+
+
माओवादी महाधिवेशन :

प्रचण्ड विचारधाराप्रति प्रचण्डको रुचि

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७८ पुष १६ गते २१:२६

१५ पुस, काठमाडौं । एक सातादेखि प्रज्ञा भवन, कमलादीमा चलिरहेको नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा प्रतिनिधिहरुले जुन जुन विषय चर्कोसँग उठाए, त्यसमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मौन बसिदिए ।

शुक्रबार झण्डै दुई घण्टा लामो जवाफ दिएका उनले आफू रुपान्तरित हुन तयार रहेको विश्वास दिलाउन धेरै समय खर्चिए । डेरा सरेर गाउँतिर जाने पारिवारिक सल्लाह भएको सुनाए, आफू विना नै केन्द्रीय कमिटी बस्ने अवस्था आउन सक्ने बताए ।

जवाफमा प्रचण्डले मौनता साधेको एउटा विषय हो, प्रचण्ड विचारधारा ।

१२ पुसमा ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज पेश गरेका प्रचण्डले प्रचण्डपथ ब्यूँताउने बहसको च्याप्टर क्लोज गरेका थिए । पार्टीमा पर्याप्त छलफल नगरी प्रचण्डपथ स्थगन गर्नु गलत भए पनि अब त्यहीं फर्किनु पश्चगमन हुने उनको तर्क थियो । समाजवादी क्रान्तिको रणनीति अन्तर्गत नयाँ विचार संश्लेषण गर्दा प्रचण्डपथ र २१औं शताब्दीको जनवाद सन्दर्भ सामग्री हुने उनले बताए ।

त्यही त्यान्द्रो समाएर प्रचण्डपथ ब्यूँताउनुपर्छ भन्नेहरुले समूहगत छलफल र बन्दसत्रमा प्रस्ताव गरे, अब विकास गर्ने नयाँ विचारलाई प्रचण्ड विचारधारा भनौं ।

शुक्रबार जवाफ दिने क्रममा माओवादी अध्यक्ष प्रचण्डले नयाँ विचारलाई प्रचण्ड विचारधारा भन्ने प्रस्तावलाई स्वीकार त गरेका छैनन्, तर प्रचण्डपथको झैं च्याप्टर क्लोज पनि गरेनन् ।

बरु २०४५ सालमा सानो समूहको महामन्त्री भएको आफ्नो नेतृत्वमा जनयुद्ध हुनुका साथै मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेको भन्दै प्रचण्ड व्यक्ति मात्र नभएको तर्कलाई बल दिए ।  एक महाधिवेशन प्रतिनिधि भन्छन्, ‘साथीहरुमा प्रचण्ड विचारधाराप्रति निकै मोह देखिएको थियो । प्रचण्डले पनि त्यसको खण्डन गर्नुभएन । बरु विचार निर्माणका लागि विशेष महाधिवेशन गर्ने भनेर पन्छाउनुभयो । यसले प्रचण्ड विचारधाराप्रति उहाँकाे पनि मोह रहेको देखाउँछ ।’

आगामी चुनावपछि विचारमा बहसका लागि विशेष महाधिवेशन गर्ने प्रचण्डको प्रस्ताव छ, जसलाई महाधिवेशनको बन्दसत्रले स्वीकार गरेको छ । यसले प्रचण्ड विचारधारा भनौं भन्ने माओवादी नेताहरुलाई उत्साहित बनाएको छ ।

प्रचण्ड विचारधारा बनाउनुपर्छ भन्ने प्रस्ताव राखेका वागमती प्रदेश अध्यक्ष सरल सहयात्री पनि राजनीतिक प्रस्तावमा अहिलेको परिवर्तनको नेतृत्वदायी भूमिका प्रचण्डले खेलेको लेखिने भएकाले बहसको शुरुआत भएको बताए । त्यसलाई विशेष महाधिवेशनसम्म विचारका रूपमा संश्लेषण गर्न सहज हुने उनको विश्वास छ ।

