+
+

वीरगञ्जमा बढ्न थाल्यो कोरोना संक्रमण, खतराको संकेत

सुरेश बिडारी सुरेश बिडारी
२०७८ पुष २१ गते १९:५७

२१ पुस, वीरगञ्ज । गत महिना श्रीमान र छोरासहित पोखरा–बाग्लुङलगायत क्षेत्रको भ्रमण गरेर फर्किएकी वीरगञ्जकी ३२ वर्षीया महिलालाई रुघाखोकी र ज्वरो आयो । नेशनल मेडिकल कलेजमा उपचार गराउँदा ठीक नभएपछि नारायणी अस्पतालमा डा. उदयनारायण सिंहकोमा पुगे ।

पुस ११ गते पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भयो । उनले कोरोना भाइरसविरुद्धको खोप लगाएकी थिइनन् । उपचारपछि उनको अवस्था सामान्य छ ।

‘पर्यटकीय स्थलहरुमा भिडभाड हुनु स्वभाविक हो । अन्य सावधानी त अपनाएकै थियौं’ ती महिलाका श्रीमानले भने, ‘उनलाई संक्रमण भएछ, छोरा र मलाई संक्रमण देखिएन ।’

पुस १३ गते वीरगञ्जमा १४ जनाको पीसीआर परीक्षण गर्दा थप एक जनामा संक्रमण देखियो । पुस १६ र १९ गते गरिएको पीसीआर परीक्षण रिपोर्टले चिकित्सकहरुलाई समेत झस्काएको छ । पुस १६ गते २२ जना र १९ गते २४ जनामा पीसीआर परीक्षण गर्दा ३/३ जनामा संक्रमण देखिएको छ ।

१६ गते संक्रमण पुष्टी भएका तीनै जना भारतको दिल्ली पुगेर फर्केका थिए । दुवै मात्रा खोप लगाइसकेका उनीहरुको अवस्था सामान्य छ ।

वीरगञ्जसँग सीमा जोडिएको बिहारमा संक्रमण तीव्र रुपमा फैलिरहेको छ । बिहीबारदेखि लागु हुनेगरी प्रि स्कूल र कक्षा १ देखि ८ सम्म अनलाइनमार्फत पढाउन भनिएको छ । कक्षा ९ देखि १२ सम्म ५० प्रतिशतको सहभागितामा पढाउन, सिनेमा हलमा ५० प्रतिशत क्षमतामा सञ्चालन गर्न र बिहेमा पनि सहभागी हुनेहरुको संख्या घटाउन भनिएको छ ।

खतराको संकेत

नारायणी अस्पतालको प्रयोगशाला प्रमुख भाइरोलोजिष्ट डा. प्रभाकर पाण्डे पछिल्लो दुई पटकको रिपोर्टले खतराको संकेत गरेको बताउँछन् । ‘संक्रमण शून्यजस्तै थियो, छिटपुट एक जनामा कहिलेकाहीँ संक्रमण भेटिन्थ्यो, दुईपटक पीसीआर गराएकामध्ये १३ प्रतिशतमा संक्रमण देखिएको छ । ६ प्रतिशत भन्दा माथि संक्रमण देखिनुलाई राम्रो मान्न सकिन्न’ उनले भने ।

वीरगञ्ज क्षेत्रमा भेटिएका भेरियन्टबारे बुझ्न वीरगञ्ज–रक्सौल नाकामा पोजेटिभ आएकाहरुको नमुना परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाउने तयारी भइरहेको उनले बताए । ‘कुन भेरियन्टको संक्रमण हो भनेर यहाँबाट भन्न सकिन्न, यहाँ पोजेटिभ देखिएकाहरुको नमुना परीक्षणका लागि टेकु पठाउँदैछौं’ डा. पाण्डेले भने ।

वीरगञ्जमा कोरोना संक्रमण घटेपछि मास्क लगाउने, सामाजिक दुरी कायम गर्नेजस्ता सावधानी अपनाउन छोडिएको छ । यस्तो लापरबाहीले कोरोना संक्रमण फैलन मद्धत गरेको नारायणी अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंह बताउँछन् ।

