
२ माघ, काठमाडौं । भारतमा विषाक्त रक्सी सेवन गर्दा कम्तिमा ८ जनाको ज्यान गएको छ । बिहारको नालन्दा जिल्लामा विषाक्त रक्सी सेवनबाट ८ जनाको मृत्यु भएको हो ।
शनिबार प्रहरीले नालन्दामा अवैध रक्सी सेवनबाट ८ जनाको मृत्यु भएको पुष्टि गरेको छ । मृतकहरू छोटी पलरी र पहार टल्लीका बासिन्दा रहेको प्रहरीको भनाइ छ । शुक्रबार काम गरेर घर फर्किएपछि सँगै रक्सी सेवन गरेका श्रमितको मृत्यु भएको हो ।
नालन्दाका प्रहरी अधिकारी अशोक कुमारले रक्सी सेवनबाट ८ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । विषाक्त रक्सी सेवनबाट अन्य मानिस गम्भीर बिरामी भएका कारण मृतकको संख्या बढ्न सक्ने कुमारको भनाइ छ । ‘२ जनालाई अस्पताल भर्ना गरिएको छ र उनीहरूको अवस्था गम्भीर छ तर बिरामी भएकाको संख्या योभन्दा बढी हुन सक्छ’, कुमारले भने ।
बिहारमा सन् २०१६ को अप्रिलदेखि मदिरामाथि प्रतिबन्ध लगाइएको छ । तर शुक्रबार भएको घटना विगत ६ महिनाको अवधिमा भएको सातौं हो । उक्त अवधिमा विषाक्त रक्सी सेवनबाट ४० भन्दा बढीको ज्यान गइसकेको छ ।
मुख्यमन्त्रीको राजीनामा माग
यसैबीच, मुख्यमन्त्री नीतीश कुमारको गृह जिल्ला नालन्दामा घरेलु रक्सी सेवनबाट मानिसहरूको मृत्यु भएपछि विपक्षी दलले कुमारको राजीनामा मागेको भारतीय समाचार माध्यमले जनाएका छन् ।
बिहारको विपक्षी दल आरजेडीले विषाक्त रक्सी सेवनबाट मानिसको लगातार ज्यान गइरहेको भन्दै मुख्यमन्त्री कुमारले पदबाट राजीनामा दिनुपर्ने बताएको छ । ‘पछिल्लो समय बिहारमा विषाक्त रक्सी सेवनबाट भएको मृत्युपछि पनि नीतीश कुमारको आँखा खुलेको छैन’, आरजेडीका प्रवक्ता शक्ति सिंह यादवले भने, ‘बिहारमा रक्सीमाथिको प्रतिबन्ध पूरा असफल भएको छ र नीतीश कुमारले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4