नेतत्वमा रहिरहने चाह

सम्बोधनका क्रममा प्रचण्डले आफैं पार्टी नेतृत्वमा रहिरहने चाहना प्रष्ट रुपमा राखेका छन् । माओवादी आन्दोलनमा विचलन आयो भन्ने सहज स्वीकार गरेका उनले त्यसलाई सच्याउने अन्तिम अवसरका रुपमा आफूले लिएको बताए । त्यसअनुसार नै दस्तावेज लेखेको भन्दै उनले भनेका छन्, ‘कार्यान्वयनको नेतृत्व मैले नै गर्नुपर्छ भन्ने ठहर गरेर दस्तावेज लेखिएको हो ।’

१० वर्ष सशस्त्र युद्ध (जनयुद्ध) गरेर शान्ति प्रक्रिया हुँदै गणतन्त्रको स्थापना, संविधान बनाउँदै अहिलेको अवस्थामा आइपुग्नु माओवादीको छलाङको निरन्तरता भएको प्रचण्डको संश्लेषण छ । आफू अझै सक्रिय रहेको र नेपाली कम्युनिष्ट आन्दोलनलाई केही समय नेतृत्व दिन सक्ने भन्दै उनले जरुरी पर्दा आफ्नै टाउकोमा आगो लगाएर हिंडन तयार रहेको बताए ।

जवाफ दिने क्रममा प्रचण्डले सशस्त्र विद्रोह बीचैमा छोडेको भन्ने आरोपको पटक-पटक खण्डन गरेका छन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिका कारण आफूहरुले चाहे अनुसार विद्रोहबाटै सत्ता कब्जा गर्ने रणनीति बदल्नुपरेको भन्दै उनले आफूले सुझबुझपूर्ण रुपमा अगाडि बढेकै कारण माओवादी परिवर्तनको नेतृत्वदायी शक्तिका रुपमा कायम रहेको दाबी गरे ।

अब कम्युनिष्ट आन्दोलनमा एउटा शक्तिका रुपमा चिरकालसम्म निरन्तरता दिने प्रयत्नमा रहेको भन्दै भने, ‘यो पार्टीलाई क्रान्तिकारी बनाउन जस्तासुकै त्याग, कष्ट र बलिदान गर्न तयार छु । म यो अन्तिम अवसर गुम्न दिन्न ।’

प्रचण्डको सम्बोधनको अंश

मलाई सम्झना आउँछ- हाम्रो पार्टी विकास प्रक्रियामा निश्चय नै हामीले क्रान्तिकारी विचारलाई आत्मसात् गर्ने, क्रान्तिकारी पार्टी निर्माण गर्ने र क्रान्तिकारी आन्दोलनको विकास गर्ने एउटा सपना देखेर हामी अगाडि बढेका हौं । २०४५/४६ सालको एउटा ऐतिहासिक जनआन्दोलनको सँघारमा मलाई एउटा समूहको नेतृत्व गर्ने अवसर जुट्न आयो । मैले आफू नेतृत्वमा जाने रहर र हतारो पनि गरेको थिइनँ । तर परिस्थिति त्यस्तै बन्यो । मैले एउटा समूहको नेतृत्व गर्नुपर्ने अवस्था आइलाग्यो २०४५ साल अन्त्यतिर । २०४६ सालको आन्दोलन अगाडि ।

