+
+

वीरगञ्जलाई प्रदेश–२ को राजधानी बनाउन माग राख्दै मुख्यमन्त्रीको घर अगाडि प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २ गते १४:०६

२ माघ, वीरगञ्ज । वीरगञ्जलाई प्रदेश–२ को स्थायी राजधानी बनाउनुपर्ने मागसहित एक युवा समूहले मुख्यमन्त्री लालबाबु राउतको घर अगाडि विरोध प्रदर्शन गरेका छन् । वीरगञ्ज–१३ तेजारथ टोलस्थित मुख्यमन्त्री निवास अगाडि आईतबार बिहान नाराबाजीसहित प्ले कार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीले वीरगञ्ज राजधानी कायम गर, मुख्यमन्त्री चाहिँदैन, वीरगञ्ज बेच्न पाइदैन, वीरगञ्जबासी जिन्दावादलगायत नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।  पर्सा जिल्लाका विभिन्न स्थानबाट भेला भएका युवाले प्रदेश-२ को राजधानी वीरगञ्जलाई बनाउन मुख्यमन्त्रीले भूमिका निर्वाह गर्नुपर्ने माग राखेका छन् । वीरगञ्जलाई राजधानी बनाउन मुख्यमन्त्रीले लबिङ गर्नुपर्नेमा मौन बसेर जनमतको अपमान गरेको आरोप उनीहरूले लगाएका छन् ।

वीरगञ्जलाई राजधानी नबनाए कडा प्रतिकार गर्ने चेतावनी उनीहरूले दिएका छन् । मुख्यमन्त्री राउतले आफ्नो पद जोगाउन वीरगञ्जलाई धोका दिएर जनकपुरको पक्षमा मतदान गर्न लागेको उनीहरुको भनाइ छ ।

मधेस आन्दोलनमा वीरगञ्जबासीले गरेको योगदानलाई भुलेर मुख्यमन्त्री राउतले जनकपुरलाई राजधानी बनाउन खोजेकोले विरोध प्रदर्शन गरेको युवा नेता सुजित गिरीले जानकारी दिए ।

‘आन्दोलन भयो भने वीरगञ्ज सम्झन्छन्, अवसर दिनुपर्दा विर्ससन्छन् ।’ उनले भने ,‘मुख्यमन्त्रीज्यूले पनि वीरगञ्जवासीको योगदान भुलेका छन्, आँखा खुलाउने उद्देश्यले घर अगाडि नै प्रदर्शन गरेका हौं ।’

मधेसी दलको आव्हानमा पटक-पटक भएको आन्दोलनमा वीरगञ्जले साथ दिएको र हरेक प्रकारले राजधानीका लागि वीरगञ्ज उपयुक्त ठाउँ भएको तर्क उनीहरुको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?