
१९ पुस, काठमाडौं । भनिन्छ, कलाकारको सफलता वा असफलतामा समयको पनि हात हुन्छ । कोही कलाकार सफलता खोज्दा-खोज्दै पलायन हुन्छन् भने कोही कलाकार छोटो समयमा नै चारैतिरबाट सफलताले घेरिन्छन् ।
तीन वर्षअघि चलचित्र ‘कठपुतली’को अफर आएपछि यूएनडीपीको जागिर नै छाडेर चलचित्र क्षेत्रमा कमब्याक गरेकी अभिनेत्री उषा रजकलाई यो साता खुशीका दुई मौका प्राप्त भए ।
उनले अभिनय गरेको चलचित्र ‘कठपुतली’ले बक्स अफिसमा सफलताको शुरुआत गर्यो । यो चलचित्रले बक्स अफिसमा दर्शक तान्छ भन्ने अपेक्षा निक्कै कमले गरेका थिए । तर, शुक्रबार र शनिबार सुखद् कमाइ गरेको चलचित्रको व्यापार आइतबार पनि नराम्रो छैन ।
चलचित्रलाई दर्शकले मन पराएका छन् भने उषा रजकको भूमिकाले पनि तारिफ पाएको छ । उनको अभिनय, संवाद बोल्ने तरिकालाई दर्शक र समीक्षकले उत्कृष्ट भनेका छन् । यसले आफ्नो करिअरको पहिलो इनिङमा असफलता भोगेर चलचित्र क्षेत्रबाट टाढा भएकी उषाको दोस्रो इनिङ सुखद् हुने देखिन्छ ।
अर्को यसै साता काठमाडौंमा आयोजना भएको ‘मिसेस नेपाल वर्ल्ड २०२१’मा उनले ‘मिसेस नेपाल इन्टरनेशनल’को उपाधि पनि जितिन् । यो उपाधि पाएपछि उषा आफैं दंग छिन् । उषाका लागि दोहोरो खुशी यो साता देखिएको छ ।
उषाले आफूले पाएको सफलतालाई आउने दिनमा सम्हाल्न सकिन् भने उनको करिअर राम्रैसँग अगाडि बढ्नेमा दुईमत छैन ।
प्रतिक्रिया 4