म अहिले फर्किएर हेर्दा त्यो भनेको अहिले झण्डै ३३ वर्ष पूरा भयो । ३३ वर्षसम्म एउटा मान्छे पार्टीको नेतृत्वमा अटुट रुपमा रहिराख्या छ । यो ३३ वर्षमा कम्युनिष्ट आन्दोलन, हाम्रो पार्टी के भयो ? देशको राजनीति के भयो ? र त्यो प्रक्रियासँग हाम्रो पार्टीको सम्बन्ध कस्तो रह्यो ? हाम्रो एकता, हाम्रो विभाजन मलाई लाग्छ, यो सबै मैले दोहोर्‍याइराख्नु पर्दैन । तपाईं सबै कमरेडहरुले नजिकबाट नियाल्नुभएको छ । र तपाईंहरुले यो महाधिवेशनमा प्रतिवेदनप्रति जो प्रतिक्रिया दिनुभएको छ त्यसमा इतिहासको अनुभवको पनि सामूहिक अभिव्यक्ति भएको छ भन्ने म ठान्छु । २०४६ सालको ऐतिहासिक जनआन्दोलन, त्यसको लगत्तै एउटा सानो समूहले घण्टी बजाउँदैमा क्रान्ति भइहाल्दैन भन्ने ठानेर माओलाई मान्ने, जनवादी क्रान्तिलाई मान्ने, सशस्त्र संघर्षलाई स्वीकार गर्ने जति समूहहरु नेपालमा छन, ती सबै एकै ठाउँमा हुनुपर्छ भनेर मैले महामन्त्रीको हैसियतले चिठी लेख्ने अवसर जुट्यो, मैले लेखें।

एकता केन्द्र बन्यो कमरेडहरुलाई थाहा छ । त्यो एउटा द्वन्द्ववादलाई बुझ्ने, भौत्तिकवादलाई बुझ्ने, मार्क्सवादलाई बुझ्ने एउटा अलिकति विशिष्ट र मौलिक प्रक्रियाको सुरुवात थियो भन्ठान्छु म एकता केन्द्र बन्नु आफैंमा । त्यसपछि माओवादी बन्ने प्रक्रिया, त्यसपछि जनयुद्ध, जनयुद्धकै बीचमा भएको दोस्रो राष्ट्रिय सम्मेलन, दोस्रो राष्ट्रिय सम्मेलनमा गरिएको प्रचण्डपथको संश्लेषण, त्यो प्रक्रियामा भएका ठूल्ठूला राजनीतिक र फौजी आक्रमणहरुको एउटा श्रृंखला, ठूलै श्रृंखला सानो होइन । त्यो श्रृंखला अनि शान्ति, राजनीतिक दलहरुसँग सहकार्य, १२ बुँदे समझदारी, संयुक्त जनआन्दोलन अनि शान्ति सम्झौतामा हस्ताक्षर, संविधानसभाको निर्वाचन, संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा, संविधान, संविधानको कार्यान्वयन त्यसपछि फेरि प्रतिगमनको खतरा, माओवादीमा आएको विभाजन, विछृङ्खलता, विचलन, अन्योल, के हो के हो ? भन्ने सबैतिर पैदा भएको बडो निराशा जस्तो स्थिति, एकपछि अर्को विभाजन त्यसपछिका प्रतिगमनका प्रयत्नहरु फेरि प्रतिगमन विरुद्ध जीवन हत्केलामै लिएर हामीले गरेको संघर्ष । तपाईं हामी सबै फेरि जरुरी पर्छ भने जेल, नेल, यातना जे भोग्न पनि तयार भनेर हामी फेरि एक चोटीिपरिवर्तनका उपलब्धिको रक्षा, हाम्रा शहीद, घाइते, अपांग सबै सबैको सम्मान गर्दै सडकमा निस्किएको परिदृश्य, अनि हामी त्यसमा विजयी भएका अनुभवहरु र अहिले गठबन्धन सरकार आदि इत्यादि ।

