+
+

जिपलाइनमा लगानीकर्ताको आकर्षण, देशभर झण्डै एक दर्जन सञ्चालनमा

अच्युत पुरी अच्युत पुरी
२०७८ पुष ३० गते २०:४९
फाइल तस्वीर

३० पुस, काठमाडौं । नेपालमा जिपलाइनको इतिहास लामो छैन । तर, छोटो समयमा सबैभन्दा आकर्षक साहसिक पर्यटकीय उत्पादनका रुपमा जिपलाइनले आफ्नो पहिचान बनाउन सफल भएको छ ।

नेपालका अधिकांश जिपलाइनमा आफ्नो अनुभव लिएका पर्यटन अभियन्ता विष्णुकान्त घिमिरेका अनुसार सबैभन्दा रोमाञ्चक अनुभूति दिने गरी पोखरामा पहिलो पटक सराङकोट डाँडाबाट जिपलाइन शुरु भएको हो । त्यसयता देशभर जिपलाइनको संख्या झण्डै एक दर्जन पुगेको छ । यसमध्ये अधिकांश सञ्चालनमा आइसकेका छन् । केही सञ्चालनको क्रममा छन् ।

अझ रोचक तथ्य के छ भने, जिपलाइनमा व्यवसायी र साहसिक आन्तरिक पर्यटकको सबैभन्दा बढी आकर्षण कोरोना महामारीकै बीचमा देखिएको छ । खासगरी ठूलो जनसंख्या भएको शहर नजिक खुलेका जिपलाइनले मनग्य आम्दानी समेत गरिरहेका छन् । जिपलाइन सञ्चालन गरिरहेका कम्पनीहरुले विभिन्न प्याकेजमा पर्यटक आकर्षित गरिरहेका छन् ।

हाइड्राउण्ड एडभेन्चर : सराङकोट (कास्की)

यो कास्कीको सराङकोट डाँडा ९१५५० मिटरबाट हेम्जामा झर्ने यो जिपलाइन सन् २०१० मा शुरु भएको हो । यो नेपालकै पहिलो जिपलाइन हो ।

१८५० मिटर लामो यो जिपलाइन संसारकै सबैभन्दा भिरालो जिपलाइनमध्ये एक मानिन्छ । जसले गर्दा यहाँ बढी रोमाञ्चकता दिने यो जिपलाइनमा सोही समयमै १० करोड भन्दा बढीको लगानी गरिएको थियो ।

कम्पनीका अनुसार हाइग्राउण्ड एडभेन्चर जिपलाइन अमेरिकी ब्राण्ड जीपफ्लायरको फ्रेन्चाइज भएका कारण समेत यसमा सोही कम्पनीको मापदण्डसँग मेल खाने गरी प्रविधि जडान गरिएको छ ।

धुलिखेल जिपलाइन : धुलिखेल (काभ्रे)

काठमाडौं नजिक खुलेको दोस्रो जिपलाइन धुलिखेल जिपलाइन हो । तीन वर्ष अगाडि सञ्चालनमा आएको यो जिपलाइनले खासगरी काठमाडौं उपत्यकाका युवापुस्तालाई आकर्षित गर्न सफल भएको छ ।

यहाँ पहिलो पटक सुपरम्यान स्टाइल र कपल स्टाइलमा जिपलाइन शुरुवात गरिएको हो । यसको लम्बाई ११ सय मिटर छ ।

केही समय अगाडि यहाँ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जिपलाइन गरेपछि यसको चर्चा अझै चुलिएको थियो ।

गढी जिपलाइन : मकवानपुर

कोरोना भाइरसको महामारी शुरु भइसकेको तर नेपालमा लकडाउन हुनु भन्दा ठ्याक्कै अगाडि सञ्चालनमा आएको हो गढी जिपलाइन ।

मकवानपुर जिल्लाको गढीगाउँपालिका-२, ताप्लाखर्चमा ११ सय मिटर लामो जिपलाइन सञ्चालनमा छ । हेटौडाबाट १८ किलोमिटर लामो यो जिपलाइनको साथमा अन्य पर्यटकीय उत्पादन समेत निर्माण गरिएका छन् ।

