
२५ पुस, काठमाडौं । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले कोभिड-१९ विरुद्धको लडाइमा अर्थतन्त्रमा प्रभाव नपर्ने गरी नीति लिनुपर्ने बताएका छन् ।
आइतबार सार्वजनिक लेखा समितिमा बोल्दै सचिव मरासिनीले अर्थतन्त्र मुलुकको लाइफलाइन भएको भन्दै यसलाई सकेसम्म कम प्रभावित हुने गरी नीति लिनुपर्ने बताए । यसो गर्न सकिए चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरको लक्ष्य हासिल हुनसक्ने उनको भनाइ छ ।
‘कोभिडको तेस्रो भेरियन्ट आउने देखिएको छ, सँगै अर्थतन्त्र पनि सही दिशामा आइरहेको छ, यो कायम राख्न कम्तीमा आर्थिक गतिविधि असर नपरोस् भन्नेमा सचेत हुनुपर्छ,’ उनले भने ।
पुस महिना लागेपछि पुँजीगत खर्चले गति लिन थालेको भन्दै उनले माघमा यस्तो खर्च अझै बढ्ने बताए । अर्थतन्त्र धरापमा नपरोस् भन्नेमा सरकार सचेत रहेको भन्दै उनले समस्या हल हुने गरी नीतिहरु लिइरहेको बताए । ‘यसको प्रभाव कतिपय देखिन थालेको छ, कतिपय अलि दीर्घकालमा देखिन्छ,’ उनले भने ।
पछिल्लो नीतिका कारण चाँदी आयात कम भएको जानकारी गराउँदै उनले सुन ल्याउन विमानस्थलमा कडाइ गरिएको जानकारी पनि दिए । यही कडाइका कारण कर नतिरी आएको १५५ किलो सुन विमानस्थलबाट जफत भएको छ ।
उनका अनुसार यसको बजार मूल्य १ अर्ब २२ करोड हुन्छ र यसका माध्यमबाट सरकारले १४ करोड ७० लाख रुपैयाँ राजस्व उठाएको छ ।
प्रतिक्रिया 4