‘सामान्य रुघाखोकी, ज्वरोको लक्षण देखिएकाको पीसीआर परीक्षण गराउँदा पनि पोजेटिभ आएको छ । कतिपय जोखिम क्षेत्रमा पुगेर आएकामा संक्रमण देखिएको छ’ डा. सिंहले भने ‘हामीले कोरोनामैत्री व्यवहार त्याग्नुपर्छ, नत्र संक्रमण भुसको आगो जसरी फैलन सक्छ ।’

वीरगञ्ज भन्सार कार्यालय यात्रु शाखाका अनुसार पुस ११ गतेदेखि १७ गतेसम्म नयाँ वर्षको आसपासमा एक हजार तीन सय ८६ वटा सवारी साधन भित्रिएका थिए । वीरगञ्जको मुख्य नाकाबाहेकका अन्य नाकाबाट समेत भारतीय सवारी साधन लुकीछिपी आउने गरेका छन् ।

नयाँ वर्षमा भारतबाट नेपाल आएकमध्ये ५ प्रतिशतमा मात्रै संक्रमण रहेछ भनेपनि त्यसले वीरगजमा संक्रमण बढाउने नारायणी अस्पतालको इमर्जेन्सी विभाग प्रमुखसमेत रहेका डा. सिंहको विश्लेषण छ ।

मुख्य नाकाबाटै छ संक्रमण भित्रिने जोखिम

वीरगञ्ज नाकाबाट दैनिक हजारौंको संख्यामा मानिसहरु ओहोरदोहोर गरिरहेका हुन्छन् । भारतको बिहार राज्यबाट मात्रै होइन, अन्य राज्यबाट समेत दुवै देशका सर्वसाधारण नेपाल भारत ओहोर दोहोर गरिरहन्छन् । नाकामा एक जना चिकित्सकसहितको हेल्थ डेस्क भएपनि सबैको चेकजाँच गर्न मुश्किल छ ।

नाका हुँदै आउने मानिसहरुले खोप लगाए नलगाएको, पीसीआर गराएको वा नगराएको जाँच गर्न जनशक्ति अपुग छ । भारतीय नागरिकले नेपाल आउँदा अनिवार्य पीसीआर रिपोर्ट र खोप लगाएको प्रमाण लिएर आउनुपर्ने भनिएपनि त्यो कार्यान्वयनमा छैन । नाकामा सीमित संख्यामा गरिने एन्टिजेन परीक्षणका क्रममा दैनिक संक्रमित भेटिने गरेको नाकामा खटिएका स्वास्थ्यकर्मीहरु बताउँछन् ।

हेल्थ डेस्कमा खटिएका हेल्थ असिस्टेन्ट सनिउल्लाह हवारीका अनुसार पुस ८ गतेदेखि २० गतेसम्म भारतबाट आएकामध्ये १८ जनामा संक्रमण देखिएको छ । दुई जनाबाहेक अन्य सबै भारतीय नागरिक हुन् । दिल्ली, बंगाल, मोतिहारी, बिहारबाट आएका मानिसमा संक्रमण देखिएको उनले बताए ।

नाकामा पछिल्ला दिनमा दैनिक दुई सय हाराहारीमा एन्टिजेन परीक्षण भइरहेको छ । संक्रमण पुष्टी भएका भारतीय नागरिकलाई उतै फकाइने गरिएको छ । ‘कोरोना महामारीले यतिधेरै क्षति पु¥याइसकेको भएपनि मानिसहरु सचेत छैनन्, पीसीआर गराएर आउँदैनन्, भ्याक्सिन लगाउने त परको कुरा मास्क पनि लगाएका हुँदैनन्’ उनले भने ‘परीक्षण गर्न पनि आनाकानी गर्ने समस्या छ ।’

भारतको बिहार लगायत राज्यमा कोरोना संक्रमण तीव्र फैलिएकाले वीरगञ्ज नाका हुँदै भित्रिने सबैको कोरोना परीक्षण अनिवार्य गर्न सरकारले आवश्यक व्यवस्थापन गरिदिनुपर्ने उनको भनाइ छ ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?