+
+

रोनिश, जो सडक कुकुरलाई खुवाउनका लागि सडकमा गीत गाउँछन्

सम्झना विक सम्झना विक
२०७८ माघ १० गते १७:५८

१० माघ, काठमाडौं । काठमाडौं खुसिबुका २१ वर्षीय रोनिश खड्गी कुकुर भनेपछि हुरुक्कै हुन्छन् । उनी कुकुरलाई आफ्नो नजिकको साथी मान्छन् ।

‘कुकुरले मानिसलाई हरेक कुरामा सहयोग गर्छ । मानिस स्वार्थी हुन्छ, तर कुकुर कहिले स्वार्थी हुँदैन,’ रोनिश भन्छन् । सेन्ट जेभियर्स कलेजमा स्नातक तहमा अध्ययनरत रोनिश कलेजपछि बचेको समयमा पठाओ पनि चलाउँछन् ।

पकेट खर्चका लागि पठाओ राइडर बनेका उनी त्यसबाट आएको पैसा पनि कुकुरकै लागि खर्च गर्छन् । उनले पठाओबाट आएको कमाइले कुकुरतिहारको अवसरमा एक सयभन्दा बढी कुकुरहरुलाई खाना खुवाउने काम गरे । यसमा उनका साथीहरुले पनि सहयोग गरे ।

कुकुरप्रेमी रोनिश भन्छन्, ‘मेरो यो सानो प्रयास हो । मान्छेहरुले भन्छन् एक दिन खुवाउँदैमा के हुन्छ भनेर । अहिले पैसा छैन, भर्खर स्नातक पढ्दै छु । त्यसैले सोचेजस्तो गर्न पाएको छैन ।’

रोनिशलाई कुकुर जति प्रिय लाग्छ, संगीतका पनि उस्तै पारखी हुन् उनी । संगीत मन पराउने साथीहरुको समूहले नै कुकुरलाई खाना खुवाउने अभियान थालेका छन् । उनीहरुले अंग्रेजी नयाँ वर्षको अवसर पारेर सांगीतिक कार्यक्रम मार्फत स्वयम्भूदेखि वसन्तपुरसम्मका १५० वटा सडक कुकुरलाई खाना खुवाए ।

हिजोआज कुकुर पाल्ने धेरै बढेका छन् । कुकुरलाई पनि आफ्नै सन्तानलाई जस्तै माया गरेर राखेको देखिन्छ । तर सौखिनहरुले त्यसरी पालेका कुकुर रैथाने हुँदैनन्, ती सबै महँगा विदेशी जातका हुन्छन् । सडकमा रहेका कुकुरको व्यवस्थापन सम्बन्धित निकायले गर्नसक्ने जति पनि नगरेकोमा रोनिशको चित्त दुख्छ । ‘महानगपालिकासँग बजेट हुन्छ, तर उसले नागरिकलाई गर्नुपर्ने जिम्मेवारी त पूरा गर्न सकेको छैन भने सडकका कुकुरलाई त के गर्छ र ?’ दिक्क मान्दै उनी भन्छन् । मानिसहरुले सडक कुकुरलाई ‘भुसिया कुकुर’ भनेर पानी छ्याप्ने, कुट्ने, लखट्ने गरेको देख्दा उनको मन खिन्न हुन्छ ।

रोनिशको भविष्यको सपना पनि सडक कुुकुरको व्यवस्थापनमा काम गर्ने छ । कोरोना संक्रमण बढेपछि सडकमा रहेका कुकुरलाई खुवाउन तथा उपचार गर्न सहयोग संकलन गर्ने कार्य रोकिएको छ । साथीहरुको सहयोगमा ‘डोनेसन फर डग’का नाममा उनीहरुले सांगीतिक कार्यक्रम गर्दै आएका थिए । जसबाट उनले कुुकुरका लागि आवश्यक रकम जोहो गर्दथे । तर अहिले सरकारले सार्वजनिक स्थानमा भेला हुन रोक लगाएपछि उनी पनि केही समयका लागि रोकिनुपर्ने अवस्था आएको छ । सार्वजनिक स्थानमा भेला हुन रोक लगाएको बेला अनलाइनमार्फत सहयोग संकलन गर्ने उनको योजना रहेको छ ।

रोनिशले आफ्नो कलेजका विद्यार्थी साथीहरुसँग सक्ने जति सहयोग उठाउँछन् र त्यो पैसा कुकुरका लागि खर्चिन्छन् । पढाइसँगै पठाओ राइड गर्ने रोनिश स्थानीय सरकारसँग मिलेर सडकका कुकुरको संरक्षण र बासस्थानको व्यवस्था गर्ने योजना रहेको सुनाउँछन् ।

रोनिश भन्छन्, ‘हाम्रो सुरक्षा गर्दै आएको कुकुरको सुरक्षा हामीले गर्नुपर्छ । निर्दोष प्राणी कुकरलाई हामीले गर्ने व्यवहार बदल्नुपर्छ । कुट्ने, पिट्ने र लखट्ने काम बन्द गरी कुकुरलाई माया र संरक्षण दिनुपर्छ ।’

तस्वीरहरु : रोनिश खड्गीको फेसबुकबाट

लेखकको बारेमा
सम्झना विक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?