+
+

मलयाली पुरुषका महिलावादी सिनेमा

विश्वभरिका सिनेमा पारखीले फरक भूगोल, कथा र विषयवस्तुमाथि बनेका सिनेमाको स्वाद लिन उक्लनुपर्ने पर्खाल भाषा मात्र हो । जोन हुले भने झैं त्यो ‘वानइन्च’ उक्लन सके कता-कता पुगिन्छ-पुगिन्छ ।

सृष्टि कार्की सृष्टि कार्की
२०८१ जेठ १२ गते ८:०९

दक्षिण कोरियन सिनेमा ‘प्यारासाइट’ले सन् २०२० संस्करणको अस्करमा उत्कृष्ट फिल्म र निर्देशक सहित विभिन्न चार विधामा अवार्ड जितेको थियो । जितपछि यसका निर्देशक बोङ जोन हुले सबटाइटलको ‘वानइन्च ब्यारियर’ उक्लिन सकेदेखि जुनसुकै भाषाको सिनेमामा पहुँच हुन्छ भनेर मञ्चमै भनेका थिए । विश्वभरिका सिनेमा पारखीले फरक भूगोल, कथा र विषयवस्तुमाथि बनेका सिनेमाको स्वाद लिन उक्लनुपर्ने पर्खाल भाषा मात्र हो । हुले भने झैं त्यो ‘वानइन्च’ उक्लन सके कता-कता पुगिन्छ-पुगिन्छ ।

छिमेकी भारतको तमिल, तेलगु, मलयालम र कन्नड लगायत भाषाका सिनेमासँग मेरो परिचय भएको केही वर्ष भयो । त्यहाँका सिनेमासम्म सबटाइटलले नै पुर्‍यायो । त्यसैले मलाई हुको ‘वानइन्च’ विश्लेषण घत परेको थियो ।

हुर्कंदै गर्दा उत्तर भारतको तुलनामा दक्षिण भारतीय समाज चेतनशील छ भन्ने सुनेको थिएँ । हिन्दी च्यानलमा आउने त्यहाँका केही डबिङ सिनेमा हेरेपछि भने मैले सुनेको कुरा ‘हावा रहेछ’ भन्ने लागेको थियो । सिनेमामा ‘हिरो’ले दर्जनौं व्यक्तिलाई हावामा उडाउँथे । त्यो देखेर म निस्सासिन्थें । मलाई पहिल्यैदेखि मारपिट भरिएका सिनेमाले आकर्षित गर्दैनथे । अलि-अलि बुझ्ने भएपछि, मलाई इरानी सिनेमा र कोरियन सिरिजले तान्न थाले । ती सिनेमा मैले खोजे जस्तै हुन्थे-शान्त ।

सामाजिक सञ्जालमा म प्रायः यस्तै सिनेमाको तारिफ गर्थें । पछि मेरो भेट ट्विटरमा ‘रिबेल युवराज’नामक ह्यान्डल भएका साथीसँग भयो । उनी रहेछन्, भारतका रिजनल भाषा, मलयालम, तमिल, तेलेगु आदि सिनेमा दर्शक । ‘कुम्बलाङ्गी नाइट्स’, ‘ब्याङ्लोर डेज’, ‘उयारे’, ‘मायानधी’ र ‘सुपर डिलक्स’ जस्ता सिनेमासम्म उनकै संगत मार्फत पुगें । यसले दक्षिण भारतीय सिनेमाप्रतिको मेरो अनुभव र बुझाइलाई नै फेरिदियो । कोरोना कहरको बेला सिनेमा हेर्ने समय बढ्यो । त्यहीबेला मैले दक्षिण भारतीय सिनेमा खोजी–खोजी हेर्न थालें ।

