउण्ड रोविनमा उज्वेकिस्तान र माल्दिभ्सलाई हराएर नेपाल तेस्रो स्थानमा रहेको थियो । तर लिगपछि तेस्रो स्थानको लागि भएको खेलमा नेपाल उज्वेकिस्तानसंग पराजित भयो र चौथो भयो । लिगमा नेपालले उज्वेकिस्तान पराजित गरेपनि निर्णायक खेलमा प्रदर्शन दोहोर्‍याउन नसक्दा पदक नजिकै पुगेपनि टाढा भयो ।

ढाका जानुअघि नेपालका कप्तान इम राना र मानबहादुर श्रेष्ठले बंगलादेश र माल्दिभ्सलाई हराउने लक्ष्य राखेका थिए । नेपालले दुबै देशलाई हरायो पनि । तर घरेलु टोली बंगलादेशलाई हराउन सकेन । लिगमा दुई जित हात पारेपनि पदका लागि भएको खेलमा नेपाल चुक्यो ।

पहिलो खेलमा बंगलादेशसंग पराजित भएको नेपालले दोस्रो खेलमा उज्वेकिस्तानलाई पराजित गरेको थियो । तेस्रो खेलमा पनि नेपालले श्रीलंकाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेपनि पराजित भयो । चौथो खेलमा नेपालले माल्दिभ्सलाई सोझो सेटमै हरायो ।

त्यसपछि तेस्रो स्थानका लागि भएको खेलमा नेपालले अघिल्ला खेलहरुमा जस्तो खेल्न नसकेको मुख्य प्रशिक्षक हान अबिङको भनाइ छ । यही प्रतियोगिताका लागि एफआईभीबीको सहयोगमा नेपालमा एक महिना प्रशिक्षण दिएका हान टिमसंगै बंगलादेश गए । उनले प्रतियोगिताअघि नै नेपालले पदकको लक्ष्य राख्नु भन्दा पनि राम्रो प्रदर्शन गर्नुपर्ने र वास्तविकताबारे बुझ्नुपर्ने बताएका थिए ।

कोभिड-१९ महामारीले गर्दा दुई वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्कँदा थोरै समयको तयारीले पदकको आशा राख्नु आफैंमा सहज थिएन ।

बंगलादेशमा नेपालले सोचे भन्दा राम्रो नै खेल्यो । अन्तिम खेललाई छाड्ने हो भने नेपालले गरेको प्रदर्शन फाइनलकै लागि दाबेदारी दिन खालकै देखिएको थियो । तर प्रदर्शनमा एकरुपता भएन ।

प्रशिक्षक हान अबिङले नेपालले गरेको प्रदर्शनलाई सकारात्मक रुपमा हेर्नुपर्ने बताउँछन् । उनले उज्वेकिस्तानलाई पराजित गर्नु अनि श्रीलंकासंग राम्रो खेल्नु नेपालको राम्रो पक्ष रहेको बताए । तर निर्णायक खेलमा नेपालले उज्वेकिस्तानसंग खेल्नुपर्ने स्तरको खेल खेल्न नसकेको उनको भनाइ छ ।

नेपाली टिमका कप्तान तथा सेटर इम रानाले थोरै समयमको तयारीका बावुजद पनि पदक छुने लक्ष्य राखेका थिए । तर सफल हुन सकेन ।

स्वागतमा पनि वेवास्ता

सेन्ट्रल जोनको च्याम्पियन बनेर आएका महिला टोलीले भव्य स्वागत पाउँदा पुरुष टोलीलाई भने स्वागतमा पनि वास्ता गरिएन ।

पदक जित्ने लक्ष्य भएपनि चौथो बनेपछि पुरुष टोलीलाई बेवास्ता जस्तै गरियो । नेपाल भलिबल संघ खेलाडीहरुको अभिभावक हो । जित्ने टिमलाई काखा नजित्नेलाई पाखा गर्दा खेलाडीलाई कसरी प्रोत्साहन होला त्यो पनि सोच्नुपर्ने हो । महिला खेलाडीको स्वागतमा युवा तथा खेलकुद मन्त्री स्वयं उपस्थित हुँदा पुरुष टिमले भने अपहेलित महसुस गरे ।

च्याम्पियन महिला टिमले माला र खादाले सम्मान पाउँदा पुरुष टोलीका खेलाडीहरु हौसला दिने र प्रोत्साहन गर्ने कामसम्म भएन । यसअघि नेपालमै सेन्ट्रल जोन हुँदा पाँचौ भएको नेपालको पुरुष टोली यस पटक चौथो भयो । प्रशिक्षक हानले भनेजस्तै प्रदर्शन सुधार भएपनि नतिजा नआउँदा उनीहरु सम्मानित हुन सकेनन् ।

च्याम्पियन खेलाडीलाई सबैले बधाइ दिँदै खादा लगाउँदा पुरुष टिमलाई भने वास्ता गर्ने कोही भएन । जाँदा  महिला टिमसँगै बिदाइ भएर गएका पुरुष टोली फर्कँदा भने विरानो जस्तै भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?