+
+

‘एकसाथ ५०-६० वटा ट्रान्सफर्मर बिग्रिए, माग धान्न कुनै समस्या छैन’

अनामनगर, डिल्लीबजार, इमाडोल, कालधारा, महाराजगञ्ज र, नयाँबानेश्वर क्षेत्रमा धेरै समस्या

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १६ गते १५:३१

१६ पुस, काठमाडौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हिउँदे वर्षाका कारण जाडो बढेका बेला एक्कासी अप्रत्यासित दरमा लोड बढ्दा स्थानीय वितरण प्रणालीमा समस्या आएको बताएका छन् । मंगलबार रातिदेखि भएको भएको वर्षाका कारण उपत्यकाको करिब ३८ सय वटा वितरण (टोल-टोल रहने) ट्रान्सफर्मरमध्ये ५०-६० वटा ट्रान्सर्फमर जलेको उनले बताए ।

उनले पिक आवरमा १७ सय मेगावाटसम्म बिजुलीको माग धान्न तामाकोशी, कालीगण्डकी, मर्स्याङ्दीजस्ता जलविद्युत्, आयोजना पिकिङ गर्दा अधिकतम् स्वदेशकै बिजुलीले माग धानिएको उनको भनाइ छ ।

‘दिउँसो आयोजनाका जलाशयमा पानी जमाउन केही घण्टा भारतबाट तीन सय मेगावाटसम्म बिजुली ल्याउँछौं,’ घिसिङले भने,’मागअनुसार दिन बिजुलीको अभाव छैन । वितरण प्रणालीमा देखिएको प्राविधिक समस्याले केही अप्ठेरो पारेको हो ।’

उनले हिउँदे वर्षाका कारण क्षमताभन्दा लोड धेरै आएका कारण स्थानीय रुपमा केही क्षत्रेका ट्रान्सर्फमरहरु जलेको बताए । इमाडोल, कालधारा, महाराजगञ्ज, नयाँबानेश्वर लगायतका क्षेत्रका ५०-६० वटा ट्रान्सर्फमर जलेर बिग्रिएको उनले बताए ।

‘सिंहदरबार स्बस्टेसनबाट निस्कने एउटा फिडरमा पनि आगलागी भयो, त्यसले अनामनगर र डिल्लीबजार क्षेत्रमा पनि समस्या भयो,’ घिसिङले भने,’तर लगातार खटेर हाम्रो टोलीले ट्रान्सर्फमर फेरेको छ, धेरै स्थानमा बिजुली आइसक्यो, कतै बाँकी छ भने आजसम्म सबैतिर बिजुली आपूर्ति सुचारु हुन्छ ।’

घिसिङले काठमाडौंमा बिजुलीको माग गत वर्षभन्दा करिब ८० देखि १०० मेगावाटसम्म बढेको भन्दै त्यसअनुसार नै ट्रान्सर्फमरहरु फेर्ने काम भइरहेको बताए । तर, स्थानीय क्षेत्रमा आफूहरुले अपेक्षा गरेको भन्दा बढी लोड आएकाले ठूलो क्षमताको ट्रान्सर्फमरहरु राख्ने काम चलिहरेको उनले बताए ।

काठमाडौंमा कहिले ५ सय मेगावाटसम्म बिजुलीको माग भइरहेको भन्दै ६ सय मेगावाटसम्म माग आएपनि धान्न सकिने दावी गरे । ‘हामीले सबस्टेसनको स्तरोन्नति गरेर झण्डै आधाजसो क्षमता बढाएका छौं, त्यसैले स्थानी क्षत्रेमा ट्रान्सफर्रमरको क्षतमा बढाएपछि समस्या रहँदैन,’घिसिङलेले भने ।

आफूहरु अहिले काठमाडौंको प्रणालीलाई विश्वसनीय बनाउन काम गरिरहेको भन्दै  कार्यकारि निर्देशक घिसिङले ९ वटा सबस्टेसन नयाँ बनाउने क्रम जारी राखिएको बताए । मातातीर्थ, चोभर, टेकु, फुटुङ, ठिमी, मूलपानी, चाँगुनारायण, बालकुमारी लगायतका ठाउँमा सबस्टेसन बनेपछि उपत्यकाको बिजुली वितरण थप विश्वसनीय हुने उनको दावी छ ।

‘पानी परेकारले फिडरहरुका आगलागी भएको ताहररु फेर्न पनि समस्या भयो, रुझ्दै-रुझ्दै हाम्रा प्राविधिकले काम गरे,’ उनले भने,’हामी २४ घण्टा नै समस्या देखिएका क्षेत्रमा समाधानका लागि खटिएका छौं ।’

उपत्यकामा रहेका ३८ सय ट्रान्सर्फमरमध्ये केही क्षेत्रमा बढी समस्या देखिएकाले तुरुन्तै त्यहाँ लोडको व्यवस्थापन गर्न थप कदम चाल्न लागिएको उनले बताए । भविष्यमा काठमाडौंमा दुई हजार मेगावाटसम्म बिजुली माग हुँदा पनि सजिलै दिन सकिने गरी लाइनहरु बनिरहेको भन्दै उनले काठमाडौंकै मुटुसम्म १३२ केभीको लाइनहरु ल्याउन भूमिगत प्रसारणलाइनमा आयोजनाहरु पनि सुरु गरिएको उनले बताए ।

‘सडक र खानेपानीका अड्डाबाट अनुमति नपाएका कारण हामीले वितरणलाइन भूमिगत गर्ने काम पनि तीव्र गतिमा गर्न सकेका छैनौं, मुख्य क्षेत्रमा त तार बिछ्याउने अनुमति नपाएर काम नै हुन सकेको छैन,’ घिसिङले भने, ‘भित्री क्षेत्रमा कामै काम गर्नुपर्दा अर्को समस्या छ ।’

कहिलेकाँही स्थानीय क्षेत्रको वितरण प्रणालीले मागअनुसार बिजुली आपूर्ति गर्ननसक्दा त्यसलाई ठूलो समस्यमा रुपमा अर्थ्याउन नहुने उनको भनाइ छ । यस्ता समस्या आएपछि नै सम्बन्धित क्षेत्रमा रहेको समस्या छिटो पत्ता लागेर समाधन पनि निकाल्न सहज हुने घिसिङको भनाइ छ ।

‘हामी निकै संवेदनशील भएर काम गरिरहेका छौं, हामी पनि कतै पनि एक मिनेट लाइन नजआोस् भनेरै चाहन्छौं,’ घिसिङले भने,’तर, विश्वमा कतैपनि प्रणालीहरु समस्यारहित छैनन्, सकिनेसम्म समस्यारहित बनाउन हामी पनि प्रयत्नरत छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?