+
+

रानी महल बतासलाई दिन पर्यटन बोर्डका सीईओको लबिइङ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २६ गते २१:४७

२६ पुस, काठमाडौं । नेपालको ऐतिहासिक–पुरातात्विक सम्पदा र पर्यटकीय क्षेत्रमा बतास अर्गनाइजेसनले चलाउँदै आएको रजगज अब पर्दाभित्रको विषय रहेन ।

नारायणहिटी दरबार संग्रहालय परिसरको जग्गा ‘मिलेमतो’मा भाडा लिएको सार्वजनिक भएपछि बतासको एकपछि अर्को ‘सेटिङ’ सार्वजनिक भएका छन् ।

राजनीतिक शक्ति केन्द्रहरु रिझाएको बतास समूहले सरकारी निकायहरुमा पनि आफ्ना निकटवर्तीहरुलाई पुर्‍याएको पाइएको छ । त्यसमध्ये एक हुन् नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मी ।

बतासको धनञ्जय कनेक्सन

नेकपा एमालेका सचिव योगेश भट्टराई पर्यटनमन्त्री भएकै बेला १४ माघ २०७६ मा रेग्मी सीईओ नियुक्त भएका थिए ।

रेग्मीसँग व्यवसायमा प्रत्यक्ष नजोडिएपनि प्रगाढ सम्बन्ध रहेको आनन्दराज बतास नै बताउँछन् । ‘धनञ्जयसँग हाम्रो कुनै किसिमको साझेदारी छैन,’ आनन्दराज बतास भन्छन्, ‘उनका साझेदार राजेन्द्र भने बतास समूहमै काम सिकेका भाइ हुन् ।’ आइसर गाडी बिक्री गर्ने अटोवेज प्रालिमा बतास र नारायण पौडेलको संयुक्त लगानी छ । बतासका पार्टनर नारायणका भाइ राजेन्द्र र धनञ्जय रेग्मीको लगानीमा पोखरामा टोयटा गाडीको सोरुम छ ।

पर्यटन बोर्डमा आएपछि रेग्मीले पनि बतासका लागि लबिइङ गर्ने गरेको पाइएको छ । सीईओ नियुक्त भएपछि रेग्मीले पर्यटकीय क्षेत्रहरु निजी क्षेत्रलाई दिन छलफल चलाएका थिए । त्यसक्रममा बतास समूहले पाल्पाको रानी महल क्षेत्रलाई हनिमुन’ गन्तब्य बनाउन तानसेन नगरपालिकासँग सार्वजनिक निजी साझेदारीको प्रस्ताव राख्यो । बतासले चाहे जसरी ठेक्का नपाउने भएपछि पर्यटन बोर्डका सीईओ रेग्मीले नगगरपालिकालाई सहज रुपमा निर्णय गर्न प्रोत्साहित गरेका थिए ।

तर नगरपालिकाले कानुन विपरीत वन र पुरातात्विक क्षेत्र प्रयोग गर्न र त्यसमा थप संरचना बनाउन नदिने बताएपछि बतास समूह पछि हट्न बाध्य भयो ।

वातावरणीय असर पर्ने गरी चरम व्यवसायिक ढंगको प्रस्ताव गरेकाले विज्ञ समितिको सिफारिसअनुसार बताससँग सम्झौता नगरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डे बताउँछन् । ‘जताततै कंक्रिटिङ गर्ने प्रस्ताव आएको थियो,’ पाण्डे भन्छन्, ‘त्यो कम्पनीसँग सम्झौता नगरेर ठीक गरिएछ भन्ने भएको छ ।’

पर्यटन बोर्डका सीईओ रेग्मी भने जीर्ण अवस्थामा पुगेको रानीमहल संरक्षणका लागि ‘द्वारिकाज’ जस्तै रातको हजार डलरसम्म तिर्ने थोरै तर धनी पर्यटक राख्ने होटल बनाउन चाहेको बताउँछन् ।

‘अलि महंगो मूल्य लिन सक्ने गरी व्यवस्थापन गर्ने भिजन भएको मान्छेले मात्रै त्यहाँ होटल चलाउन सक्छ भनेको हुँ,’ उनले भने, ‘बतासजीसँग मेरो चिनजान भएपनि कुनै व्यापारिक सम्बन्ध छैन । म उहाँलाई पोखराको ठूलो, राम्रो र इमान्दार व्यापारीको रुपमा चिन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?