
४ माघ, काठमाडौं । आरआर फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा अभिनेता आर्यन सिग्देल अनुबन्धित भएका छन् । आर्यन र निर्माण टिमबीच सोमबार चलचित्रका लागि सम्झौता भएको हो ।
हालसम्म नाम तय नगरिएको यो चलचित्रलाई मधुसुदन भट्टराईले निर्देशन गर्दैछन् । चलचित्रलाई एक्सन र लभ स्टोरी जनरामा निर्माण गर्न लागिएको निर्देशक भट्टराईले जानकारी दिए । भट्टराई चलचित्र ‘हामी तीन भाइ’ पनि निर्देशन गर्ने तयारीमा छन् ।
‘हामी तीन भाइ’को छायांकन सकिएपछि आर्यनसँगको चलचित्रको काम शुरु हुने उनले बताए । ‘हामी यो चलचित्रको सम्पूर्ण छायांकन युरोपमा गर्दैछौं । चलचित्रका लागि नायिका र अन्य कलाकार केही दिनमा नै फाइनल हुनेछन्,’ उनले भने ।
यसअघि चलचित्र ‘डिसेम्बर फल्स’को छायांकन सकाइसकेका आर्यनले कविराज गहतराजको निर्देशनमा बन्ने चलचित्र ‘मिरर’ पनि साइन गरेका छन् । एक दशक अगाडिसम्म चलचित्र क्षेत्रमा राज गरेका आर्यनको स्टारडम केही वर्षयता भने खस्किएको छ ।
प्रतिक्रिया 4