+
+
संस्मरण :

जति पटक गए पनि धीत नमर्ने कालिञ्चोक

शर्मिला बुढाथोकी शर्मिला बुढाथोकी
२०७८ माघ १ गते १४:५२

खुलेको नीलो आकाश, न तुवाँलो न बादल । मौसम सफाचट् छ । थोरै ठण्डी, जाडो महीनाको विशेषता । दृश्य मनमोहक छ, मन त्यसै–त्यसै रोमाञ्चित अनि प्रफुल्लित ।

कच्ची र पक्की सडकको मिश्रणमा बोलेरो गाडी हुँइकिंदा कट्याक्क निस्किएको आवाज लक्ष्मीको कानले अलि विशेष ठम्याउँछ, सोध्छिन्– दाइ गाडीको कन्डिसन ठीक छ ? हामी कालिञ्चोकको यात्रामा निस्कँदै थियौं । यातायातको विषयमा लक्ष्मीको चासो मेरो लागि अनौठो थियो । लक्ष्मीको सवालमा गंगाले उत्तर फर्काइन्– गाडीको पार्ट–पार्ट थाहा छ लक्ष्मीलाई ।

लक्ष्मीसँगको मेरो पहिलो भेट, हामी पूरै अपरिचित, अन्जान । उनी कहाँकी हुन् के गर्छिन् मलाई कुनै मेसो थिएन । लक्ष्मीको अनुरोधमा गंगा र अस्मिताले तय गरेको यात्रामा म जोडिएकी हुँ । छोटो या लामो दूरीको यात्रा प्रायः पहिले तय गरिन्छ । कहिलेकाहीं चाहिं अनपेक्षित पनि हुने । यो त्यस्तै अनपेक्षित यात्रा थियो ।

लक्ष्मी पहिलो पटक कालिञ्चोकको यात्रा गर्दै थिइन् । हाम्रो यात्रा भने थुप्रै पटक दोहोरिएको हो । कालिञ्चोकका मनोरम दृश्यहरू, जति पटक गए पनि धीत नमर्ने । झन् पहाडका थुम्काहरूमा हिउँको थुप्राले कति चिरिच्याट्ट पारेको । रूखका पात र हाँगाहरूमा झुलेको भुवादार हिउँ विभिन्न आकार बनाएर जमीनमा खस्दा मन नै आनन्दित हुने ।

कच्ची बाटो, धूलोले कपडा रङ्गिंदा समेत लक्ष्मीको मन कत्ति पनि खिन्न थिएन । म सोच्दै थिएँ, काठमाडौंबाट आएको मान्छेलाई अप्ठ्यारो बाटोले दिक्क लाग्नुपर्ने । बाटोमा उडेको धूलो छेक्न अलिकति खोलिदिएको सिसा टमक्क पार्न सबै जना झ्यालको ह्यान्डिल घुमाउँदै थियौं । लक्ष्मीले विगत सम्झिइन्– कहालीलाग्दो भीरको बाटो, ब्याक गर्ने ठाउँ नहुँदा केटी मान्छे भनेर कति हेप्थे मलाई । उनको कुराले प्रष्ट्याउँदै थियो उनी ड्राइभिङ गर्छिन् ।

लक्ष्मी थापामगर, जतिबेला उनको नाम मैले प्रष्ट थाहा पाएँ मेरो मथिङ्गलमा केही संस्मरण झुल्किए । त्यो त्यही नाम थियो जसले कोरोनाले आक्रान्त पारेका मान्छेलाई अस्पताल पुर्‍याउन स्वयंसेवकको रूपमा एम्बुलेन्स चालक बनेर सेवा दिएकी थिइन् । विभिन्न युट्युब तथा अनलाइन मिडियाहरूमा एम्बुलेन्स चालक भएबापत कोरोनाकालमा विभिन्न मानिसले गरेको अपमानले खिन्न हुँदै रोएको भिडियो र समाचारमा मैले देखेको लक्ष्मी थिइन् उनी ।

मान्छे रसिली, छिट्टै घुलमिल हुनसक्ने स्वभावकी । जिज्ञासा जन्माइरहने उनको लवजमा मैले प्रश्नहरू खडा गर्न सकेकै थिइनँ । सवाल विनै घरी–घरी आइरहने प्रसंगले उनको लवजमा केही अभाव, अप्ठ्यारा, दुःख, सुखको छालहरू छल्किरहेथ्यो ।

