+
+

पुनरागमनमा रम्दै विमल, राष्ट्रिय टिममा फर्किने चाहना

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ३ गते ८:१६

३ माघ, काठमाडौं । घुँडाको चोट निको भएपछि शहीद स्मारक ए डिभिजन लिगमार्फत फुटबलमा पुनरागमन गरेका विमल घर्तीमगर अहिले फुटबलमा रम्दै छन् ।

साविक विजेता मच्छिन्द्र क्लबबाट लिग खेलिरहेका २३ वर्षीय विमलको प्रदर्शनमा सुधार भइरहेको छ । सुरुमा सब्सिच्युट खेलाडीको रुपमा मैदान प्रवेश गरेका विमल अहिले पूरै समय मैदानमा बिताउन सक्ने भएका छन् ।

आइतबार ब्रिगेड ब्वाइज विरुद्धको खेलमा मच्छिन्द्रले ४-० को शानदार जित हात पार्दा उनै विमल नायक रहे । पहिलो रोजाइमा खेलेका विमलले दोस्रो हाफमा ६ मिनेट अन्तरमा दुई गोल गरे । अनि अर्को गोलका लागि रेजिन सुब्बालाई सहयोग पनि गरे । त्यही प्रदर्शनका आधारमा उनी ‘म्यान अफ दि म्याच’ घोषित भए ।

बि्रगेड विरुद्ध दुई गोल गरेपछि जारी लिगमा विमलको गोल संख्या ३ पुगेको छ । यसअघि विमलले हिमालयन शेर्पाविरुद्ध गोल गरेका थिए ।

बि्रगेड विरुद्धको खेलमा म्यान अफ दि म्याच बनेपछि विमलले रिकभरी राम्रो भइरहेको र अहिले धेरै समस्या नभएको बताए । ‘पहिले म १५ मिनेट खेल्दै आएकोमा अहिले ९० मिनेट नै खेल्छु,’ विमलले भने, ‘त्यस्तो कुनै समस्या छैन ।’

यस्तै उनले पुनरागमनको विषयमा भने टिम राम्रो भएकाले आफूलाई पनि सहज भएको बताए । ‘मेरो कमब्याक भन्दा मच्छिन्द्र क्लबले जित हासिल गरेको छ । मभन्दा पनि मेरो टिमको प्रदर्शनले गर्दा राम्रो कमब्याक भइरहेको छ,’ विमलले भने ।

विमलले यसअघि २०७६ सालमा मच्छिन्द्रले पहिलो पटक लिग जित्दा त्रिभुवन आर्मीविरुद्धको अन्तिम खेल खेलेका थिए । त्यसबेला एक खेल खेलेर लिग उपाधि जितेका विमलले यस सिजनको लिगका लागि मच्छिन्द्रसँग पुनः अनुबन्ध हुँदा पनि लिगको सुरुआतदेखि नै मच्छिन्द्रका लागि उपाधि रक्षा गर्न मिहिनेत गर्ने बताएका थिए ।

त्यही अनुसार नै मैदानमा विमलले प्रदर्शन गरिरहेका छन् । जारी लिगमा मच्छिन्द्रले खेलेका ९ मध्ये ८ खेलमा विमलले खेलेका छन् । त्यसमध्ये तीन खेलमा पहिलो रोजाइमा खेलेका उनले दुई खेलमा पूरा समयमा मैदानमा बिताए । एक खेलमा भने इन्जुरी टाइममा उनी मैदानबाट बाहिरिएका थिए ।

राष्ट्रिय टिममा पुनरागमनको चाहना

नेपाली राष्ट्रिय फुटबल टिमले यही माघ १५ र १८ गते दशरथ रंगशालामा अफ्रिकन राष्ट्र मरिसससँग दुई मैत्रीपूर्ण म्याच खेल्दैछ । त्यसका लागि मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले बन्द प्रशिक्षणका ३५ खेलाडीलाई बोलाउँदा विमल पनि समावेश छन् ।

बन्द प्रशिक्षणमा बोलाइँदा विमल त उत्साहित हुने नै भए उनका समर्थक पनि खुसी छन् । विमलले लिगमा पनि राम्रो प्रदर्शन गरिरहँदा उनले राष्ट्रिय टिममा कमब्याक गरेको हेर्ने चाहना धेरै समर्थकको छ ।

विमलले पनि राष्ट्रिय टिममा कमब्याक गर्ने चाहना रहेको बताए । ‘नेशनल टिमको लागि क्लोज क्याम्पमा बोलाउनु भएको छ, ट्रेनिङमा बेस्ट गर्दै कमब्याक गर्न चाहन्छु,’ विमलले भने ।

विमल २०१९ नोभेम्बरयता राष्ट्रिय टिम बाहिर छन् । म्यानमारविरुद्धको खेलका लागि उनी पछिल्लो पटक राष्ट्रिय टिममा थिए । त्यसपछि अनुशासन र चोटका कारण राष्ट्रिय टिममा उनको स्थान टाढिएको थियो ।

विमलले सन् २०१२ मा १४ वर्षको उमेरमै बंगलादेशविरुद्ध खेल्दै राष्ट्रिय टिममा डेब्यु गरेका थिए । त्यसको एक वर्षपछि नेपालमै भएको साफ च्याम्पियनसिपमा विमलले पाकिस्तानविरुद्ध अन्तिम समयमा बराबरी गोल गर्दै नेपाललाई हारबाट जोगाएका थिए ।

फोटो : एन्फा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?