हिन्दी मूलधारको सिनेमा भन्दा ती विल्कुल फरक थिए । सिनेमाकोे विषयवस्तुले कसकोे प्रतिनिधित्व गर्छ ? कस्ता दर्शकलाई सम्बोधन गर्छ ? पात्रहरूको चरित्र चित्रण कसरी गरिएको छ ? यी यावत् प्रश्न वरपरको राजनीतिमा नै सिनेमा निर्माण हुने गर्छ । हिन्दी मूलधारको सिनेमाले प्रतिनिधित्व गर्ने कथामा छिट्पुट बाहेक मैले आज पनि आफ्नो समाज खासै भेट्दिनँ । दक्षिण भारतका सिनेमामा भने, मेरै वरपरका विषय समेटेको पाएँ । दलित र महिलाको मुद्दामाथि बनेका तिनका सिनेमाले मलाई यस्तो विषयलाई यति सशक्त रूपमा कसरी भन्न सकेको होला भन्ने लाग्न थाल्यो । जस्तो तमिल भाषाका ‘असुरन’ (२०१९) र ‘कर्नान’ (२०२१) जस्ता दलित समुदायको विषयवस्तुमाथि बनेका सिनेमाले मलाई यो मुद्दालाई हेर्ने नयाँ चश्मा दिएका छन् ।

हिन्दी भाषामा बनेका सिनेमा नेपाली हलहरूमा सहजै हेर्न पाइन्छ । तर, दक्षिण भारतका विभिन्न भाषाका सिनेमा नेपाली हलहरूमा हेर्न पाउनु दुर्लभ अनुभव हो । पछिल्लो समय ‘कान्तारा’ (२०२२) मैले हलमा हेरेको थिएँ । कन्नड भाषामा बनेको यो सिनेमा सुपरडुपर हिट भएर हिन्दीलगायत थुप्रै भाषामा डबिङ भयो । त्यसपछि मात्र नेपाली हलहरूमा यो सिनेमा आइपुग्यो ।

नेपाली र भारतीय समाजको संस्कृति, रीतिरिवाज र चालचलन मिल्छ नै, धेरैजसो भोगाइ पनि साझा छन् । पितृसत्ता र जात व्यवस्था दुवै समाजमा जब्बर छन् । दक्षिण भारतीय सिनेमामा यी दुवै व्यवस्थाको प्रभावलाई बलियो गरी देखाउन थालिएको छ । यो लेखमा भने पुरुषको निर्देशन र लेखनमा बनेका असाध्यै मनपरेका दुई मलयाली महिलावादी सिनेमाको चर्चा गर्छु— ‘द ग्रेट इन्डियन किचेन’ र ‘जय जय जय जय हे’ ।

नेटफ्लिक्स वा अमेजन प्राइम जस्ता ओटिटी प्लाटफर्ममा नबिकेको ‘द ग्रेट इन्डियन किचेन’, निस्ट्रिम नामक ओटिटीले स्ट्रीम गरेको थियो । मसँग यस्तो नामै नसुनेको ओटिटीको सब्सक्रिप्सन हुने कुरै भएन । त्यसैले म चलनचल्तीको भाषामा ‘इन्टरनेटका छिद्रहरू’ मार्फत यो फिल्मसम्म पुगें ।

जियो बेबीले निर्देशन गरेको ‘द ग्रेट इन्डियन किचेन’ ले मलयाली किचेन अर्थात् भान्साको कथा भन्छ । भारतीय फिल्म समीक्षक सुचारिता त्यागीसँगको एक अन्तर्वार्तामा निर्देशक बेबी भन्छन्- ‘सिनेमा मलयाली किचेन बारे भए पनि सारमा पूरा इन्डियन किचेनको कथा हो ।’ सिनेमा हेरेपछि भने मलाई लाग्यो, यो दक्षिण एशियाली समाजको हरेक भान्साको कथा हो । मेरै भान्साको कथा हो । वा तपाईंहरूकै भान्साको कथा हो !

