+
+

थन्क्याएको १६ महिनापछि परीक्षणका लागि गुडाइयो रेल

श्रवण देव श्रवण देव
२०७८ पुष २४ गते १६:१२

२४ पुस, जनकपुरधाम । धनुषाको इनर्वास्थित रेल्वे स्टेशनमा १६ महिनादेखि थन्क्याइएको नेपाली रेल शनिबार परीक्षणका लागि गुडाइएको छ ।

पार्किङ गरेको ठाउँबाट परीक्षणका लागि रेल गुडाइएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले जानकारी दिए । उनका अनुसार भारतबाट १४ जनाको प्राविधिक टोली ल्याएर रेलको परीक्षण गरिएको हो ।

२०७७ असोज २ गते जनकपुर ल्याइएको रेल असोज ३ गतेदेखि इनर्वा स्टेशनमा पार्किङ गरी राखिएको थियो । लामो समयसम्म पार्किङ गरेर राखिएका कारण रेलको पार्टपूर्जाको अवस्थाबारे बुझ्न परीक्षण गरिएको महाप्रबन्धक झाले बताए ।

परीक्षणका क्रममा रेलको इन्जिनसहित सबै पार्टपूर्जा ठीकै रहेको पाइएको उनले जानकारी दिए । रेललाई सञ्चालन गर्नकै निम्ति शनिबार परीक्षण गरिएको उनले बताए । ‘अब रेल ठीक भएको पाइएपछि रेल संचालनको तयारी गरेका छौं’ उनले भने ।

इनर्वाबाट जनकपुरधाम हुँदै कुर्थासम्म र कुर्थादेखि जयनगरसम्म रेल गुडाएर परीक्षण गरी पुनः इनर्वा स्टेशनमै पार्किङ गरी राखिएको छ । भारतबाट ल्याएदेखि नै रेललाई त्रिपालले छोपेर राखिएको थियो । तर पछिल्लो समयमा त्रिपाल पनि च्यातिइसकेको थियो ।

बर्षाको पानीले भिजेर रेलका केही भागमा खिया लाग्न थालेको अवस्थामा रेल गुडाएर परीक्षण गरिएको छ ।

जनकपुर जयनगर रुटमा रेल सञ्चालन गर्नका लागि गत बर्ष नेपाल सरकारले ८४ करोड ६५ लाख रुपैयाँमा भारतबाट रेल खरीद गरेर ल्याएको थियो ।

भारतको कोकन रेल्वे कर्पोरेसन लिमिटेडबाट खरिद गरिएको रेल सोही कम्पनीका मेकानिकल इन चिफ दीपक त्रिपाठीले २ असोज २०७७ मा नेपाल रेल्वे कम्पनी लिमिटेडका तत्कालिन महाप्रबन्धक गुरु भट्टराईलाई हस्तान्तरण गरेका थिए ।

महाप्रबन्धक झाले चाँडोभन्दा चाँडो रेल सञ्चालन गरिने बताए । उनले दुबै देशका प्रधानमन्त्रीस्तरमा समन्वय गरेर रेल सञ्चालन गरिने जानकारी दिए ।

नेपाल रेल्वे कम्पनीका अनुसार रेल १६०० एचपी डेमुको हो । रेलको अगाडि र पछाडि समेत इन्जिन रहेको छ ।

एउटा रेलमा ५ वटा डिब्बा रहेका छन् । एउटा ड्राइभिङ पावर कार, एउटा ड्राइभिङ ट्रेलर कार, २ वटा जेनरल ट्रेलर कार र एउटा एसी ट्रेलर कार रहेको छ ।

एउटा रेल सेटमा एक पटकमा करीब १३ सय यात्रु चढ्न सक्ने क्षमता रहेको छ । रेल प्रति घण्टा १ सय १० किलोमिटरको गतिमा गुड्न सक्ने क्षमताको छ ।

भारतको जयनगरदेखि नेपालको जनकपुर, सीतापुर भंगहा हुँदै बर्दिवाससम्म सञ्चालनका लागि रेल खरिद गरिएको भएपनि ट्रयाक तयार भएको जयनगरदेखि कुर्थासम्मको ३४ किलोमिटरमा पनि रेल सञ्चालन हुन सकेको छैन ।

लेखकको बारेमा
श्रवण देव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?