
२९ पुस, वीरगञ्ज । पुस २१ गते भारत बिहार घर भई वीरगञ्ज महानगरपालिका–३ छपकैया बस्ने ४५ वर्षीय मुख्तार मिया आफूले चलाउँदै आएको ई–रिक्सासहित हराएका थिए ।
भोलिपल्ट उनकी पत्नीले खोजतलास गरिदिन भन्दै प्रहरीकोमा निवेदन दिइन् । त्यसै दिन नारायणी बयोधा अस्पतालको पछाडि वीरगञ्ज महानगरपालिका–२३ इटिहायीस्थित नहरमा घोप्टो परेको अवस्थामा मुख्तारको शव भेटियो ।
टाउकोमा चोट लागेको, घटनास्थलमा रगत बगेको लगायतका प्रमाण हेरी प्रहरीले उनको हत्या भएको प्रारम्भिक अनुमान गरेको थियो । घटनाको एक सातापछि प्रहरीले मुख्तारको हत्यामा संलग्नको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकामध्ये विहार घर भई छपकैया बस्ने र रिक्सा चलाउने ३० वर्षका सुनील कुमार र बारा परवानीपुर गाउँपालिका–५ का २२ वर्षका निकेश पटेललाई कर्तव्य ज्यान मुद्धामा अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीले जिल्ला अदालतबाट अनुमति पनि लिइसकेको छ ।
त्यस्तै विहार घर भई छपकैया बस्ने ५५ वर्षीय सपन मण्डल, विहार घर भई छपकैयामा होटल व्यवसाय गर्ने ३५ वर्षीय बक्सर भन्ने नाजिर हुसेन र छपकैयाकै ५० वर्षीय बाबर हुसेनमाथि सार्वजनिक शान्तिविरुद्धको कसूरमा अनुसन्धानका लागि अदालतबाट अनुमति लिएको पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।
मृतकसँगको झगडा पश्चातको रिसइवी र आर्थिक प्रलोभनका कारण हत्या भएको प्रहरीको निश्कर्ष छ । ‘सीसी क्यामेराका फुटेजहरुको अध्ययन, प्राविधिक अनुसन्धानको क्रममा तीन जना मिलेर मारेको पाइएको छ । अहिलेसम्मको बयानको आधारमा सपन मण्डलले मार्न लगाएको भन्ने देखिएको छ’ प्रहरी उपरीक्षक बस्नेतले भने ।
प्रहरीका अनुसार सपन र मुख्तार मियाँ एउटै घरमा भाडामा बस्थे । मुख्तारको हत्या भएको केही दिनअघि पनि उनीहरुबीच झगडा भएको थियो । त्यतिबेला सपनले मुख्तारलाई मारेर लास गायब गरिदिन्छु भनी धम्की दिएको खुलेको एक प्रहरी अधिकारी बताउँछन् ।
सपनले मुख्तारलाई झगडा भएको भोलिपल्टै रक्सौल जाने काम छ भनी लान खोजेका थिए । तर मुख्तारले इन्कार गरे । त्यसपछि सपनले पहिले मुख्तार बसेकै घरमा बस्ने र हाल नजिकैको अर्को घरमा सरेका सुनीललाई भेटेर हत्याको योजना बनाए । मुख्तारलाई मारे इ–रिक्सा किनिदिने र ५० हजार रुपैयाँ पनि दिने आश्वासन सपनले सुनीललाई दिएको एक प्रहरी अधिकारीको भनाइ छ ।
सुनीलले पहिले कार्टुन फ्याक्ट्रीमा काम गर्दा चिनेको साथी निकेशलाई बोलाएर योजना बनाए । योजना अनुसार पुस २१ गते साँझ उनीहरु नारायणी अस्पताल अगाडि पुगे । श्रीमतीको ठेलापसल छेउमा इरिक्सा रोकिबसेका मुख्तारलाई भेटे ।
गण्डकबाट गर्भवती महिलालाई नारायणी अस्पतालसम्म ल्याउनु छ ५ सय रुपैयाँ दिन्छौं भनी उनलाई फकाए । इरिक्सा भाडामा लिई दुवै जना घटनास्थलमा पुगे । सुनील पहिले नै घटनास्थलमा लुकी बसिरहेका थिए । उनीहरुले तीनै जना मिलेर फलामको रेन्चुले मुख्तारको टाउकोमा अन्धाधुन्ध प्रहार गरी हत्या गरेका अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए ।
उनीहरुले रेन्चु र रगत लागेको सर्ट घटनास्थलदेखि केही पर फालेका थिए । सुनीलले बाबर र बक्सरको सहयोगमा मुख्तारको इरिक्सा बाराको फेटा गाउँपालिका–४ स्थित पिलाहा सडकमा फाले । प्रहरीले ईरिक्सा पुस २५ गते साँझ बरामद गरेको थियो ।
प्रतिक्रिया 4