+
+

बैठकमा बस्न नदिएपछि निगमका तीन सञ्चालकले जनाए आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ७ गते १६:५७

७ माघ, काठमाडौं । नेपाल वायुसेवा निगम ( नेपाल एयरलाइन्स)का महाप्रवन्धक तथा सञ्चालक डिमप्रसाद पौडेल र सञ्चालकद्वय इश्वरी पौडेल र फुर  ग्याल्जे शेर्पाले सञ्चालक समितिको बिहीबारको बैठकमा पनि प्रवेश पाउन सकेनन् । बैठकस्थलमा लामो समयदेखि निगमका कर्मचारीहरुको अवरोध छ, त्यसमा निगम व्यवस्थापनदेखि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेसम्मको मौन समर्थन रहेकाले तीनै सञ्चालकहरु बैठकमा पुग्न नै पाएका छैनन् ।

यअसघिको एमाले नेतृत्वको सरकारमा योगेश भट्टराइ पर्यटनमन्त्री हुँदा उनीहरु निगममा सञ्चालकका रुपमा भित्र्याइएका थिए । पौडेल र शेर्पाले विगतमा अन्य निजी हेलिकोप्टर कम्पनीमा काम र लगानी गरेको भन्दै निगमका कर्मचारीले उनीहरुमाथि ‘स्वार्थ समूह’को आरोप लगाउँदै आएका छन् ।

पर्यटनमन्त्री प्रेम आले र कार्यकारी अध्यक्ष युवराज अधिकारीले विवाद समाधानमा चासो दिएका छैनन् । बरु बैठकमा जना नपाएका सदस्यहरुले आफूहरुहरुमाथि भइरहेको अवरोधमा नेतृत्वबाटै मलजलको काम भइरहेको आरोप लगाएका छन् ।

तीन जना सदस्य बैठका पुग्न नपाउँदा नियमित बैठक समेत प्रभावित छ । बिहीबारको बैठक समेत विना निष्कर्ष सकिएको छ ।  निगमका कर्मचारीले निगमसँग स्वार्थ जुध्ने भन्दै तीन जना सञ्चालकलाई नै निगमको कार्यालयमा प्रवेश गर्न रोक लगाएका छन् ।

बिहीबार बैठकमा प्रवेश नपाएका तीन सदस्यले कार्यकारी अध्यक्षलाई पत्र लेख्दै सञ्चालक समितिले अगाडि बढाएका विभिन्न एजेण्डामा आफ्नो असहमति व्यक्त गरेका छन् । निगमको गेटमा कार्यकारी अध्यक्षले आफ्नो खर्चमा तीन वटा अलग-अलग काला ब्यानर राख्न लगाएको भन्दै उनीहरुले गेटमा पुगेर पनि छिर्ने वातावरण नभएको पत्रमा उल्लेख गरेका छन् ।

बिहीबार कुल २८ वटा प्रस्तावमा छलफल गर्ने गरी एजेण्डा तोकिएको थियो । सञ्चालक समितिका सदस्यहरुलाई निषेध गरि गरिने बैठकको निर्णय अवैध मानिने भन्दै उनीहरुले कार्यकारी अध्यक्षलाई सचेत समेत गराएका छन् । बिहीबारको बैठकमा अर्थ र पर्यटन मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सञ्चालक समिति सदस्यले समेत सोही सन्दर्भ निकालेपछि कुनै निर्णय भने लिन सकेन ।

पर्यटन मन्त्री प्रेम आलेले पर्यटन मन्त्रालयबाट निगमको पुनसर्ंरचनासम्बन्धी प्रक्रिया रोकेका छन् । यो निर्णय संचालक समितिमा पढेर सुनाइएको थियो ।

तर, आर्थिक ऐनले नै यसबारे स्पष्ट बोलेको भन्दै सञ्चालक समिति सदस्हरुले असहमति जनाएका छन् । विमानको इन्जिन बनाउने मर्मत कम्पनी ‘एमआरओ’ छनोटको विषय अदालतमा विचाराधीन रहेको तथा सार्वजनिक लेखा समितिको समेत निर्देशन हुँदाहुँदै यसलाई एजेन्डामा राखिएको भन्दै संचालक समितिले असहमति राखेका छन् ।

आफ्ना कर्मचारीबाटै निगमले राम्रो नाफामा उडान गरेको जापान, मलेसिया र हङकङमा एजेन्ट नियुक्तिको एजेण्डामा समेत उनीहरुले विरोध गरेका छन् ।

तीन संचालक समिति सदस्यले निगमको दुरगामी हितमा असर पुग्ने कुनै पनि काम नगर्न सचेत समेत गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?