+
+
Shares

प्रशान्त किशोरको आरोप- बिहारमा सरकारी पैसाले डेढ करोड मत किनियो

‘निर्वाचन आयोगले सहयोग गर्‍यो’

उनले निर्वाचन आयोगमाथि निशाना साध्दै बिहारमा सरकारी पैसाको दुरुपयोग गरेर मत किनिएको र त्यसमा निर्वाचन आयोगले सहयोग गरेको आरोप लगाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २४ गते २१:०८

भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै ककरोच जनता पार्टी(सीजेपी)को आह्वानमा शनिबार दिल्लीमा प्रदर्शन भयो । सो विरोध प्रदर्शनबारे जनसुराजका पार्टीका प्रमुख तथा बिहार विधानसभा सदस्य प्रशान्त किशोरले प्रतिक्रिया दिएका छन् ।

उनले निर्वाचन आयोगमाथि निशाना साध्दै बिहारमा सरकारी पैसाको दुरुपयोग गरेर मत किनिएको र त्यसमा निर्वाचन आयोगले सहयोग गरेको आरोप लगाएका छन् ।

समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै किशोरले पछिल्लो ८ देखि १० वर्षमा समाजको ठूलो हिस्सा निर्वाचन आयोगको काम गर्ने शैली र निर्वाचन सञ्चालन गर्ने प्रक्रियाप्रति असन्तुष्ट रहेको बताए ।

उनले यो विषय मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारमा मात्र सीमित नभई समग्र निर्वाचन प्रक्रियासँग सम्बन्धित रहेको बताए ।

मतदाता नामावली तयार गर्ने, फाराम ६ र ७ मा परिवर्तन गर्ने, विशेष सघन पुनरावलोकन (एसआईआर) मार्फत मतदाताको नाम हटाउने, निर्वाचनको मिति तय गर्ने, आदर्श आचारसंहिता लागु गर्ने, मतगणनामा कथित अनियमितता हुने र पर्यवेक्षक नियुक्त गर्नेजस्ता प्रक्रियामा निर्वाचन आयोग तथा त्यसका अधिकारीले सत्तारूढ दललाई सहयोग गरिरहेको देखिने उनको आरोप छ ।

किशोरले बिहारमा मतदान हुनुभन्दा दुई दिनअघिसम्म सरकारी ढुकुटीबाट प्रतिव्यक्ति १० हजार रुपैयाँ वितरण गरेर जनताको पैसाबाटै जनताको मत किनिएको दाबी गरेका छन् ।

‘एक–दुई लाख होइन, डेढ करोड मत किनियो,’ प्रशान्त किशोरले भनेका छन् ।

उनले यस प्रक्रियामा निर्वाचन आयोग सहयोगी बनेको आरोप लगाउँदै अहिले बिहारको ढुकुटी रित्तिएको दाबीसमेत गरेका छन् ।

‘जनताको पैसाले १० हजार रुपैयाँ दिएर मत किनिएको छ भने त्यस्ता व्यक्तिले जनताको काम किन गर्छन् ?’ उनले प्रश्न गरेका छन् ।

निर्वाचन आयोगकै कारण यस्तो अवस्था सिर्जना भएको आरोप लगाउँदै किशोरले आयोगविरुद्ध आवाज उठ्न थालेको बताए ।

लोकतन्त्रको पुनर्बहाली र सुदृढीकरण चाहने सबै राजनीतिक दल तथा व्यक्तिले निर्वाचन आयोगमा व्यापक र पारदर्शी सुधारको पक्षमा उभिनुपर्ने उनको भनाइ छ । जनसुराज पनि यस्तो सुधारको पक्षमा रहेको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?