+
+

कांग्रेसको धनुषा सभापतिमा संस्थापन पक्षबाट सन्तोष यादव उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १ गते १९:४०

१ माघ, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले धनुषा जिल्ला सभापतिको उम्मेदवारमा सन्तोष यादवलाई अघि सारेको छ ।

सभापति शेरबहादुर देउवा पक्षधर नेताहरुको भेलाले यादवलाई सभापतिमा उम्मेदवार बनाउने निर्णय गरेको केन्द्रीय सदस्य रमेश रिजालले जानकारी दिए । उनले पार्टीलाई आउने निर्वाचनमा बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताउदै यसको लागि युवा र काम गर्ने व्यक्तिको आवश्यकता रहेकाले यादवलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको बताए ।

भेलामा बोल्दै कांग्रेस केन्द्रीय सदस्य आनन्द ढुंगानाले अहिले पनि लोकतन्त्रलाई संस्थागत गर्नुपर्ने दायित्व नेपाली कांग्रेसको काँधमा रहेको बताए । उनले नेपाली कांग्रेसको नेतृत्वमा संविधानको सफल कार्यान्वयन र निर्वाचन आवश्यक रहेको धारणा राखे । ढुंगानाले संविधानलाई बलियो बनाउनुका साथसाथै संघीयताको संस्थागत विकासमा समेत कांग्रेसको काँधमा दायित्व आएको बताए ।

कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पार्टी विधि र प्रक्रिया अनुसार चल्नुपर्ने आवश्यकता रहेको औंल्याउदै अहिले लोकतन्त्रको पर्यायवाची नै आफनो पार्टी भएको जिकिर गरे ।

कांग्रेस प्रदेश नम्बर २ का अध्यक्ष कृष्ण यादवले तीनवटै तहको निर्वाचनमा पार्टीलाई कसरी बलियो बनाउने त्यो दायित्व रहेको बताए ।

सभापतिका उम्मेदवार सन्तोष यादवले आफू विजयी भए पार्टीलाई एकतावद्ध बनाएर लैजाने प्रतिवद्धता व्यक्त गरे । यादवले विगतमा पार्टी आफ्नै कमजोरीको कारणले तीन तहको निर्वाचनमा पराजित भएको बताउदै संगठनलाई बलियो बनाउने एक मात्र आफनो अभियान रहने समेत बताए । यता, धनुषा जिल्ला सभापतिमा नेता विमलेन्द्र निधि पक्षबाट योगेन्द्र पंजियारले सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?