+
+

कास्कीमा मेला महोत्सव नगर्न प्रशासनको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २७ गते २१:३५
पोखरा रंगशालामा भएको एक खेल हेर्न प्याराफिटमा दर्शकहरु ।

२७ पुस, पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले पुनः कोरोना जोखिम बढेको भन्दै निर्धारित कुनै पनि प्रकारका मेला महोत्सव, सभा, सम्मेलन आदि कार्यक्रम स्थगन गर्न सूचना जारी गरेको छ ।

जिल्ला प्रशासन कास्की प्रमुख जयनारायण आचार्यले मंगलबार सूचना जारी गरी भिडभाडजन्य कार्यक्रम स्थगन गर्न आग्रह गरेको हो ।

कोरोना तेस्रो लहर त्राससँगै दैनिक संक्रमितको संख्या बढ्न थालेपछि कोभिड १९० संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले आइतबार नै भिडभाडजन्य कार्यक्रम नगर्ने र सार्वजनिक स्थलमा खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेको थियो । सीसीएमसीको सिफारिससँगै नेपाल सरकारले माघ १५ सम्मका लागि देशभरिका विद्यालयका पठनपाठनसमेत बन्द गर्न निर्देशन दिइसकेको छ ।

कोरोना जोखिम पुनः बढेको भन्दै पोखराको युनाइटेड क्लबले गर्दै आइरहेको पोखरा महोत्सव अनिश्चित समयका लागि स्थगन गरिसकेको छ ।

बुधबार शुरु हुने तय भएको ११ औं संस्करणको उक्त महोत्सव अर्को सूचना नआउञ्जेलसम्म स्थगित गरिएको क्लबका अध्यक्ष राजु श्रेष्ठले प्रेस विज्ञप्तिमार्फत जानकारी दिइसकेका छन् । ‘महोत्सवमा बुक गरिसकिएका स्टल व्यवसायीहरुलाई अर्को सूचना जारी भएपछि पुनः सोही स्टल उपलब्ध गराउने समेत जानकारी गराउदछौं,’ विज्ञप्तिमा भनिएको छ ।

लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्ने लेखनाथ महोत्सव माघ १३ देखि शुरु हुँदैछ । १७ औं संस्करणको उक्त महोत्सव माघ २४ सम्म आयोजना हुने तय छ । त्यस्तै, मोफसलकै चर्चित २० औं संस्करणको आहारारा गोल्डकप माघ ६ देखि सुरु हुँदैछ । पोखरामै अहिले टाइगर ग्रुपले आयोजना गरेको टाइगर कप आमन्त्रित महिलापुरुष भलिबल प्रतियोगिता भइरहेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार गण्डकीमा मंगलबारसम्म ३ सय ५७ जना कोरोनाका सक्रिय संक्रमित छन् । पछिल्लो २४ घन्टामा मात्रै गण्डकीमा १ सय १४ जना संक्रमित थपिँदा एकजनाको मृत्यु भएको छ ।

गण्डकीका कुल सक्रिय संक्रमितमध्ये सबैभन्दा बढी कास्कीका छन् । तथ्यांकअनुसार कास्कीमा मंगलबारसम्म २ सय ६४ जना सक्रिय संक्रमित छन् । गण्डकीका मनाङ र मुस्ताङ जिल्लामामात्रै संक्रमित संख्या शून्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?