+
+

प्रकाशको पर्खाइ

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ११ गते १६:५०
गायक प्रकाश सपूत । फाइल तस्वीर

११ माघ, काठमाडौं । कोरोना महामारी हुँदैनथ्यो त लोकप्रिय गायक प्रकाश सपूतलाई दर्शकले सिनेमा हलको पर्दामा हेरिसकेका हुन्थे । उनको पहिलो चलचित्र ‘परदेशी २’ निर्माण सम्पन्न भएको लामो समय भइसक्दा पनि कोरोना महामारीका कारण प्रदर्शन हुन नपाउँदा दर्शकहरुले उनलाई ठूलो पर्दामा हेर्न पाएका छैनन् ।

‘परदेशी २’ २०७७ सालको दशैंमा प्रदर्शन गर्ने योजनाका साथ छायांकन शुरु गरिएको थियो । तर कोरोना महामारी शुरु भएपछि चलचित्रको छायांकन नै बीचमै रोक्नुपर्‍यो । कोरोना संक्रमण घटेपछि २०७७ को दशैंपछि बल्ल चलचित्रको छायांकन पूरा भयो । निर्माणपक्षले यसै वर्षको दशैंमा चलचित्र प्रदर्शन गर्ने सोच बनाएको थियो, तर त्यसबेला चलचित्र प्रदर्शनमा आउन पाएन । ‘परदेशी २’लाई अब आगामी दशैंमा रिलिज गर्ने निर्माणपक्षको योजना छ ।

गीत–संगीत र म्युजिक भिडियोमा राम्रो काम गरेको भनेर प्रशंसा पाइरहेका प्रकाशले चलचित्रमा गरेको कामको भने परीक्षण हुन बाँकी नै छ । यद्यपि, उनले ‘परदेशी २’मा राम्रो काम गरेको चलचित्रका कलाकारहरुले बताउँदै आएका छन् ।

केही समय एक म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा अभिनेत्री केकी अधिकारीले प्रकाशको कामको खुलेर प्रशंसा गरेकी थिइन् । त्यसबेला केकीले सांगीतिक क्षेत्रमा सबैको मन जितेका प्रकाशले चलचित्रमा पनि निकै राम्रो काम गरेको बताएकी थिइन् ।

‘परदेशी २’ मा शीर्ष भूमिकामा रहेकी केकीले भनेकी थिइन्, ‘चलचित्रमा उहाँले निकै राम्रो काम गर्नुभएको छ । कोरोना महामारी नभएर निर्धारित मितिमै चलचित्र प्रदर्शनमा आएको भए शायद अहिले उहाँ अन्य चलचित्रमा आवद्ध भइसकेको हुनुहुन्थ्यो ।’

शायद, प्रकाशलाई पनि त्यस्तै लागेको हुनसक्छ । चलचित्रमा अभिनय गर्ने प्रकाशको सानैदेखिको सपना थियो । सांगीतिक क्षेत्रमा आउनुअघि उनी चलचित्रको ‘हिरो’ बन्ने सपना बुनेका थिए । तर समयले उनलाई सांगीतिक क्षेत्रमा स्थापित गरायो ।

‘परदेशी २’मा मुख्य अभिनेताको रुपमा अभिनय शुरु गर्दा उनले शायदै सोचेका थिए, आफ्नो पहिलो चलचित्र हेर्न लामो समय कुर्नुपर्ला भनेर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?