+
+

अब भन्सारमा पनि डिजिटल कारोबार, ३० करोडसम्मको राजश्व अफिसबाटै भुक्तानी गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २८ गते १९:५६

२८ पुस, काठमाडौं । पछिल्लो समय नगदरहित कारोबारमा सर्वसाधारणको बढ्दो आकर्षण छ । आफ्नो घर वा कार्यालयमै बसेर वित्तीय कारोबार गर्न सहज हुने भएकाले पनि डिजिटल कारोबारमा सबैको चासो र सहभागिता बढेको छ ।

पछिल्लो समय ठूला-ठूला भुक्तानीहरु समेत विद्युतीय माध्यमबाटै गर्न सकिन्छ । नेपाल क्लियरिङ हाउसले ल्याएको कर्पोरेट पे मार्फत राज्यलाई तिर्नु पर्ने करदेखि ठूला रकमका भुक्तानीहरु समेत घर वा अफिसमै बसेर गर्न सकिन्छ । पछिल्लो समय भन्सार राजश्व तिर्न पनि अनलाइन माध्यमबाटै सकिने भएको छ ।

आयातकर्ता वा निर्यातकर्ता व्यवसायीहरुलाई यो व्यवस्थाले राजश्व तिर्न कार्यालय जानु पर्ने बाध्यता हटेको छ । व्यवसायीहरुले कार्यालयमै बसेर भन्सार राजश्व तिर्न सक्नेछन् ।

भन्सार विभागले वीरगञ्जको सुक्खा बन्दरगाह भन्सार कार्यालयलाई यो सेवा शुरुवात समेत गरिसकेको छ । केहीदिन अघि भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले यसको शुरुवात गरेका थिए । शुरुवातमा विरगञ्ज भन्सारमा यो सुविधा लागू गरिएको छ । तर अब देशभरका सबै भन्सार कार्यालयमा यो सुविधा पुर्याउने तयारी छ । विभागले माघ महीनाभित्र देशका सबै भन्सार कार्यालयमा अनलाइन माध्यमबाटै राजस्व तिर्ने प्रणाली विस्तार गर्ने गरी काम अघि बढाएको छ ।

यो प्रणालीमार्फत प्रयोगकर्ताले नेपाल क्लियरिड हाउसको कनेक्ट आईपीएस, कर्पोरेट पे, एनएचसीएल, सदस्य बैंक तथा वित्तीय संस्था शाखामार्फत पनि सजिलै अनलाइन राजस्व भुक्तानी गर्न सकिनेछ । कनेक्ट आईपीएस मार्फत भुक्तानी गर्न कनेक्ट आईपीएसको वेवसाइट www.connectips.com मा गई युजर बनाएर कम्तीमा एउटा बैंक खाता लिंक गराएर भेरिफाइ गराएको हुनु पर्नेछ । कर्पोरेट पेमार्फत भुक्तानी गर्न आफ्नो बैंक तथा वित्तीइ संस्थाको प्रणालीमा एक पटक इनरोल गर्नुपर्ने हुन्छ । यी बाहेक सदस्य बैंक वित्तीय संस्थाको शाखाबाट पनि अनलाइन भुक्तानी गर्न सकिने व्यवस्था रहेको एनसीएचएलले जनाएको छ ।

के हो कर्पोरेट पे ?

कर्पोरेट पे भनेको बैंक तथा वित्तीय संस्थाका व्यावसायिक ग्राकहरुलाई आफ्नो खाताबाट सहज रुपमा अनलाइन भुक्तानीहरु गर्न सकिने प्लाटफर्म हो । कर्पोरेट पेमार्फत व्यावसायिक ग्राहकहरुले लेनदेनहरुको लागि आवश्यक ‘मल्टि युजर कन्ट्रोल’ सहित कनेक्ट आईपीएसको प्रणाली मार्फत रियल टाइममा तथा आईपीएस प्रणाली मार्फत नन रियल टाइममा समेत बल्क भुक्तानीहरु गर्न सक्नेछन् ।

क्लियरिङ हाउसले बैंक तथा वित्तीय संस्थाका व्यावसायिक ग्राहकहरुलाई लक्षित गर्दै कर्पोरेट पे प्रणाली सञ्चालनमा ल्याएको थियो । कर्पोरेट पे सञ्चालनमा आएदेखि चेक बोकेर बैंकसम्म पुग्नु पर्ने बाध्यताको अन्त्य भएको छ । पछिल्लो समय डिजिटल कारोबारमा राम्रै आकर्षण देखिएको छ । वालेट र कनेक्ट आईपीएस प्रयोगकर्ताहरु धेरै भएपनि ठूला कारोबारका लागि चेक बोकेर बैंकसम्म पुग्नै पर्ने बाध्यता रहेको थियो ।