‘बिहान सबेरै जुरुक्क उठेर’ तपाईंको घरको दैनिकी कसले चलाउँछ ? चिया कसले बनाउँछ ? लगत्तै बिहानको खाना बनाउन को खट्छ ? खाना खाँदा टेबल म्यानरको पालना हुन्छ वा हुन्न ? फेरि दिउँसोको खाजा के बनाउने भनी कसले सोच्छ ? खाएका फोहोर भाँडाकुँडा उठाएर माझ्ने ठाउँमा (माझ्नु त परको कुरा भइहाल्यो) लैजानुहुन्छ वा टेबलमै कोही अरूले उठाओस् भनेर छोड्नुहुन्छ ? फेरि रातको खाना अनि फेरि अर्को दिनको भान्सा कसको जिम्मेवारी हो ? हरेक दिनजसो आ–आफ्नो भान्साको यस्ता अदृश्य प्रश्नमाथि विचार गर्न निर्देशक बेबीले बाध्य पारिदिन्छन् ।

बिहानदेखि बेलुकासम्म भान्सामा को नाच्छ ? भन्ने जवाफ पुरुषले दिने हो भने आमा, श्रीमती, दिदीबहिनी वा छोरी हुन सक्छन् । महिलाले उत्तर दिनुपर्‍यो भने, ‘म’ आउँछ । ‘द ग्रेट इन्डियन किचेन’ले एक नवविवाहित महिलाको दैनिकी कसरी भान्सा वरपर सीमित बन्दै जान्छ भनेर देखाउँछ । हनिमुनमा जानुपर्ने बेला भान्साका मसला, तरकारी, मासु, माछा, तात्तातो इड्ली र साम्बरसँग हेलमेल बढाउनुपर्ने बाध्यता आइलाग्छ । बिहान, दिउँसो र बेलुका तरकारी काट्दा, लसुन–प्याज गर्दा उनको हात गन्हाउन थाल्छ । ‘किचेनको सिंक चुहिने भएर प्लम्बर बोलाइदेउ न’ भन्दा पनि श्रीमान्ले वास्तै गर्दैनन् । चुहिने सिंकको तल बाल्टिन राखेर जुगाड गर्छिन् । फोहोर पानीले बाल्टिन भरिंदै जाँदा यता ती महिलाको ‘फ्रस्टेसन’ पनि त्यही फोहोर पानी झैं जम्मा हुँदै जान थाल्छ ।

महिलालाई अधिकांश परिवार र आफन्तले सानै उमेरदेखि आफ्नै विचार लादेर ‘आदेशपालक’ का रूपमा हुर्काइरहेको हुन्छ । त्यस्तो मानिससँग जया पात्रले विवाह गर्नु पछाडिको कारणलाई पनि निर्देशकले सिनेमामा स्थापित गरेका छन्

यी नवविवाहित महिलाले बनाएका पकवान हेर्दा सुन्दर लाग्छन्, बनाउँदाको तयारी ‘क्लोजअप सटमा’ देखाइन्छ । यस्ता सटहरू ‘लुपमा’ हेरिरहँदा केही समयपछि दर्शकलाई झ्याउ लाग्न थाल्छ । यही नै होस् भनेर निर्देशकले चलाखी गरेका हुन् । खाना बनाएका दृश्य दोहोरिरहँदा तपाईंलाई झ्याउ लाग्न थाल्यो भने सोच्नुस् त आफ्नो सारा जीवन भान्सामा खर्च हुने महिलाहरूलाई कति दिक्कलाग्दो हो ? निर्देशकले सिनेमाको सहारामा यही कुरा बुझाउन खोजेका छन् ।

