+
+

आधा दर्जन गीत ल्याउँदै रामप्रसाद खनाल, भजन सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २ गते १४:२२
लोकगायक रामप्रसाद खनाल । फाइल तस्वीर

२ माघ, काठमाडौं । झण्डै डेढ दशकदेखि अमेरिका बस्दै आएका लोकगायक रामप्रसाद खनालले आधा दर्जन बढी गीत सार्वजनिक गर्ने तयारी गरेका छन् । हरेक पटक नेपाल आउँदा नयाँ-नयाँ गीत ल्याउँदै आएका उनले यसपटक पनि आधा दर्जन बढी गीत ल्याउने तयारी गरेका हुन् ।

नेपाल आगमनको सन्दर्भमा उनले ७ वटा गीत रेकर्ड गरेका छन् । जसमध्ये एउटा ‘हे कृष्ण हे राम’ बोलको भजन गीत भिडियोसहित सार्वजनिक समेत गरिसकेका छन् ।

‘अरु लोक, दोहोरी, लोक आधुनिक, सेन्टिमेन्टल, सामाजिकदेखि गजलसम्म छन्,’ खनालले भने, ‘यीमध्ये अन्य तीनवटा गीतको भिडियो समेत छायांकन भइसकेको छ ।’

अन्य तीनवटा गीतको पनि चाँडै भिडियो छायांकन गर्ने र क्रमशः सार्वजनिक गर्ने खनालले बताए । छायांकन समेत सम्पन्न भएकोमा एउटा ‘तिम्री आमा, मेरी आमा’ बोलको लोक आधुनिक गीत छ । खनालको शब्द र स्वर रहेको यस गीतमा सुरेश अधिकारीको संगीत छ ।

त्यस्तै, खनाल र सुनिता बुढाक्षेत्रीको स्वरमा ‘एउटा ढुकुर उडिगयो’ बोलको दोहोरी गीतको भिडियो छायांकन सकिएको छ ।

गायक खनालको शब्द, संगीत र स्वर रहेको ‘बग्ने पानीले, मेरो दिल चोरिन् च्यान्टी नानीले’ बोलको लोकगीतको समेत छायांकन सकिएको छ । यसमा गायक खनाल स्वयं र अभिनेत्री रजनी केसीले अभिनय गरेका छन् । केही दिनमा भिडियो सार्वजनिक गर्ने गायक खनालले जानकारी दिएका छन् ।

भिडियो छायांकन हुन बाँकी रहेका गीतमा ‘यस्तै छ यहाँको चलन’ शीर्षकको गजल, ‘बाँकी छ हेर’ शीर्षकको ख्याली गीत र ‘फूल फुलेझैं’ बोलको दोहोरी गीत रहेको खनालले जानकारी दिए । दोहोरी गीत उनले पछिल्लो समयकी लोकप्रिय गायिका शान्तिश्री परियारसँग गाएका छन् । कोरोना संक्रमण बढिरहेकाले छिट्टै बाँकी गीतको भिडियो छायांकन सकेर अमेरिका फर्किने खनालको योजना छ । २ देखि ४ हप्ताको अन्तरमा आफ्ना गीत सार्वजनिक गर्ने खनालले जानकारी दिए ।

खनालले १२ सय बढी गीतमा स्वर दिएका छन् । उनका ४८ वटा एल्बम बजारमा आइसकेका छन् । ‘छाता ओझेल पारिदेऊ बर्खे झरीमा’, ‘देउरालीमा पीपल छायाँले, दिन बिताउनै गाह्रो भो मलाई त पागल भएँ तिम्रै मायाले’, ‘गुल्मी झरेर’, ‘मेरै माया’, ‘माया गाँसौं न’ लगायतका उनका लोकप्रिय गीत हुन् । खनाललाई विशेषगरी टेलिभिजनमा लोकदोहोरीलाई स्थापित गराउने गायकका रुपमा लिइन्छ । नेपाल टेलिभिजनमा उनले सञ्चालन गरेको ‘लोकदोहोरी’ कार्यक्रम निकै लोकप्रिय मानिन्छ । अहिले पनि उक्त कार्यक्रमलाई धेरैले सम्झने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?