+
+

कसरी मनाउने जन्मोत्सव ?

केशन ढकाल केशन ढकाल
२०७८ पुष २७ गते ९:००

मानव जीवन ईश्वर (प्रकृति)को एक अमूल्य उपहार हो। जीवन शुरू भएको दिनको सम्झना स्वरूप जन्मदिन मनाउने गरिन्छ। परिवारका सदस्य, आत्मीयजन, अनुयायीहरूले शुभकामना दिने गर्दछन्। जीवन अझै सार्थक होस् भनी कामना गरिन्छ। जन्म भएको गते र जन्म भएको तिथि अनुसार कुनै एकलाई आफ्नो जन्मोत्सवको रूपमा मनाउन सकिन्छ। तथापि तिथि अनुसार मनाइने जन्मोत्सव उत्तम मानिन्छ। पूर्वीय दर्शन र परम्परा अनुसार जन्म भएको तिथि नै जन्मदिन मनाउने सर्वोत्तम समय हो।

वर्तमान अवस्थामा जन्मदिन गतेको हिसाबले मनाउने चलन बढेर गएको छ, अझ आफूलाई आधुनिक र स्तरीय सम्झिनेहरूले तारिख अनुसार जन्मदिन मनाउने गरेको पनि पाइन्छ। धर्तीमा एउटा कुनै जीवनको शुरुआत भएको पल विशेष हुन जान्छ र त्यो पलको सम्झना स्वरूप मनाइने जन्मदिन पनि कुनै खास समयमा विधिवत् रूपमा मनाउनुपर्दछ। त्यसैले जन्मतिथि अनुरूप मनाइएको जन्मदिनको महत्व बढी हुने गर्दछ।

बढ्दो सामाजिक सञ्जाल, प्रविधिको प्रयोग र उदारवादी हुने चक्करमा पश्चिमा परम्पराहरू हामी माझ सरल बन्दै गएका छन्। आफ्ना परम्पराहरू अर्थहीन र कसैका परम्पराहरू अनुसरण योग्य छन् भने त्यसबाट सिकेर रूपान्तरण ल्याउन जायज नै हुन्छ। तर आफ्नो परम्परा अर्थपूर्ण र वैज्ञानिक हुँदाहुँदै पनि देखासिकीको कारण लहडमा ती परम्पराहरू अँगाली आफ्ना बहुमूल्य परम्पराहरू भुल्नु दुर्भाग्यपूर्ण हो। हिजोआज कसैको जन्मदिनको अवसरमा शुरुमा सामाजिक सञ्जालमा शुभकामना आउँछन्, पार्टीको माग गरिन्छ अनि पार्टी दिने इच्छा होस् या नहोस् मागबमोजिम पार्टीको आयोजना पनि गरिन्छ।

अझ केक काटेर, मैनबत्तीहरू निभाएर जन्मदिन मनाउने प्रचलन त विचित्रको छ। बालक होस् या वृद्ध, जन्मदिन मनाउने कोठालाई बेलुन, प्लास्टिकका कृत्रिम फूल आदिले सजावट गरिन्छ, टेबलमा केक तयारी अवस्थामा राखिएको हुन्छ, छेउमा केक काट्नका लागि एउटा चक्कु, मैनबत्तीहरू पनि जलाउनका लागि तयारी अवस्थामा राखिएको हुन्छ। आत्मीयजनको उपस्थिति भैसकेपछि तयारी अवस्थामा राखिएका मैनहरू जलाइन्छन्, ताली पिट्दै हर्षित मुद्रामा ह्याप्पी बर्थडे टु यु फलानो भनिन्छ। अनि जलाइएका मैनहरूलाई सासले फुकेर निभाइन्छ। चक्कुले केक काटिन्छ, आफ्नो आत्मीय व्यक्ति वा आफूले सर्वश्रेष्ठ मानेको व्यक्तिलाई शुरुमा केक खुवाइन्छ अनि अन्य व्यक्तिहरूलाई पनि केक खुवाइन्छ।

यो विचित्रको परम्परा भनेको आयातित परम्परा हो। पश्चिमी परम्पराको अनुसरण गर्ने चक्करमा अन्धानुसरण भएर यस्तो प्रचलन आएको हो। जन्मदिनको अवसरमा आत्मीयजनसँगको समागम, मीठो केक खानु, खुशी साटासाट गर्नु, बत्तीहरू बाल्नु उचित हुन्छ तर जन्मतिथिलाई बेवास्ता गरेर तारिख वा गतेको अनुसार जन्मदिन मनाई बत्तीहरू निभाउनुलाई पूर्वीय दर्शन अनुसार अशुभ मानिन्छ।

