+
+

‘नर्कको ढोका’ बन्द हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २६ गते १२:२७

२६ पुस, काठमाडौं । मध्य एसियाली मुलुक तुर्कमेनिस्तानको उत्तरी क्षेत्रमा एउटा ठूलो खाडल छ, जसलाई गेट अफ हेल अर्थात् नर्क जाने ढोका भनिन्छ । उक्त नर्कको ढोका अब बन्द हुने भएको छ । तुर्कमेनिस्तानका राष्ट्रपतिले उक्त नर्कको ढोका बन्द गर्न आदेश दिएका छन् ।

तुर्कमेनिस्तान यस्तो देश हो जसको ७० प्रतिशत भूभागमा काराकोरम मरुभूमि छ । साढे ३ लाख वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको उक्त मरुभूमिको उत्तरतर्फ गेट क्रेटर नामको निकै नै भिमकाय खाडल छ ।

६९ मिटर चौडा तथा ३० मिटर गहिरो उक्त खाडलमा केही दशकदेखि आगोको ज्वाला दन्किरहेको छ । तर कुनै अलौकिक कारणले गर्दा उक्त खाडीमा आगो दन्किएको होइन । त्यहाँबाट निस्कने प्राकृतिक ग्‍याँस मिथेनका कारण त्यहाँ आगो बलेको हो ।

राष्ट्रपति गुरबांगुली बर्डीमुखामेदोभले उक्त खाडल बन्द गर्ने कार्यलाई पर्यावरण तथा स्वास्थ्यसम्बन्धी कारणका साथै ग्‍याँस निर्यात बढाउने प्रयासका रुपमा हेरिएको छ ।

टेलिभिजनमा प्रसारित एक सन्देशमा राष्ट्रपति गुरबांगुलीले भनेका छन् , ‘हामीले महत्वपूर्ण प्राकृतिक संसाधन गुमाइरहेका छौँ जसबाट हामीलाई ठूलो लाभ हुन सक्दथ्यो। हामीले यसको प्रयोग मानिसहरुको जिवनलाई उत्तम बनाउनका लागि गर्न सक्दछौँ ।’

उक्त नर्कको ढोकामा दन्किरहेको आगो निभाउने उपाय खोज्न उनले अधिकारीहरुलाई आदेश दिएका छन् । तर त्यहाँको आगो निभाउन तुर्कमेनिस्तानले गरेको प्रयास यो पहिलो पटक भने होइन । सन् २०१० मा पनि राष्ट्रपतिले विशेषज्ञहरुलाई उक्त आगो निभाउने तरिका खोज्न आदेश दिएका थिए ।

कहिले बन्यो त्यो खाडल ?

कतिपय स्थानीयहरुका अनुसार सन् १९७१ मा सोभियत संघका भू-वैज्ञानिकले काराकोरम मरुभूमिमा कच्चा तेलको भण्डारको खोजी गरिरहेका थिए । त्यहाँ एक ठाउँमा उनीहरुले प्राकृतिक ग्‍याँसको भण्डार फेला पारे तर उत्खननका क्रममा त्यहाँको जमिन धसियो र त्यहाँ ठूला ठूला तीनवटा खाडल बने ।

उक्त खाडलबाट मिथेन ग्याँस निस्कने खतरा थियो जुन वायुमण्डलमा मिसिन सक्दथ्यो । त्यसैले मिथेन ग्‍याँसलाई वायुमण्डलमा पुग्नबाट रोक्नका लागि भूवैज्ञानिकहरुले उक्त खाडलमा आगो लगाइदिए ।

केही हप्तामै मिथेन ग्‍याँस रित्तिने र आगो निभ्ने उनीहरुको अपेक्षा थियो । तर क्यानडाली खोजकर्ता जर्ज कोरोनिसका अनुसार यो कहानीलाई प्रमाणित गर्ने कुनै दस्तावेज फेला परेको छैन ।

सन् २०१३ मा नेशनल जियोग्राफिक च्यानलका लागि निर्माण गर्न लागिएको एक कार्यक्रमका क्रममा एक टोली तुर्कमेनिस्तानको सो इलाकामा पुगेको थियो । जर्ज कोरोनिस उक्त दलका सदस्य थिए । लगातार बलिरहेको आगो कहिले शुरू भएको हो भन्ने कुरा जान्ने उनीहरुको कोसिस थियो । तर उनीहरुले प्रश्नको जवाफ खोज्नुको साटो उल्टै धेरै प्रश्नहरु खडा गरे ।

तुर्कमेनिस्तानका भू-वैज्ञानिकका अनुसार यो विशाल खाडल वास्तवमा सन् १९६० को दशकमा बनेको थियो र सन् १९८० को दशकमा त्यसमा आगो लाग्यो ।

गोपनीयता

इतिहासकार जेरोनिम पेरोभिकका अनुसार यो नर्कको ढोकाका विषयमा जति रहस्य छन् ती विल्कुलै तार्किक छन् । आगोको यो खाडल मरुभूमिको बीचमा बनेको हुँदा त्यसबाट धनजनको क्षति भएन र असर पनि नगण्य रह्यो ।

जानकारहरुका अनुसार सोभियत संघसँग त्यस समयमा प्राकृतिक ग्‍याँस वा इन्धनको कुनै कमी थिएन त्यसैले खाडलबाट उत्पन्न भएको ग्‍याँसलाई जलाउनु नै उसका लागि उत्तम विकल्प थियो ।

कोरोनिसको खोजी दलमा सहभागी भएका सुक्ष्मजीव विज्ञ स्टिफन ग्रिनका अनुसार मिथेनलार्य अनियन्त्रित तरिकाबाट पर्यावरणमा घुल्न दिनु गलत विचार भएको हुनाले त्यसलाई जलाइदिने निर्णय सही हो । यसले ठूलो परिमाणमा मिथेन ग्‍याँस जम्मा भएर विस्फोट हुने खतरा पनि रहँदैन ।

यो नर्कको ढोका तुर्कमेनिस्तानको सबैभन्दा लोकप्रिय पर्यटक आकर्षण केन्द्र बनेको छ । तर लाभ प्राप्त गर्न सकिने प्राकृतिक संसाधन गुमाइरहेको भन्दै तुर्कमेनिस्तानका राष्ट्रपति उक्त नर्कको ढोकामा दन्किरहेको आगो निभाउने उपायको खोजी गर्न निर्देशन दिएका छन् ।

स्मरण रहोस् पहिले नर्कको ढोका भनिने यो खाडलको नाम सन् २०१८ मा परिवर्तन गरी साइनिङ अफ काराकोरम अर्थात् काराकोरमको चमक राखिएको छ । यो खाडल रातको समयमा पनि टाढैबाट देखिन्छ । बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?