+
+

केएमसी र नोबेलविरुद्ध विद्यार्थीको आन्दोलन स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ११ गते २०:०८

११ माघ, काठमाडौं । चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरूबाट असुलिएको अतिरिक्त शुल्क फिर्ता हुनुपर्नेलगायत माग राखेर आन्दोलनरत विद्यार्थी संगठनहरूले काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजविरुद्धको आन्दोलन स्थगित गरेका छन् ।

काठमाडौं विश्वविद्यालय प्रशासन अतिरिक्त शुल्क सम्बन्धित विद्यार्थीकै नाममा फिर्ता गर्ने, छात्रावासलाई स्वेच्छिक गर्ने तथा होस्टल शुल्क र अतिरिक्त शुल्क नबुझाए बापत पठनपाठनलगायत सुविधाबाट बञ्चित रहँदै आएका विद्यार्थीहरूलाई निःशर्त कक्षामा सामेल गराउन तयार भएपछि विद्यार्थी संगठनहरुले आन्दोलन फिर्ता लिएका हुन् ।

विद्यार्थी संगठनका नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम हाललाई स्थगित गरिएको जानकारी दिएका छन् । संयुक्त विज्ञप्तिमा नेविसंघका अध्यक्ष राजीव ढुंगाना, अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियू अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल छैटौंका देवेन्द्र कुँवरलगायतको हस्ताक्षर छ ।

भएका निर्णय र सहमति कार्यान्वयन नभएको अवस्थामा भने पुनः आन्दोलन अगाडि बढाउने चेतावनी उनीहरूले दिएका छन् । साथै आन्दोलनको क्रममा गिरफ्तार परेका विद्यार्थीहरूको तत्काल रिहाइको माग पनि उनीहरूले गरेका छन् ।

काठमाडौं विश्वविद्यालय अन्तर्गतका नोबेल र केएमसी कलेजले सरकारले तोकेको भन्दा बढी शुल्क विद्यार्थीहरूबाट असुलेपछि विद्यार्थी संगठनहरूले संयुक्त रुपमा आन्दोलन गर्दै आएका थिए । आफूहरूले उठाएका सबै माग सम्बोधन भएपछि आन्दोलन स्थगित गर्ने निर्णय गरिएको अखिल क्रान्तिकारीका नेता जीपी मैनालीले बताए ।

सहमतिअनुसार काठमाडौं विश्वविद्यालयले आफू मातहतका मेडिकल कलेजहरूलाई अतिरिक्त शुल्क सम्बन्धित विद्यार्थीकै नाममा फिर्ता गर्न निर्देशन दिइसकेको विज्ञप्तिमार्फत् जानकारी दिएको छ । भर्ना भएका सबै विद्यार्थीहरूलाई पठनपाठनमा सहभागी गराउन पनि निर्देशन दिएको छ । साथै  होस्टल व्यवस्थालाई ऐच्छिक हुने गरी मापदण्डहरू संशोधन हुनुपर्ने भन्दै केयूले सम्बन्धित निकायलाई जानकारीका लागि सिफारिस गरेको छ ।

चिकित्सा शिक्षा आयोगलाई काठमाडौं विश्वविद्यालयले लेखेको पत्र
काठमडौं विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सेजले केएमसी र नोबेल मेडिकल कलेजलाई लेखेको पत्र ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?