+
+

ग्रिसमा अलपत्र शव एनआरएनको सहयोगमा नेपाल पठाइँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ११ गते ७:४२

११ माघ, बार्सिलोना। ग्रिसमा अलपत्र परेका दुई नेपालीको शव अन्तत: नेपाल पठाइने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को सहयोगमा यथाशीघ्र नेपाल पठाउन लागिएको हो ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सहकोषाध्यक्ष लोकप्रसाद दाहालका अनुसार ७ हजार २०० युरो संकलन गर्दै  ग्रिस पठाइएको छ ।

टर्कीबाट अवैध रुपमा ग्रिस जाँदा मंसिर पहिलो साता गाडी दुर्घटनामा परेर चार नेपालीको मृत्यु भएको थियो ।

‘हामीले आवश्यक रकम एजेन्सीलाई बुझाइसकेका छौं’ सहकोषाध्यक्ष दाहालले भने, ‘ ग्रिसमा अहिले अत्याधिक हिउँ परिरहेको छ । यदि उडान प्रभावित नभएमा शनिबार ग्रिसबाट नेपाल पठाउने योजना छ।’

दुर्घटनामा मृत्यु भएका आमाछोदिङमो गाउँपालिका-३ रसुवाकी २१ वर्षीया शर्मिला भनिने रमिला घले र घिरिङ गाउँपालिका-५ तनहुँका ओम भनिने उमबहादुर थापामगरका परिवारजनले शव पठाउन सहयोगका लागि एनआरएनएलाई गुहारेका थिए ।

टर्कीसम्म श्रम स्वीकृत लिएर आएको भन्दै अन्य दुई जनाको खर्च भने श्रमिक कल्याणकारी कोषको रकमबाट नेपाल सरकारले ब्यहोरेको थियो । भीमेश्वर नगरपालिका-६ दोलखाका ३० वर्षीय राजु लामा र गौरीगंगा नगरपालिका-४ कैलालीका ३७ वर्षीय लक्ष्मण सापकोटाको शव बुधबारसम्म नेपाल पुग्ने नेपाली राजदूतावास भियानाले जनाएको छ ।

बाँकी दुईजनाको शव नेपाल पठाउन एनआरएनएले रकम संकलन कार्यको संयोजन गर्न सहकोषाध्यक्ष दाहाललाई जिम्मेवारी दिएको थियो । बेल्जियम निवासी व्यवसायीसमेत रहेका दाहालले ५०० युरो सहयोग घोषणा गर्दै रकम संकलन अभियान सुरु गरेका थिए ।

दाहालका अनुसार गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदबाट २ हजार डलर, एनआरएन वैदेशिक रोजगार कल्याणकारी कोषबाट २ हजार डलर, संघका सचिव गौरी जोशीमार्फत ५ सय डलर, आरके शर्मा ५ सय डलर,राज रेग्मी ५ सय डलर लगायतबाट सहयोगको प्रतिवद्वता आईसकेको छ। हालसम्म ६ हजार ९ सय २३ युरोको सहयोग प्रतिवद्वता आएको छ।

युरोपमा रहेका विभिन्न एनसीसीहरूमा पनि रकम संकलन भएको थियो । त्यसको सम्पूर्ण विवरण आउँन बाँकी नै रहेको दाहालले जानकारी दिए ।

ग्रिस नेपाल सोसाइटीका संस्थापक अध्यक्ष कृष्ण पोखरेलले शव नेपाल पठाउने प्रक्रियामा समन्वय गरेका छन् ।

विगत २५ वर्षदेखि ग्रिसमा बस्दै आएका पोखरेललाई शव नेपाल पठाउने प्रक्रियाका सहयोग गर्न भन्दै नेपाली राजदूतावास भियनाले अख्तियारी प्रदान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?