यो सिनेमामा कुनै पनि पात्रको नाम छैन । कारण– ‘कहानी घर घर की’ । हरेक घरमा चुलोको वरिपरि घुमेरै आफ्नो जीवन सक्काउने महिला पात्र हुन्छन् । दक्षिण एशियाली समाजमा ‘घर’ को भान्साको कामलाई निम्छरो कोटिको ठानेर सामान्यीकरण गरिन्छ । किनकि यसरी गरेको कामको महिलाले पैसा पाउँदैनन् । तर त्यही महिलाको काम ‘मेड’ ले गर्दा भने पैसा तिर्नुपर्छ । यो ‘केयर इकोनोमी’ को हिसाबकिताब कसले राख्छ ? महिला श्रममाथिको दोहन कहिलेसम्म ? सिनेमाको क्यामेराले यी प्रश्न अदृश्य रूपमा गरिरहेको हुन्छ ।

ब्रस गर्ने बेला ब्रसमा टुथपेस्ट हालिदिएर हातमै टक्र्याउनुपर्ने, घरबाट निस्कने बेलामा जुत्ता-मोजा लगिदिनुपर्ने अर्थात् आमा, श्रीमती वा दिदीबहिनीबाट सधैं सेवा मात्र पाइरहने ‘वयस्क बच्चा’हरू हुने पुरुषले भरिएको समाज हो हाम्रो । यस्तो सोच नै हाम्रो समाजको खास चरित्र पनि हो । छोरालाई सिन्को भाँच्न नलगाई हुर्काएका कारण छोरी मान्छेको श्रममा बाँच्ने दुईखुट्टे परजीवीमा परिणत भएका पुरुषको कथा हो यो सिनेमा । छोरा मान्छेले घरको काम गर्नुहुँदैन भन्ने ‘बिमार’ मानसिकताको प्रतिवाद गर्न उक्साउँछन्, निर्देशकले । मेरै दैनन्दिन जीवनमा देखिरहेको दृश्यको ‘फोटोकपी’जस्तो लाग्छ, ‘द ग्रेट इन्डियन किचेन’ । त्यसैले पनि मलाई यो सिनेमाले गहिरो छाप छोडेको छ ।

निर्देशक बेबी सुचारिता त्यागीसँगको अन्तर्वार्तामा भन्छन्– ‘सिनेमामा देखाइएका यस्तो दृश्य मेरो महिला साथीहरूले भोगेका घटनाका लाइटर भर्सन हुन्, वास्तविकता त झन् भयावह छ ।’ उनको अर्को तर्क पनि मलाई साह्रै मनपर्छ । उनी भन्छन्-‘महिलावाद भनेको मानवतावाद हो ।’

‘द ग्रेट इन्डियन किचेन’ खासमा महिलावादी आन्दोलनका लागि उनको ऐक्यबद्धता हो । उनले सिनेमाको प्रमोसनको दौरान सबैलाई सोध्ने एउटा प्रश्न छ-‘समाज किन जहिल्यै र जहाँ पनि एउटा जेन्डरलाई मात्र पेलिरहन्छ ?’ सायद यही प्रश्न नै सिनेमा हो ।

यस्तै अर्को सिनेमा छ, मलायली निर्देशक विपिन दासको ‘जय जय जय जय हे’ । घरेलु हिंसाकोे प्रतिवादको कथा । आफूले श्रीमान्बाट भोगिरहेको हिंसाको जवाफ हिंसाले नै फर्काएपछि महिलालाई समाजले दिने प्रतिक्रिया कस्तो होला ? यसलाई कसरी भन्न सकिन्छ होला ? मलाई निर्देशक दासले दृश्य मार्फत देखाएको यसको जवाफ साह्रै प्रभावशाली लाग्यो । घरेलु हिंसा महिलाले भोग्ने क्रूर वास्तविकता हो, यसलाई हाम्रो समाजमा निकै सामान्यीकरण गरिन्छ ।

धेरैजसो सिनेमामा घरेलु हिंसा देखाउनु परे, पुरुषले महिलालाई मरणासन्न हुने गरी पिट्ने, बलजफ्ती गर्ने, लछारपछार गर्ने जस्ता गतिविधि देखाइन्छ । पिटाइ खानेको मनस्थिति दयनीय महसुस हुन्छ । तर ‘जय जय जय जय हे’ मा भने यो कुरा दयनीय तरिकाले देखाइएको छैन ।