उसका सम्पूर्ण ३० वर्ष सकिएको खण्डमा ऊ त्यस बखत शून्य उमेरको हुनुपर्दछ। यसो भन्नाले उसको जन्म नै भएको छैन या उसको जीवनकै अन्त्य भइसकेको भन्ने अर्थ लगाउन सकिन्छ। त्यसैले एक त हाम्रो पूर्वीय दर्शन अनुसार जन्मदिनमा बत्तीहरू निभाउनुलाई अशुभ मानिन्छ भने अर्कोतिर निभाइएका बत्तीले जीवनकै अन्त्य भएको भन्ने अर्थ दिन्छ

पश्चिमी परम्परा अनुसार जन्मदिन मनाउँदै गर्दा बलेको बत्ती निभाउनुको तात्पर्य र त्यसको सान्दर्भिकता व्यक्तिले कति वसन्त व्यतित गर्‍यो भन्ने हिसाबले त्यति नै संख्यामा मैनबत्तीहरू बालिन्छ र निभाइन्छ। उमेर संख्या बराबरीको संख्यामा बत्तीहरू निभाइनुको अर्थ भनेको व्यक्तिको यति वर्षहरू सकिए, यति वर्ष व्यतित भैसके अर्थात् कुल उमेरको यति वर्षहरू चाहिं मरिसके भन्ने हुन्छ।

३० वर्ष पुगेको उपलक्ष्यमा जन्मदिन मनाउँदै गर्दा ३० वटा बत्तीहरू निभाइन्छ, यसको अर्थ सम्पूर्ण ३० वटा वर्ष चाहिं मरिसके, ३० वर्ष खेर गइसके भन्ने बुझिन्छ। तर कुनै व्यक्तिले आफू ३० वर्षको उमेरसम्म आइपुग्दा थुप्रै उपलब्धि हासिल गरिसकेको हुन्छ। भावी दिनहरूमा जिउने आधार निर्माण गरिसकेको हुन्छ। त्यसैले उसका सम्पूर्ण ३० वर्ष खेर नगएर तिनै ३० वर्षको सहयोगमा ऊ वर्तमान जीवन जिउँदै गरेको हुन्छ। उसका सम्पूर्ण ३० वर्ष सकिएको खण्डमा ऊ त्यस बखत शून्य उमेरको हुनुपर्दछ।

यसो भन्नाले उसको जन्मनै भएको छैन या उसको जीवनकै अन्त्य भइसकेको भन्ने अर्थ लगाउन सकिन्छ। त्यसैले एक त हाम्रो पूर्वीय दर्शन अनुसार जन्मदिनमा बत्तीहरू निभाउनुलाई अशुभ मानिन्छ भने अर्कोतिर निभाइएका बत्तीले जीवनकै अन्त्य भएको भन्ने अर्थ दिन्छ। यसरी हेर्दा जन्मदिनमा बालिएका बत्तीहरू निभाउनुको सान्दर्भिकता बारे प्रश्न उठाउन सकिन्छ।

कसरी मनाउने त जन्मोत्सव

हाम्रो परम्परा अनुसार जन्मोत्सव मनाउने विधि फरक किसिमको हुन्छ। जतिऔं जन्मदिन हो त्यति नै वटा दीप प्रज्वलन गरी पवित्र स्थान, मन्दिर आदिमा गएर भगवानको आरती गर्न सकिन्छ। भगवानको आरती गरे पश्चात सोही दीपले वैष्णव र ब्राह्मणहरूको पनि आरती गर्न सकिन्छ। आरती गरिएको दीपलाई निभ्न नदिनु हाम्रो प्रमुख कर्म रहन्छ। दीप निभाइएको खण्डमा व्यक्तिको आयु हरण हुने, रोगव्याधले हमला गर्ने आदि बुझाइ पूर्वीय दर्शनमा पाइन्छ। प्रकाश भनेको सकारात्मक कुरा हो, प्रकाशले ऊर्जा प्रदान गर्ने गर्दछ। त्यसैले प्रकाशसँग सम्बन्ध भएको दीपलाई प्रज्वलित राख्नाले जीवनमा सकारात्मक सोचको विकास हुने, ऊर्जाले भरिपूर्ण हुने विश्वास छ। बलेको दीप निभाउँदा मानसिक रूपमा नकारात्मक असर पर्ने भएकाले पूर्वीय दर्शनले दीपलाई प्रज्वलित नै राख्न सिकाउँछ।

