+
+

बैंकमा कोरोना : ६ हजार कर्मचारीमा संक्रमण, सयभन्दा बढी शाखाको सेवा ठप्प

रोयल आचार्य रोयल आचार्य
२०७८ माघ ९ गते १६:५९

९ माघ, काठमाडौं । कोरोना महामारीको तेस्रो लहरका कारण देशभरको बैंकिङ तथा वित्तीय सेवा प्रभावित हुन थालेको छ । बैंकका कर्मचारीहरुमा संक्रमणदर बढ्दै मात्रै गएको छैन, सबैजसो कर्मचारी संक्रमित भएपछि बैंकहरुका थुप्रै  शाखाले त सेवा नै बन्द गर्नु परेको छ ।

राष्ट्रिय वाणिज्य वाणिज्य बैंकको सुर्खेत शाखा कार्यालयमा कार्यरत सुरक्षा गार्डलाई गत २ माघमा कोरोना संक्रमण पुष्टि भयो । बैंकको सबैभन्दा फ्रन्टलाइन (पहिलो घेरा) मा रहेका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि अन्य कर्मचारीहरुलाई पनि परीक्षण गरियो । कोरोना परीक्षण गर्दा अन्य कर्मचारीहरु पनि संक्रमित भए । राष्ट्रिय वाणिज्य बैंकको सुर्खेत शाखामा १८ जना कर्मचारीहरु कार्यरत छन् । पटक-पटकको परीक्षणमा १८ मध्ये १४ जना कर्मचारीहरुमा संक्रमण पुष्टि भयो । बाँकी चार जनामा पुष्टि नभए पनि केही संकेत भने देखिएको थियो । बैंकका शाखा प्रमुखसहित अधिकांशमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय नै बन्द गर्नुपर्‍यो । तीन दिन पूर्णरुपमै शाखा कार्यालयहरु बन्द भयो । चौथो दिनको दिन भने २/३ जना कर्मचारीहरु राखेर केही सीमित सेवाहरु मात्रै प्रवाह गरेको बैंकले जनाएको छ ।

नेपाल बैंकर्स संघको तथ्यांकअनुसार राष्ट्रिय वाणिज्य बैंकका १६ वटा शाखा कार्यालयहरु कोरोना संक्रमणका कारण पूर्ण बन्द रहे । राष्ट्रिय वाणिज्य बैंक आफैले दिएको जानकारी अनुसार आइतबार पनि १५ वटा शाखा कार्यालयहरु पूर्ण रुपमा बन्द रहनेछन् । प्रदेश १ को विराटनगर र बसन्तपुर शाखा बन्द छन् भने मधेश प्रदेशका कठौंना, ईश्वनाथ, राजविराज र लाहान शाखा बन्द छन् ।

यसैगरी बागमती प्रदेशका भरतपुर, कोटेश्वर, बलम्बु साथै गण्डकी प्रदेशका भच्चेक, फलेवास, बेनी, कुश्मा, आबुखैरेनी, तालचोक शाखा कार्यालयहरु आइतबार बन्द छन् । सुदुरपश्चिम प्रदेशको मंगलसेन शाखा कार्यालय समेत आइतबार बन्द रहने बैंकले वेबसाइटमार्फत जानकारी दिएको छ ।

नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माका अनुसार आइतबारसम्म करिब ६ हजार बैंकका कर्मचारीहरु संक्रमित छन् । विहीबारसम्मको तथ्यांकअनुसार ६७ शाखा कार्यालयहरु पूर्ण रुपमा बन्द थिए । तर आइतबार यो बढेर सय नाघेको कार्यकारी निर्देशक शर्माले बताए । बैंकका सबै कर्मचारीहरुलाई संक्रमण पुष्टि भएपछि ती शाखा कार्यालयहरुबाट बैंकिङ सेवा नै ठप्प छन् ।

हालसम्म नबिल बैंकको सबैभन्दा धेरै शाखा कार्यालयहरु बन्द छन् । संघले दिएको जानकारी अनुसार १९ वटा शाखा कार्यालयहरु कोरोनाका कारण बन्द गर्नु परेको छ । आइतबारको तथ्यांक भने अपडेट भइसकेको छैन । उता एनआईशी एशिया बैंकका पनि कतिपय शाखा कार्यालयहरु बन्द छन् । प्राइम कमर्सीयल बैंकको चावाहिल शाखा कार्यालय पनि बन्द छ । ग्लोबल आइएमई बैंकको बानेश्वरमा रहेको शाखा कार्यालय समेत बन्द गर्नु पर्ने अवस्थामा पुगेको थियो । यी बैंकहरु प्रतिनिधिमात्रै हुन् । सञ्चालनमा रहेका २७ वट वाणिज्य बैंकहरु सबै कोरोनाका कारण निकै ठूलो समस्यामा छन् । कतिपय शाखाहरुबाट पूर्ण सेवा नै बन्द गर्नु पर्ने अवस्थामा पुगेको छन् भने कतिपय बन्द हुने सम्भावना देखिएको छ ।

जताततै संक्रमण

‘क’ वर्गका वाणिज्य बैंकहरुमात्रै होइन ‘ख’ वर्गका विकास बैंक, ‘ग’ वर्गका फाइनान्स कम्पनीहरु र ‘घ’ वर्गका लघुवित्तहरुमा समेत कोरोनाका कारण सेवा प्रवाहमा समस्या छ । विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष प्रद्युमन पोखरेल अहिले धेरै बैंकका कर्मचारीहरुमा संक्रमण देखिएको बताउँछन् । सकेसम्म उच्च सुरक्षा सावधानी अपनाएर विकास बैंकहरुले सेवा दिइरहेको उनले बताए ।

वाणिज्य बैंकहरु जस्तै केही विकास बैंकका शाखा कार्यालयहरु पनि संक्रमणका कारण बन्द गर्नुपर्ने अवस्था रहेको उनले बताए । कतिपय बैंकहरुमा कर्मचारी परिवर्तन गरेर पनि सेवा दिनु परेको उनले सुनाए ।

‘यतिसम्म छ की एउटा शाखामा संक्रमित भेटियो, उसलाई आइसोलेसनमा राखेर त्यहाँ अर्को कर्मचारी पठाइयो’  उनले भने, ‘ तर, त्यहाँ गएका कर्मचारीहरुमा पनि संक्रमण पुष्टि भयो ।’

अहिले धेरैलाई संक्रमणले समस्यामा पारेको भन्दै उनले सबैले जोगिएर काम गर्नुको विकल्प नरहेको सुनाए ।

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?