सिनेमाको मुख्य पात्र जयाका श्रीमान्ले अनाहकमा लगातार थप्पड हान्न थाल्छन् । यो कुरा श्रीमान्को परिवारको महिला सदस्यले पनि देखेका हुन्छन् । तैपनि एउटै प्रतिक्रिया हुन्छ, ‘मेरो छोरो ! मान्छे त राम्रै हो अलि रिसाहा छ…।’ त्यसपछि जयाले आफ्नो आमा, बुबा र दाइलाई आफूमाथि हिंसा भएको कुरा फोनबाट सुनाउँछिन् । सहानुभूति दिनु त परै जाओस्, श्रीमती भएपछि यति त ‘एड्जस्ट’ गर्नुको विकल्प हुँदैन भनेर उल्टै सम्झाउँछन् आमाबुबाले । कतैबाट साथ नपाएपछि, सहनुको विकल्प छैन भनेर जया चुपचाप बस्छिन् भन्ने दर्शकलाई लाग्न सक्छ ।

तर, कथा मोडिन्छ । पहिले युट्युब हेरेरै श्रीमान्लाई नयाँ–नयाँ पकवान बनाएर टक्र्याउँदा, उनले बदलामा थप्पड खाने गर्थिन् । श्रीमान्को हातको थप्पड खाँदाखाँदा आजित भएकी जयाले अब भने त्यही युट्युबबाट कराँते सिक्छिन् । कसैले साथ नदिए पनि प्रविधिले भने उनलाई साथ दिन्छ । बिस्तारै बिस्तारै कराँते सिक्न थालेपछि उनमा आत्मविश्वास बढ्दै जान्छ ।

यस्तैमा एक दिन श्रीमान् घरभित्र छिर्दा उनी सोफामा ढल्किएर मोबाइल चलाइरहेकी हुन्छिन् । यो देखेर श्रीमान् पिट्न झम्टन्छ । यसपटक भने उनको हात जयाले रोकिदिन्छिन् र कस्सेर एक किक पेटमा दिन्छिन् । त्यो एउटै किकले श्रीमान्को काण्ड पुर्‍याइदिन्छ । किकले तिल्मिलाएर श्रीमान् जुरुक्क उठ्छन्, पेट समाउँदै मेडिकल जान्छन् । औषधि माग्दा उनले झुट बोल्छन् । दिनभरि साथीहरूले किन पेट दुख्यो भनेर सोधिरहन्छन् तर केही बोल्दैनन् । चुपचाप घर आई खाना पनि नखाई सुत्छन् ।

भर्खरै प्रदर्शनीमा आएको हिन्दी सिनेमा ‘अल इन्डिया र्‍याङ्क’ का निर्देशक वरुण ग्रोवरले कतै भनेका छन्– ‘तितो कुरालाई हास्यरसमा घोलेर भन्दा कथा प्रभावकारी हुन्छ । किनभने जति नै तितो कुुुरा भने पनि दर्शक चालै नपाई हाँसिसकेका हुन्छन् । म केमा हाँसेछु भनी झसङ्ग हुँदा समय घर्किसकेको हुन्छ । सन्देश गइसकेको हुन्छ ।’ हास्यव्यङ्ग्यको यो पक्षको समिश्रण ‘जय जय जय जय हे’ मा पनि देख्न पाइन्छ । विशेषगरी जया पात्रले श्रीमान् पिटेपछिको घटनाक्रमहरूमा ।