अभावसँग संघर्ष गर्दा मैले भेटेको खुशीका केही हिस्सा हो आजको दिन, जहाँ म अहिले छु भन्दै थिइन् लक्ष्मी । उनी गफिंदै गर्दा वितेको समयका अप्ठ्यारा पलहरू सम्झिन्छिन् कोरोनाकालमा व्यवसायबाट ठूलो नोक्सान व्यहोरेकी लक्ष्मीको आँटको खम्बा भने कहिल्यै ढलेको छैन । उनी निरन्तर जागिरहेकी छिन्, लागिरहेकी छिन् जिन्दगीको गन्तव्य भेट्न ।

कोरोना कहरका कहालीलाग्दा दिनहरूको स्मृतिमा उनको मथिङ्गल हल्लिंदा आँखाहरू भरिए । तातो रापिलो घाममा पिपिई, ग्लोब्सको अटसपटस अनि हत्केलामा उठेका र फुटेका फोकाहरू । अनगिन्ती पीडाको पहाड चढेकी लक्ष्मी हालको दिनमा खुशीको भर्‍याङबाट आफ्नो दैनिकी चलाउँदै छिन् ।

कोरोना कहरमा एम्बुलेन्सले विरामी बोक्न मानेनन् भन्ने समाचारले लक्ष्मीको मन कुँडिएछ । उनले एम्बुलेन्सको लागि आफूलाई सम्पर्क गर्न अनुरोध गरिन् । तर असहज परिस्थितिमा समाज, आफन्तले पनि उनलाई नजिक रुचाएनन् । सम्झिंदा मन खिन्न हुन्छ– लक्ष्मीको गुनासो छ विगत प्रति ।

लक्ष्मीले समस्यामा परेका मानिसको सेवा गरिन्, सुरक्षा गरिन् । मन तरङ्गित बन्दै गयो उनको पेशा, उनको जाँगर र सेवाभाव सम्झिएर । गाडीले गियर बदलेर कालिञ्चोकको पहाड उक्लँदै गर्दा तरङ्गित मेरो मनको फ्ल्यास ब्याकमा लक्ष्मी आइन् र कालिञ्चोक भगवती पनि ।

मैले कालिञ्चोक भगवतीको किंवदन्ती सम्झिएँ– सत्ययुगमा कालिञ्चोक भगवतीले दानवहरूबाट देवताको रक्षा गरेकी थिइन् र दोलखा राज्यका मानवहरूलाई पनि दानवबाट बचाएकी थिइन् । अनि कलियुगमा लक्ष्मीले गरीब, असहाय मानवको सेवा गरिन् ।

लक्ष्मी असहायको देवता मात्र बनिनन्, महिलाहरूको प्रेरणा पनि बनेकी छन् । उनले दुई बालकलाई आश्रय पनि दिएकी छन् र आफ्नो साहस, मिहिनेत तथा परिश्रमबाट आम महिलालाई प्रेरणा पनि । धैर्य र साहस राख्नुपर्छ जीवनमा आइपर्ने अन्योल छिचोल्न असम्भव छैन – उनी सबैलाई यही भन्छिन् ।

उनको मान्यता– महिलाहरू आत्मनिर्भर हुनको लागि आफूभित्रको इच्छाशक्तिलाई मजबूत बनाउनुपर्छ । अनि जस्तोसुकै होस् सीप सिक्नुपर्छ । उड्ने बाहेक गुड्ने सबै साना–ठूला गाडी चलाउने सीप भएकी लक्ष्मीले थुप्रै मानिसलाई ड्राइभिङ सीप सिकाएर आफूलाई गुरुको रूपमा पनि दर्ज गरेकी रहिछन् ।

जीवन सधैं सहज हुँदैन कहिलेकाहीं परिस्थिति जटिल भइदिन्छ । जे होस् जीवन जिउने कला भए स्वर्ग भेटिन्छ जहीं तहीं । त्यही माथि स्वर्ग जस्तै प्रकृतिले दिएको अनुपम उपहारहरूसँग घुलमिल हुन पाउनु कम्ती आनन्दको विषय होइन– शरीरमा खस्दै गरेको भुवादार हिउँका छिर्कालाई सम्हाल्दै लक्ष्मी बोल्दै थिइन् । कामको थकान, केही झन्झटिला परिस्थितिलाई थाती राखेर गरिएको रमणीय यात्राले जिन्दगीलाई रसिलो बनाउँछ । उनको भाषामा– चिसो र रमणीय दृश्यमा रमाइलो भेट अनि चिल प्रकृतिसँग जीवनको घोल, यसमा खास मज्जा छ, मीठो हुन्छ, रसिलो हुन्छ ।

म हराउँदै गएँ कालिञ्चोकको प्राकृतिक सुन्दरतामा, उनी बोल्दै गइन् जीवनको तथ्य । कति सुन्दर मेल– प्रकृति र जीवनको तथ्य बीच ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?