
२७ पुस, पोखरा । विभागीय टोली नेपाल पुलिस क्लबले पोखरामा भइरहेको दोस्रो टाइगर कप भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ लगातार दोस्रो जित हात पारेको छ ।
मंगलबार भएको खेलमा पुलिसले साविक विजेता गण्डकी प्रदेशलाई पराजित गरेको होफ । यस्तै अर्को खेलमा त्रिभुवन आर्मी क्लबले एपीएफलाई ३-१ को सेटमा हराएर विजयी सुरुवात गरेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा पुलिसले लगातार दोस्रो जित हात पार्ने क्रममा गण्डकीलाई २५-२२, २५-१८, २५-२० ले हरायो ।
राउण्ड रोविनका आधारमा भइरहेको प्रतियोगितामा लगातार दुई जितपछि पुलिसले २ खेलबाट ५ अंक जोडेर शीर्ष स्थानमा छ ।
पुलिसले पहिलो खेलमा भारतीय खेलाडी समावेश हेल्प नेपाल स्पोर्ट्स क्लबमाथि ३-२ को पुनरागमन जित निकाल्दै २ अंक जोडेको थियो ।
पहिलो खेलमा एपीएफलाई हराएको गण्डकीले भने पहिलो हार बेहोरेको छ । गण्डकीको २ खेलबाट ३ अंक छ ।
मंगलबारको विभागीय डर्बी भिडन्तमा आर्मीले एपीएफलाई २५-१६, २२-२५, २५-१५,२५-२१ ले पराजित गर्दै ३ अंक जोडेको छ । लगातार दोस्रो हार बेहोरेको एपीएफ दुई खेलपछि अंकविहीन छ ।
प्रतिक्रिया 4