२१ वैशाख, काठमाडौं । पश्चिम बंगाल विधानसभा निर्वाचनको मतगणनामा भारतीय जनता पार्टी (भाजपा) ले अग्रता बनाएपछि बिहारका मुख्यमन्त्री सम्राट चौधरीले खुशी व्यक्त गरेका छन् । ‘एक्स’ मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले बंगालका जनतालाई ‘जागरुक र राष्ट्रनिष्ट’ को संज्ञा दिँदै अभिनन्दन गरेका हुन् ।
‘जहाँ श्यामाप्रसाद मुखर्जीको जन्म भयो, त्यो बांल हाम्रो हो,’ चौधरीले लेखेका छन्, ‘पश्चिम बंगाल विधानसभा निर्वाचनमा भारतीय जनता पार्टीलाई ऐतिहासिक जनादेश दिनुभएकोमा बंगालका जागरूक र राष्ट्रनिष्ट जनतालाई हृदयदेखि नै कोटी-कोटी अभिनन्दन ।’
डा. श्यामाप्रसाद मुखर्जी भारतीय राजनीतिका एक प्रभावशाली व्यक्तित्व थिए, जसले सन् १९५१ मा राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) सँग मिलेर ‘भारतीय जनसंघ’ को स्थापना गरेका थिए । पछि यही जनसंघ नै सन् १९८० मा भाजपाका रूपमा पुनर्गठित भएको थियो । भाजपाले मुखर्जीलाई आफ्नो वैचारिक संस्थापक र आदर्श पुरुष मान्ने गर्दछ ।
पश्चिम बंगालको माटोमा भाजपाको यो सुरुवाती अग्रतालाई चौधरीले मुखर्जीको विरासत र राष्ट्रवादी भावनाको जितका रूपमा अर्थ्याएका छन् । हालको रुझान अनुसार भाजपाले बंगालमा स्पष्ट बहुमतको दिशामा अघि बढिरहेको देखिएको छ ।
प्रतिक्रिया 4