देवीस्थान जिपलाइन : भेडेटार (धरान)

मकवानपुरको गढी जिपलाइन र भेडेटारमा एकै पटक जिपलाइन सञ्चालनमा आएको हो । भेडेटारबाट शुरु भएको जिपलाइनको ल्याण्डिङ भने देवीस्थानमा हुने गरी बनाइएको छ । यसको दुरी ६ सय ५० मिटर लामो छ ।

३ करोड रुपैयाँ लगानी रहेको यो जिपलाइनमा ४५ सेकेन्डमा दुरी पार हुन्छ । नेपालको पूर्वी भेगमा खुलेको यो पहिलो जिपलाइन हो ।

हार्नेस जिपलाइन : पर्वत (कुष्मा)

पर्वत पछिल्लो समय साहसिक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । यसमा बन्जीजम्प एउटा उत्पादन हो । सोही बन्जीकै आडमा यसै साता सञ्चालनमा आएको छ, जिपलाइन ।

यो जिपलाइन गत आइतबारबाट शुरु भएको हो । १४८० मिटर लामो यो जिपलाइन कालिगण्डकी नदीको किनारस्थित एडभेन्चर रिर्सोटमा ल्याण्ड हुने गरी बनेको छ । यहाँ प्रारम्भमै सुपरम्यान शैलीको जिपलाइन सञ्चालनमा ल्याइएको छ ।

रिभर फन बिच रिर्सोट : त्रिशुली

१२ वर्षदेखि त्रिशुली नदी किनारमा सञ्चालनमा रहेको रिभर फन बिच रिर्सोटले हालै जिपलाइनको परीक्षण सम्पन्न गरेको छ । यो जिपलाइन छिट्टै व्यवसायिक सञ्चालनमा ल्याउने तयारी छ । यहाँ साढे ५ सय मिटरको जिपलाइन निर्माण गरिएको हो ।

रिभर फनले पृथ्वी राजमार्गको चुमखोलादेखि गोरखाको बुट्टारस्थित रिर्सोटसम्म जिपलाइन राखेको हो । यो जिपलाइनको अधिकांश उडान नदीमाथि हुने छ । १८ मिटर अग्लो पाँचतले टावर निर्माण गरि त्यसको चौथो तलाबाट जिपलाइन गर्न सकिने बताइएको छ ।

त्रिशुली रिभर साइट रिर्सोट : त्रिशुली

त्रिशुली नदी किनारमा खुलेका रिर्सोटमध्ये साहसिक गतिविधिका लागि लगानी गरेको अर्को रिर्सोट हो त्रिशुली रिभर साइट रिर्सोट ।

यहाँ २ सय मिटर लामो जिपलाइन सञ्चालनमा छ । यो रिर्सोटले आफ्नो प्याकेजमा जिपलाइन समेत राखेर बिक्री गर्ने गरेको छ ।

योयो जिपलाइन : ह्याम्पेडाँडा (भक्तपुर)

भक्तपुरको सुर्यविनायक नगरपालिका ७ स्थित पर्यटकीय स्थल घ्याम्पेडाँडामा योयो जिपलाइन सञ्चालनमा आएको छ ।

यहाँ १२ सय मिटर लामो जिपलाइन रहेको छ । पिकनिक स्पटका रुपमा चर्चित यस भेगमा हरेक दिन जसो पालो कुरेरै आन्तरिक पर्यटकले जिपलाइनको अनुभव लिने गरेका छन् ।

काठमाडौंको दृष्यावलोकनसहित यो जिपलाइनको मज्जा लिन सकिन्छ ।

चन्द्रागिरि जिपलाइन : चन्द्रागिरि

प्रारम्भमा १ सय मिटर लामो जिपलाइन चलाएको चन्द्रागिरि हिल्स प्रालिले अहिले यहाँ २ सय मिटर लामो जिपलाइन सञ्चालनमा ल्याएको छ ।

चन्द्रागिरिको भ्रमणमा जाने आन्तरिक तथा बाह्य पर्यटकले यसको मज्जा लिन सक्छन् । यहाँ केही समय अगाडि बाबा रामदेवले यहाँ जिपलाइनको अनुभव लिएका थिए ।

