+
+

शम्भुजीतलाई ‘जीवन योगदान संगीत सम्मान’, पल र पूजालाई ‘बेस्ट मोडल’को अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २० गते १८:४०

२० पुस, काठमाडौं । वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटालाई ‘जीवन योगदान संगीत सम्मान-२०७८’ बाट सम्मानित गरिएको छ । अग्लेश्वरी हिल्स विकास कोषले सोमबार साँझ काठमाडौंमा आयोजना गरेको ‘जीवन्त नेपाल म्युजिक अवार्ड’ समारोहमा उनलाई नगद ५१ हजार रुपैयाँसहित दोसल्ला ओढाएर सम्मान गरेको हो ।

यस्तै ‘माथिमाथि सैलुङ्गेमा’ गीतमार्फत सैलुङ क्षेत्रको प्रचारप्रसारका लागि योगदान दिएको भन्दै संगीतकार शिलाबहादुर मोक्तान, गायिका कुन्ती मोक्तान र गीतकार श्रवण मुकारुङलाई ‘विशिष्ट योगदान संगीत सम्मान-२०७८’ बाट सम्मानित गरियो ।

अवार्ड समारोहमा विभिन्न ३८ विधामा ‘जीवन्त नेपाल संगीत सम्मान-२०७८’ प्रदान गरिएको छ । कार्यक्रममा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा ‘बेस्ट मोडल अफ दि इयर’को अवार्ड चुम्न सफल भएका छन् । अभिनेता पल शाहले आधुनिक गीतमा ‘फुलबुट्टे सारी’बाट ‘बेस्ट मोडल अफ दि इयर मेल’ र अभिनेत्री पूजा शर्माले ‘रमरम मरौटी’ गीतबाट ‘बेस्ट मोडल अफ दि इयर फिमेल’को अवार्ड हासिल गरेका हुन् । यस्तै वर्षको पपुलर गायकको अवार्ड ‘सम्झिने पानी छम्किने’ गीतबाट सम्राट चौलागाईंले प्राप्त गरे भने वर्षको पपुलर गायिकाको अवार्ड ‘मिनरल वाटर’ गीतबाट एलिना चौहानले प्राप्त गरिन् ।

कार्यक्रममा सर्वोत्कृष्ट क्यामरा म्यानको अवार्ड ‘सम्झौता’ गीतबाट रामकुमार केसी, सर्वोत्कृष्ट भिडियो सम्पादकको अवार्ड ‘तिम्रो मन बदलियो’बाट विकास धमला, सर्वोत्कृष्ट कोरियोग्राफरको अवार्ड ‘आँखैमा’ गीतबाट सुरेन्द्र बसेल र चलचित्र संगीतकारको अवार्ड चलचित्र ‘म यस्तो गीत गाउँछु-२’बाट अर्जुन पोखरेलले हात पारे ।

यस्तै बाल मोडलको अवार्ड ‘सम्झिने पानी छम्किने’बाट जेभिन श्रेष्ठ, जेभिस श्रेष्ठ र आरुषी ढकालले प्राप्त गरे भने पप गायकको अवार्ड ‘काँडा फूल’बाट मानस राजले प्राप्त गरे । पप गायक जुरी अवार्ड ‘माया माया’ गीतबाट समिर हमाल र पप गायिका जुरी अवार्ड ‘मर्छु कि क्या हो’ गीतबाट अस्मी रिसालले जिते । यस्तै सर्वोत्कृष्ट आधुनिक गायकको अवार्ड ‘कति माया’बाट सुमन केसी र आधुनिक गायनमै जुरी अवार्ड ‘महसुस गर’ गीतबाट विक्रम धमलाले प्राप्त गरे ।

कार्यक्रममा कलाकार बिनु शाक्य, सरेन बसेल र खुशी अधिकारीले नृत्य प्रस्तुत गरेका थिए भने गायक मानस राज, गायिका एलिना चौहान र मेलिना मैनालीले आ-आफ्ना गीत प्रस्तुत गरेका थिए ।

अग्लेश्वरी हिल्स विकास कोषले रामेछापस्थित अग्लेश्वरी सैलुङ र खाँडादेवीमा पर्यटन प्रवर्द्धनको उद्देश्यले अवार्ड कार्यक्रम आयोजना गरेको कोषका अध्यक्ष सिजम सिञ्जालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?