यो सबै शब्द चित्र जस्तो गरी सम्झिँदा र यो आठौं राष्ट्रिय महाधिवेशनमा उभिएर म के भन्न चाहन्छु भने-फेरि एक चोटि क्रान्तिकारी पार्टी बनाइछाड्ने, फेरि क्रान्तिकारी विचार विकास गरिछाड्ने संकल्पसहित तपाईंहरुको अगाडि उभिन पाउँदा म आफूलाई गौरवको महसूस भएको छ । कतिपय मानिसहरुलाई लाग्छ प्रचण्डले फेरि त्यसो गर्न सक्ला त ? फेरि झुपडीमा जान सक्ला त ? काठमाडौंको यो रमझम छोड्न सक्ला त ? चिल्लो गाडी छोडन सक्ला त ? आफैं व्यक्तिवादी भइसक्या छ, यो गर्न सक्ला त ? भन्छन् । ठीकै छ, जसले भन्छन् तिनलाई पनि म धन्यवादै भन्न चाहन्छु । हामीलाई आलोचना गर्नेहरुले पनि हामीलाई क्रान्तिकारी बनाउने प्रेरणा दिइराखेको हो भन्ने म ठान्छु, त्यस अर्थमा म उनीहरुलाई पनि धन्यवाद भन्न चाहन्छु । तर म यो हाउसको अगाडि उभिएर के भन्न चाहन्छु भने र सक्छु भने-जरुरी पर्ने दिन, हाम्रो यो कार्यक्रमले तानिहाल्छ मलाई पनि अब, जो दस्तावेजमा छलफल भएर हामी एउटा निष्कर्षतिर पुग्दैछौं, यसको कार्यान्वयनको नेतृत्व अरुले होइन, मैले नै गर्नुपर्छ भन्ने ठहर गरेर नै यो दस्तावेज लेखिएको हो । त्यसकारण जरुरी पर्दा मलाई कुनै गाह्रो छैन, गाउँघरमा जान, मजदूरसँग खान, उनीहरुसँगै बस्न । जरुरी पर्दा जसरी पोहोर साल मैले प्रतिगमनविरोधी आन्दोलनको बेलामा तपाईंहरु सबैको अगाडि भनेको थिएँ, जरुरी पर्छ भने अर्को लडाईं लड्न पनि तयार तर, छोडिंदैन प्रतिक्रान्तिलाई ।

मैले धेरै चोटिभनेको छु, गएको केन्द्रीय समितिको बैठकमा हामीले एउटा संकल्प लिएकै हो । यो पार्टीलाई क्रान्तिकारी पार्टी बनाइछाड्ने र विचारलाई क्रान्तिकारी विचारको रुपमा विकास गर्ने संकल्प हामीले लिएकै हो । त्यो संकल्पको नेतृत्व गर्ने अन्तिम अवसर भनेको थिएँ मैले केन्द्रीय समितिमा । आज राष्ट्रिय महाधिवेशनमा तमाम तपाईं प्रतिनिधिहरु र यो महाधिवेशनको हलबाट सुन्ने तमाम देश विदेशका हाम्रा पार्टीका कमरेडहरु र नेपाली श्रमजीवी जनताको अगाडि उभिएर भन्न चाहन्छु- जरुरी पर्दा जस्तोसुकै दुख, कष्ट, त्याग, बलिदान गर्न तयार छु । म यो अन्तिम अवसर गुम्न दिने छैन । मलाई यो अन्तिम अवसर जस्तै लागेको छ । किनभने उमेरको हिसाबले पनि म उत्तरार्धतिर चल्दैछु ।

यद्यपि, तपाईंहरुले देख्नुभएको छ, सक्रियताको हिसाबले म आफ्नो ठाउँबाट पूरै सक्रिय जीवन बिताइरहेको छु बिहान पनि बेलुकी पनि, देशका विभिन्न भागमा पनि । त्यसकारण मलाई के विश्वास छ भने मैले यो अवसर गुम्न दिनुहुँदैन । मलाई के पनि विश्वास छ भने, म २०४५ सालमा एउटा सानो समूहको महामन्त्री भएर अनि एकता केन्द्र बनाएर, माओवादी बनाएर जनयुद्ध गरेर शान्ति प्रक्रियामा आएर, संविधानसभा बनाएर जाने पूरै प्रक्रियामा काहीं त्यस्तो मैले सुधारवाद देख्दिनँ, हाम्रो यात्रामा, हाम्रो पार्टीमा र हाम्रो संघर्षमा । यो सबै प्रक्रियामा एउटा छलाङमय छ । हाम्रो सोच्ने तरिका, हाम्रो काम गर्ने तरिका, हाम्रो संघर्ष गर्ने तरिका छलाङमा छ । यसैलाई कतिपयले अस्थिरता भनेका छन्, कतिपयले गतिशीलता भनेका छन् ।

