+
+

‘म त पर्खेको पर्खै छु’ चलेपछि देवेन्द्र भन्छन्- टिकटकले युट्युब भ्युजलाई फाइदा पुग्यो  

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ३ गते १६:२९

३ माघ, काठमाडौं । गायक देवेन्द्र बब्लुले १० दिनअघि ‘म त पर्खेको पर्खै छु’ बोलको गीत सार्वजनिक गरे । आफ्नै शब्द, संगीत, स्वर र अभिनय रहेको उक्त गीत अहिले टिकटकदेखि युट्युबमा हिट छ । यो गीतलाई युट्युबमा झण्डै १८ लाख पटक हेरिसकिएको छ । कैयौंले यो गीतमा टिकटक बनाएका छन् । गीतलाई स्रोता-दर्शकले रुचाएसँगै देवेन्द्र पनि खुशी छन् ।

एउटा सर्जकलाई आफ्ना हरेक सिर्जनामा आशा हुन्छ । देवेन्द्रले पनि आफ्नो यो सिर्जनालाई स्रोता-दर्शकले रुचाउने आशा लिएका थिए । ‘पक्कै मन पराइदिनुहुन्छ भन्ने कन्फिडेन्ट आएपछि मात्रै म प्रोजेक्ट बाहिर ल्याउँछु,’ उनले अनलाइनखबरसँग भने, ‘मेरा गीतहरु प्रायः विस्तारै विस्तारै पिकअप लिएका छन् ।  यो गीत पनि विस्तारै राम्रो हुँदै जाला भन्ने थियो । तर, अलि छोटो समयमा यति भ्युज पाउला भन्ने चाहिं सोचेको थिइनँ ।’

उनको युट्युब च्यानलमा सार्वजनिकमध्ये छोटो समयमा धेरै भ्युज पाएको गीत पनि हो यो । शब्द र संगीतको तारतम्य मिलेकै कारण उनको यो गीत रुचाइएको लाग्छ ।

‘मानिसले विछोडको पीडामा कस्तो अनुभूति गर्छ ? के कुरा सोच्छ ? त्यसलाई सामान्यतया बोलीचालीको भाषामा जे प्रयोग गर्छन्, त्यही कुरालाई मैले लेख्ने प्रयत्न गरें,’ उनी अगाडि भन्छन्, ‘अर्को चाहिं शायद कम्पोजिसन मानिसलाई अलिकति राम्रो लाग्यो होला ।’

देवेन्द्रले यो गीत हालसालै सिर्जना गरेका भने होइनन् । पहिलो चरणको लकडाउनको समयमा उनले ३/४ महिना आफ्नो घर बागलुङको धम्जामा बिताएका थिए । सोही समयमा यो गीत सिर्जना भएको देवेन्द्र सुनाउँछन् । त्यसबेला लकडाउन कहिले खुल्ने ? माहोल कहिले सहज हुने कसैलाई थाहा थिएन । उनले छिमेकी आन्टीले विदेशमा रहेका श्रीमानलाई फोन गरेको सुने, ‘समय यस्तै भइरह्यो, कोभिड हटेन भने हामी त भेट भइन्न होला है ! म त पर्खेको पर्खै त होला नि ? ।’ देवेन्द्रले पनि त्यस्तै सोचे ।

उनी सुनाउँछन्, ‘उहाँले हाँसी हाँसी बोलेको कुराले मलाई छोयो । अनि मोबाइलको मेमोमा टिपें, म त पर्खेको पर्खै छु ।’ केही समयपछि काठमाडौं आए । काठमाडौं आएपछि अरु सिर्जनाहरु बाहिर ल्याए ।

अहिले नयाँ के सिर्जना ल्याउँ भनेर सोचिरहेको समयमा उनले मोबाइलमा टिपेको ‘म त पर्खेको पर्खै छु’ सम्झे । त्यसपछि यसलाई प्रेम–विछोडको कथामा ढालेर पूरा गरेको उनी बताउँछन् । विशाल घिमिरेको निर्देशन गरेको यो गीतको भिडियोमा उनीसँगै रोशनी कार्की र दीप सागरले अभिनय गरे । अनिल के मानन्धरको छायांकन, नवीन घर्ती मगरको सम्पादनमा भिडियो तयार भयो ।

भनिन्छ, पछिल्लो समय गीतले युट्युबमा राम्रो भ्युज पाउन पहिले टिकटकमा हिट हुनुपर्छ । टिकटकमा सानो अंश रुचाएपछि युट्युबमा भिडियो खोजेर हेर्नेहरु बढ्छन् । देवेन्द्र पनि यो कुरामा सहमत छन् । उनी टिकटक पछिल्लो समय गीत प्रमोसनको माध्यम बनेको बताउँछन् ।

आफ्नो गीत ‘म त पर्खेको पर्खै छु’लाई पनि टिकटकले फाइदा पुर्‍याएको उनको बुझाइ छ । देवेन्द्रले अनलाइनखबरसँग भने, ‘टिकटकमा गीतलाई मन पराइयो । अनि स्रोता-दर्शकलाई गीत आएछ भनेर जानकारी भयो । त्यसपछि युट्युबमा गीत खोजेर हेर्नेहरु बढ्नुभयो । त्यसले युट्युब भ्युजलाई प्लस गर्‍यो ।’

यसअघि ‘म हाँसे हाँस्छौ र ?’, ‘भेटै हुन्न कि ?’, ‘मनमाया’ जस्ता गीतबाट स्रोता–दर्शकको मन जितेका देवेन्द्रले केही साताअघि मात्रै ‘साइँला साइँली’ बोलको गीत ल्याएका थिए । अब भने तत्कालै नयाँ सिर्जना ल्याउने आफ्नो योजना नरहेको उनले बताए । कोरोना संक्रमण दर फेरि बढेसँगै सांगीतिक क्षेत्रमा पुनः अन्योल सिर्जना भएको उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?