यो बाध्यता अन्त्य गर्न कर्पोरेट पे ल्याइएको हो । व्यावसायिक ग्राहकहरुले कर्पोरेट पे बाट कारोबार गर्न मिल्ने गरी एनसीएचएलमा बैंक तथा वित्तीय संस्थाका लागि थप च्यालनको रुपमा कर्पोरेट पे उपलब्ध गराइएको छ । जसअन्तर्गत बैंक तथा वित्तीय संस्थाले व्यावसायिक ग्राहकलाई कर्पोरेट पेमा आवद्ध गराएर विभिन्न किसिमका भुक्तानी विद्युतीय माध्यमबाट गर्न सक्ने कम्पनीले बताएको छ ।

वाणिज्य बैंकहरुले प्रदानगर्ने ई–बैंकिङ सेवामार्फत पनि राजस्वतिर्न सकिने भन्सार कार्यालयले बताएको छ । प्रयोगकर्ताले रियल टाइम ट्रान्जेक्सन मार्फत प्रतिकारोबार २० लाख रुपैयाँसम्म र नन रियल टाइम ट्रान्जेक्सनबाट ३० करोड रुपैयाँसम्म भुक्तानी गर्न सक्ने छन् । सेवाग्राहीले भन्सारमा प्रज्ञापनपत्र स्वीकृत भएपछि त्यसका विवरणहरू प्रविष्ट गरी भुक्तानी गर्न सक्ने भन्सारले जनाएको छ ।

यो प्रणालीको प्रयोगबाट राजस्व बुझाउन भन्सार एजेन्टहरूले नगद रकम बोक्नु पर्ने, गुड फर पेमेन्ट चेक तयारीका लागि बैंकमा धाउनुपर्ने लगायतका समस्या झेल्नुपर्ने छैन ।

कसरी तिर्ने भन्सार राजश्व ?

कर्पोरेट पेका माध्यमबाट प्रज्ञापन पत्र सम्बन्धी सबै प्रकारका भुक्तानीहरु गर्न सकिन्छ । निकासीकर्ता वा पैठारीकर्ताले निकासी वा पैठारी गर्ने मालवस्तुको विवरण घोषणा गर्ने फारम नै प्रज्ञापन पत्र हो । प्रज्ञापनपत्र सम्बन्धी प्रक्रिया पुरा गरेपछिमात्र मालवस्तु प्राप्त गर्न सकिन्छ ।
पहिले भन्सारको भुक्तानीका लागि चेक लिएर बैंकमा लाइन बस्नु पर्ने बाध्यता थियो । तर अब अफिसमै बसेर सहजै भुक्तानी गर्न सकिनेछ । अफिसबाटै महशुल भुक्तानी गर्नका लागि केही विधिहरु भने पूरा गर्नुपर्ने हुन्छ ।

‘कर्पोरेट पे’ वा कनेक्ट आईपीएस मार्फत भन्सार विभागको प्रणाली ASYCUDA एनसीएचएल को प्रणालीसँग जोडिएको प्रज्ञापन पत्र सम्बन्धी भुक्तानी गर्न सकिन्छ । विभागको ASYCUDA प्रणालीमा प्रज्ञापन पत्र सम्बन्धी सम्पूर्ण विवरण भरेर प्रक्रिया पूरा गरी प्रणालीबाट केही जानकारीहरु प्राप्त हुन्छ । जस्तो भन्सार कार्यालयको ड्रपडाउन सूची यसमा भुक्तानी गर्नुपर्ने कार्यालय छनोट गर्ने ।

त्यस पछि दर्ता वर्ष भनेको ठाउँमा ASYCUDA प्रणालीबाट प्राप्तवर्ष राख्ने । दर्ताक्रम (ड्रप डाउनसूची) भनिएको ठाउँमा अंग्रेजीअक्षर एम वा एक्स छनोट गर्ने । एम भन्नाले आयात र एक्स भन्नाले निर्यात भन्ने बुझ्नुपर्छ । दर्ता नम्बर भनिएको ठाउँमा भुक्तानीगर्न आवश्यक ASYCUDA प्रणालीबाट प्राप्तनम्बर राख्नु पर्छ ।

उता कर्पोरेट पे मार्फत पनि भुक्तानी गर्न सकिन्छ । यसका लागि भने आफ्नो युजरनेम, पासवर्ड र कर्पोरेट कोड आवश्यक पर्छ । कर्पोरेट पे बाट भुक्तानी गर्न तपाईले कर्पोरेट पेको वेवसाइट https://corporatepay.connectips.com/#/login मा गर्नु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?