अष्टचिरञ्जीवी र तेज

आठ जना महान व्यक्तित्व अश्वस्थामा, बलि महराज, व्यासदेव, हनुमान, विभीषण, कृपाचार्य, परशुराम, मार्कण्डेय ऋषिलाई कल्पौं कल्पान्तरको जीवन प्राप्त भएकाले अष्टचिरञ्जीवी भनिन्छ। जन्मदिनमा अष्टचिरञ्जीवीको आराधना गर्नाले व्यक्तिको अकालमा मृत्यु नहुने, दीर्घ आयु हुने, रोगव्याधिबाट मुक्त हुने, व्यक्तिको जीवनमा तेज प्राप्त हुने, व्यक्तित्व विकासका लागि आवश्यक संकल्प शक्ति समेत प्राप्त हुने विश्वास गरिन्छ। सर्वगुण सम्पन्न अष्टचिरञ्जीवीको पूजा गर्नाले वाक् सिद्धि प्राप्त हुने जसका कारण बोलेका कुराहरू पूरा हुने पनि विश्वास छ।

जन्मदिन मनाउने यस्ता विधिहरूबाट हुने लाभबारे अनविज्ञ रहँदा र कसैले पनि यस्ता विधिहरू अवलम्बन नगर्दा पश्चिमा परम्पराहरू हावी भएको पाइन्छ। हाम्रै पूर्वीय परम्परा अर्थपूर्ण भएकाले र ईश्वरको वरिपरि रमाउन सिकाउने भएकाले जीवनमा सकारात्मकताको बास हुने गर्छ।

आनन्द र खुशीका लागि जन्मदिन

आफू जन्मेको दिन अर्थात् आफ्नी आमाको प्रजनन क्षमताको पुष्टि भएको दिन, सन्तान प्राप्तिमा आमा खुशी भएको दिन, परिवारमा खुशी छाएको दिन सबैमा महत्वपूर्ण हुने गर्दछ। आफूलाई मूल्यांकन गर्न सक्ने र आफूलाई म को हुँ भनेर चिन्न सक्ने हरेकका लागि आफ्नो जन्म भएको दिनको खास महत्व रहने गर्दछ। जीवन पाएको खुशियालीमा, जीवनमा आर्जित उपलब्धिहरूबाट सन्तुष्ट रहँदै जन्मोत्सव मनाउँदा जो कोही पनि खुशी हुन चाहन्छ, खुशीहरू साट्न चाहन्छ। आफू खुशी हुने र अरूलाई खुशी बनाउने तरिका हरेक व्यक्तिको फरक फरक हुन सक्छ। जन्मदिनमा साथीभाइसँग रमाइलो गर्दै रेष्टुराँ र बार जानुमा कोही खुशी हुन सक्छन् भने कोही घरपरिवारमा नै केवल टीका लगाई मिठाई बाँडेर खुशी हुन सक्छन्, खुशी बनाउन सक्छन्। कोही भने कसैले जन्मदिनको शुभकामना मात्र भनिदिंदा पनि खुशी हुने गर्दछन्।

खुशीको मापन चाहनाहरूले गर्ने गर्दछन्, जति सानो चाहना त्यति नै धेरै खुशी। जीवनमा खुशी हुनसकेमा जीवन सार्थक भएको मान्न सकिन्छ। त्यसैले जन्मदिनमा दिनसक्दो खुशी हुनुपर्दछ, खुशी साट्नुपर्दछ। खुशी हुनका लागि आफूलाई जन्म दिने बुवा-आमाको अनुहार हेर्न सकिन्छ, उहाँहरूलाई खुशी बनाउन सकिन्छ, आफ्ना उपलब्धिको स्मरण गर्न सकिन्छ। गरीब, दुःखीलाई सहयोग गर्न सकिन्छ। जीवनलाई वरदानको रूपमा ग्रहण गरी भगवान (प्रकृति) प्रति कृतज्ञ रहन सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?