दरवार एडभेन्चर जिपलाइन : नुवाकोट

नुवाकोट दरवारबाट ५ मिनेटको दूरीमै अवस्थित दरबार एडभेन्चर जिपलाइन ऐतिहासिक नुवाकाटे दरबारको भ्रमणमा जानेहरुबीच आकर्षणको केन्द्र बनेको छ ।

१३ सय मिटर लामो यो जिपलाइन समेत कोरोना महामारीकै बीचमा सञ्चालनमा आएको हो ।

कतै निर्माणाधिन, कतै बनिसकेर पनि सञ्चालनमा आउन बाँकी

भक्तपुरको नगरकोटमा समेत जिपलाइन तयार भएको छ । धुलिखेलमा जिपलाइन चलाइरहेका युवा लगानीकर्ताहरुको कम्पनी वर्ल्डवाइड एडभेन्चरले नै नगरकोटमा जिपलाइन बनाएको हो ।

तर, यहाँ नजिकै नेपाली सेनाको तालीम केन्द्र समेत रहेका कारण थप अनुमति लिनु पर्ने भएकाले अहिले जिपलाइन व्यवसायिक सञ्चालनमा नरहेको कम्पनीका प्रवन्ध निर्देशक केदार थापाले जानकारी दिए ।

उनका अनुसार धादिङको सातघुम्तीस्थित ट्राइम्स रिर्सोट (वाइरोड)मा समेत अहिले जिपलाइन जडान भइरहेको छ । सञ्चालनमा भने आएको छैन ।

कास्कीको सराङकोटमा निर्माण सम्पन्न भई सञ्चालनको तयारीमा रहेको केवलकार परिसर भित्र समेत १ सय मिटर लामो जिपलाइन बन्दैछ ।

सामुदायिक वनभित्र पनि जिपलाइन

बुटवलको लक्ष्मी आदर्श सामुदायिक वन उपभोक्ता समितिले जिपलाइन सञ्चालनमा ल्याएको छ । यो सामुदायिक वन क्षेत्र भित्रै सञ्चालनमा ल्याइएको हो । यहाँ डेढकिलोमिटर जिपलाइन बनेको छ ।

यसबाहेक सौराहा, विसंखुनारायण, साँगासहितका क्षेत्रमा समेत जिपलाइन जडान भएका छन् । तर, सामुदायिक वन क्षेत्रलगायतमा जडान जिपलाइनको सुरक्षामा भने प्रश्न उठ्ने गरेको छ । यी क्षेत्रमा जिपलाइन सञ्चालन गर्न पाइने वा नपाइने भन्ने सम्बन्धमा भने पर्यटन विभागले थप निर्णय गरिसकेको छैन ।

कति लाग्छ लागत ?

पछिल्लो समय वर्ल्डवाइड एडभेन्चरका प्रबन्ध निर्देशक थापा र उनको टिमले बढी स्थानमा जिपलाइन जडानमा काम गरिरहेको छ ।

थापाका अनुसार सामान्यतया सबै मापदण्ड पूरा गरी १ हजार मिटर लामो जिपलाइन जडान गर्न डेढ करोड रुपैयाँ जति लगानी लाग्छ । आफूहरुले जडान गर्दा पर्यटन विभागबाट अनुमति प्राप्त जिपलाइनमा मात्र काम गर्ने उनले बताए । साहसिक खेल भएका कारण सुरक्षामा कुनै पनि प्रकारको सम्झौता गर्न नहुने समेत उनको धारणा छ ।

कम्पनीहरुले जिपलाइन चढेको लम्बाइ हेरेर १ हजारदेखि ५ हजार रुपैयाँसम्म शुल्क लिने गरेका छन् । रिर्सोटहरुले प्याकेजमै जिपलाइनको मूल्य समेत राख्ने गर्छन् । जिपलाइनसँगै क्याफे र रेष्टुरेन्टको व्यापार समेत फस्टाउँदा व्यवसायी भने उत्साहित छन् ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?