जया पात्रले कराँते सिकेको थाहा पाएपछि, उनको श्रीमान्ले पनि कराँते सिक्छन् । अहम्, रिस, घमण्ड सबै एकै साथ श्रीमान्को पात्रले देखाउन थाल्छ । अनि ‘तँ र म फाइट गरौं’ भनेर हुँकार गर्छ । जया पनि पछि हट्दिनन् र श्रीमान्सँग भिड्छिन् । यो पटक भने श्रीमान्ले धुलोपिठो हुने गरी पिटाइ खाएको कुरा परिवार र साथीभाइले पनि थाहा पाउँछन् । श्रीमान्-श्रीमतीको कुस्तीले गर्दा कोठाभरिका फर्निचर कुनै सद्दे बस्दैनन् । सामान असरल्ल हुन्छन् ।

पहिले श्रीमतीले पिटाइ खाँदा सहेर बस्नुपर्छ भन्ने समाज, श्रीमान्ले पिटाइ खाएपछि भने के गर्ने भनेर सल्लाह गर्न भेला हुन्छ । श्रीमान्को साथी आएर ‘किन पिटिस् ?’ भनेर जयालाई केरकार गर्न थाल्छ । उसले भन्छ-एउटा थप्पड न थियो माफी दिएको भए भइहाल्थ्यो । त्यसमा जयाको उत्तर कराँतेको किक जस्तो थियो, ‘विवाह भएको ६ महिनामा २१ पटक मलाई उसले थप्पड हानेको छ । थाहा छ १० वर्षमा कतिपटक हान्छ ? ४२० पटक । यो मानिससँग मैले ४० वर्ष जीवन बिताएँ भने १६ सय ८० पटक थप्पड खानुपर्छ ।’ जयाको जवाफलाई त्यो साथीले होइन भन्न सक्दैन । नाजवाफ भएपछि रिसमा भुन्भुनिंदै उसले भन्छ, ‘महिलालाई धेरै पढाएपछि हुने यही हो ।’

महिलालाई अधिकांश परिवार र आफन्तले सानै उमेरदेखि आफ्नै विचार लादेर ‘आदेशपालक’ का रूपमा हुर्काइरहेको हुन्छ । त्यस्तो मानिससँग जया पात्रले विवाह गर्नु पछाडिको कारणलाई पनि निर्देशकले सिनेमामा स्थापित गरेका छन् । जया पात्रको परिवारले छोराको पढाइका लागि घर, जग्गा बेचेरै भए पनि टाढाको राम्रो कलेजमा भर्ना गरिदिन्छ । उनलाई भने मन परेको विषय र कलेज पढ्न दिइँदैन । ‘पढ्नेले जे विषय र जहाँ पढे पनि राम्रो गर्छ’ भनिन्छ । उनको प्रेम सम्बन्ध थाहा पाएपछि हतारहतार हल्ला नफैलियोस् भनेर जस्तै केटासँग विवाह गरिदिन परिवारले जबरजस्ती गर्छ । यस्तो अवस्थामा विवाह भएपछि घरेलु हिंसा भोगे पनि, त्यसको प्रतिकार गर्न महिलाहरूलाई सहज हुँदैन ।

नवविवाहित महिला यी दुवै सिनेमाका मुख्य पात्र हुन् । दुवै पढेलेखेका पात्रले नयाँ पुस्तालाई प्रतिनिधित्व गर्छन् । विवाहपछि उनीहरू दुवै फरक खाले दमनमा पर्छन् । केही समय सहन्छन्, अति नै भएपछि डिभोर्स गरेर आफ्नो नयाँ जीवनको सुरुवात गर्छन् ।

जियो बेबी र विपिन दास दुवैले समाजमा महिलामाथि हुने हिंसाका प्रारूपलाई मिहिन ढंगमा पर्दामा उतारेका छन् । माहिलावादी विचारलाई यति बलियो गरी सिनेमा मार्फत बृहत् समाजलाई बुझाउन सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन्, यी सिनेमा । नेपाल लगायत दक्षिण एशियाली दर्शकका लागि यी सिनेमा निकै सान्दर्भिक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?