+
+

खरायो गतिमा कोरोना संक्रमण, कछुवा गतिमा होल्डिङ सेन्टर निर्माण

टोपराज शर्मा टोपराज शर्मा
२०७८ पुष २७ गते १४:४२

२७ पुस, बुटवल । पछिल्लो समय भारतबाट नेपाल भित्रिने नेपालीहरुमा कोरोना संक्रमण पुष्टि हुने दर खरायो गतिमा बढिरहेको छ । तर संक्रमितलाई राख्न लुम्बिनी प्रदेशका सीमा नाकामा बन्दै गरेको होल्डिङ सेन्टर निर्माणको काम भने कछुवा गतिमा अघि बढीरहेको छ । एउटा होल्डेङ सेन्टर निर्माणको काम त शुरु नै हुन सकेको छैन ।

सरकारले एक वर्षअघि नै लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर र सुठौलीमा एक/एक हजार क्षमता तथा बाँकेको नेपालगञ्जस्थित जमुनाह नाकामा एक हजार ५ सय क्षमताको होल्डिङ सेन्टर बनाउने घोषणा गरेको थियो ।

एक वर्षको अवधिमा कपिलवस्तुका दुई होल्डिङ सेन्टर मध्ये एउटाको ९० प्रतिशत र अर्कोको ८० प्रतिशत निर्माणको काम पूरा भएको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माको दावी छ । शर्माका अनुसार नेपालगञ्जको होल्डिङ सेन्टरको काम पनि ८० प्रतिशत पूरा भएको छ ।

बेलहियामा होल्डिङ सेन्टर निर्माणको काम शुरु नै हुन सकेको छैन । जग्गा नपाएकाले होल्डिङ सेन्टर बनाउन नसकिएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव खनालको भनाइ छ ।

होल्डिङ सेन्टर नबन्दासम्म निजी होटललाई क्वारेन्टिनका रुपमा प्रयोग गरिने शर्माको भनाइ छ । होल्डिङ सेन्टर निर्माणको काम छिटो पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको प्रदेश सरकारले जनाएको छ ।

लक्षणसहितका संक्रमितको संख्या बढेको खण्डमा होटलहरुलाई क्वारेन्टिनको रुपमा प्रयोग गर्ने तयारी भइरहेको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख खनालको भनाइ छ ।

सीमा नाकामा एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण देखिए उनीहरुलाई शुरुमा होल्डिङ सेन्टरमा राख्ने र सम्बन्धित पालिकासँग समन्वयपछि मात्र पालिकाको आइसोलेसन सेन्टरमा लगेर राख्नुपर्ने प्रावधान छ ।

भारतबाट भित्रिनेहरुमा संक्रमण दर बढेपछि सीमा नाकामा एन्टिजेन परीक्षणलाई तीव्रता दिइएको शर्माले बताए । तर सरकारको आफ्नै होल्डिङ सेन्टर नहुँदा संक्रमितहरुको उचित व्यवस्थापनमा चुनौती थपिएको छ ।

बेलहिया नाकामा एन्टिजेन परीक्षणमा संक्रमण पुष्टि भएपनि लक्षण नदेखिएकालाई सिधै घर जान दिइएको र लक्षण देखिएकालाई अस्पतालमा रिफर गरिएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख खनालले बताए ।

बेलहियामा पुस १ गतेदेखि १६ गतेसम्म करिब ५ हजार जनाको परीक्षण गर्दा ३ सय १७ जनामा जनामा कोरोना संक्रमण देखिएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक नवीन पौडेलले बताए । पुस २० यता दैनिक १५० देखि २५० जनाको एन्टिजेन परीक्षण हुने गरेको उनले बताए ।

प्रहरीले बेलहियासहित अन्य नाका हुँदै नेपाल आउने भारतीय पर्यटकमा पनि एन्टिजेन परीक्षण थालेको छ । बसमा यात्रारत मध्ये एक जनामा पनि संक्रमण पुष्टी भए उक्त बसलाई नाकाबाटै फिर्ता पठाउने गरिएको प्रहरी निरीक्षक पौडेलले बताए । ‘सोमबार मात्रै दुई वटा बसलाई फिर्ता पठायौं’–उनले भने–‘¥याण्डमली चेक गर्दा कुनै एकजनामा देखियो भने तयो सवारी साधन नेपाल प्रवेश गर्न दिन्नौं, फर्काइदिन्छौं ।’

कोरोना कोषलाई १० करोड

कोरोनाको संक्रमणको तेस्रो लहर आउनसक्ने आंकलन गरेर सरकारले यसको नियन्त्रण र उपचारमा खर्च गर्न प्रदेश कोरोना कोषलाई १० करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले बताए ।

कोरोना कोषमा रकम अपुग हुन सक्ने भएकाले व्यवसायिक संघसंस्था,उद्योगी व्यवसायीसँग सहयोगका लागि आह्वान गर्ने सरकारको तयारी छ । लुम्बिनी प्रदेश सरकारले कोरोनाबाट मृत्यु हुने परिवारलाई एक लाखका दरले राहत दिने गरेको छ ।

संक्रमण दर बढेर अस्पताल भर्ना हुने विरामीको चाप बढेको अवस्थामा बुटवल धागो कारखानालाई पुनः कोरोना विशेष अस्पतालका रुपमा सञ्चालनमा ल्याइने मन्त्री थारुले बताए । संक्रमण दर न्यून भएपछि यसअघि धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पताल बन्द गरिएको थियो ।

यस्तै प्रदेशका १२ वटै जिल्लामा कोरोनाको अवस्था अध्ययन र अनुगमन गर्न मन्त्रीहरुकै नेतृत्वमा टोली खटाउने सरकारको तयारी रहेको मन्त्री थारुले बताए ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?