अब्जेटिभ्ली हाम्रो आन्दोलनमा हामीले मार्क्सवादको गतिशीलतालाई समातेको हुनाले नेपाल आज संघीय लोकतान्त्रिक गणतान्त्रिकमा आइपुगेको हो या माओवादी आन्दोलन र त्यसको नेतृत्वमा अस्थिरता भएको हुनाले शान्ति सम्झौता र संघीय लोकतान्त्रिक गणतन्त्र भएको हो ? यसको फैसला इतिहास र जनताले गर्छन् । यो महाधिवेशनमा महाधिवेशन प्रतिनिधिका रुपमा जो सहभागी भएका छौं, सबैले यसलाई गति र परिवर्तनको प्रवाहमा एउटा गतिशील पार्टीको रुपमा, एउटा गतिशील आन्दोलनको रुपमा रहेका छौं । जरुरी पर्दा आफ्नै टाउकोमा आगो लगाएर हिंड्न सक्ने जरुरी पर्दा सम्पूर्ण चीज त्याग गरेर फेरि जनताका लागि, वर्गका लागि, क्रान्तिका लागि बलिदानका कीर्तिमान कायम गर्न सक्ने पार्टीको रुपमा हामी सबैले गर्व गरेका छौं । गर्व गर्दछौं र अहिले पनि त्यसप्रति इमानदारीका साथ लाग्ने प्रतिज्ञा गरेका छौं ।

मलाई अहिले यो महाधिवेशनमा तपाईंहरुले उठाएका प्रश्नहरुको बारेमा केही स्पष्टीकरण दिंदै गर्दा मलाई भन्न मन लागेको छ- हामीले गरे के हुँदैन । हामी बिग्रेकै हो । बिग्रेको हो भन्ने कुरालाई दह्रोसँग भन्न सक्ने आँट भएको पार्टी पनि यही माओवादी केन्द्र नै हो । अरुले भन्न सक्दैनन् । देख्नुभएको छ कसैले भनेको ? हामी बिग्रेका छौं । धुलोमैलो मात्रै लागेको छैन, विचलन नै आएको छ । धेरै खालका विसंगति छन् । हामी व्यक्तिवादी भएका छौं । कुरा त क्रान्तिका गर्छौं, व्यवहार प्रतिक्रान्तिको हुँदै गएको छ भनेर दस्तावेजमै लेखेर त्यसका निम्ति जिम्मेवार प्रचण्ड नै हो भन्ने तपाईंले देख्नुभएको छ ? हामीले भनेका छौं र यो कुनै नाटक होइन । पार्टी रुपान्तरण गर्ने, शहीदका सपना पूरा गर्ने, बेपत्ता योद्धाका बलिदानहरुलाई सम्मान गर्ने, उनका परिवारहरुलाई सम्मान गर्ने एउटा ऐतिहासिक पहलकदमी हो ।

कमरेडहरु, अहिले हामी फेरि एकचोटि छलाङ हान्दैछौं । दस्तावेज मार्फत हामी पार्टीलाई १५ वर्षदेखि जस्तो हुँदै आयो, त्यो निरन्तरतालाई भंग गर्न खोजेको हौं । यहाँ धेरै कुरा भन्छन्, धेरै व्याख्या हुन्छन् । कोहीले समर्थन, आलोचना भइराख्छ । तर, विषयको चुरो चाहिं के हो त ? संसार बदल्ने हो । यो दस्तावेजमा रखिएको छ र, प्रसंगवश राखिदिउँ न त भनेर राखिएको होइन । यो पार्टी बदल्ने, आन्दोलन बदल्ने देश बदल्ने समाज बदल्ने एउटा नयाँ प्रतिज्ञा सहित राखिएको हो । त्यसकारण मुख्य कुरा बदल्ने नै हो । हामी जो बदलिन तयार छौं यो पार्टीमा टिक्छौं । जो बदलिन तयार छैनौं त्यो पार्टीमा टिक्दैनौं । यो दस्तावेजले लैजान खोजेको पार्टीलाई यतैतिर हो ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?