१२ माघ, काठमाडौं । अमर न्यौपाने लोकप्रिय साहित्यकार तथा लेखक हुन् । २०६६ सालमा ‘पानीको घाम’ नामक कृतिबाट नेपाली साहित्यमा प्रवेश गरेका न्यौपाने २०६८ मा प्रकाशित ‘सेतो धरती’ उपन्यासबाट साहित्यप्रेमीहरुमाझ चिनिए । यो उपन्यासबाट उनले मदन पुरस्कार प्राप्त गरे ।
न्यौपानेले २०७२ मा शिक्षासम्बन्धी उपन्यास ‘करोडौं कस्तुरी’ बजारमा ल्याए भने उनको पछिल्लो उपन्यास ‘गुलाबी उमेर’ किशोरीको मनोविज्ञानमा आधारित छ । लेखनसँगै यात्रा गर्न, खाना बनाउन रुचाउने साहित्यकार अमर न्यौपानेको दिनचर्या कसरी बित्छ ? उनका रुचिहरु के के छन् ? लगायतका विषय उनकै शब्दमा–
उठेर मनतातो पिउँछु
मेरो उठ्ने तालिका मौसमअनुसार हुने गर्दछ । जाडोयाममा सात बजे उठ्छु भने गर्मीमा ६ बजेतिर नै उठ्छु । उठेर शौचालय गएपछि दुई कप मनतातो पानी पिउँछु । कहिलेकाहीं नजिकैको पार्कमा मर्निङ वार्क जान्छु ।
म सीटीसी चिया खान्नँ । ग्रीन टीजस्तै अरु चिया खान्छु । गर्मी मौसममा बिहान एउटा स्याउ खान्छु भने अहिले जाडोमा मकै, कोदो र फापरको रोटी खाने गर्छु । मेरो सुत्ने समय रातिको १२ बजेपछि नै हुन्छ । कहिलेकाहीं त एक पनि बज्छ ।
मेरो खाना
बिहानको खाना १० देखि ११ बजेको बीचमा खाइसकेको हुन्छु । बिहानको खानामा दाल, भात, तरकारी हुन्छ । म दाल भातसँग मुछेर भन्दा पनि पिउन रुचाउँछु । भात म तरकारीसँग मात्रै खान्छु ।
बेलुकाको खाना सकेसम्म घाम डुब्नुअघि नै खाएको राम्रो हुन्छ भनिन्छ । गर्मीमा सात बजे र जाडोमा ६ बजेसम्म म खाना खाइसक्छु । बेलुकाको खानामा भात त्यति खाँदिन, तरकारी हालेर बनाएको कोदो र फापरको सुप, साउथ इण्डियन खाना साम्बर, इडली, डोसा बनाएर खान्छु । त्यसैगरी फलफूल पनि खान्छु ।
मलाई बाहिरको भन्दा घरकै खाना राम्रो र मीठो पनि लाग्छ । घरको खाना स्वादसँगै स्वास्थ्यलाई पनि हित गर्ने भएकाले घरको खानामा जोड दिन्छु ।
घरको सबै काम गर्छु
खेतीकिसानी गरेरै हुर्किएको हुँ । खेतबारीको काम गरेर विद्यालय जान्थें, खाजा खाएर भैंसी हेर्न जाने, घाँस काट्ने गरिन्थ्यो । मैले १० वर्षको उमेरदेखि खाना बनाउने, भाँडा माँझ्ने, लुगा धुने काम गरेको छु । आजभोलि श्रीमतीलाई खाना बनाउन, घरको काम गर्न सहयोग गर्छु । पहिला आमालाई सहयोग गर्थें, अहिले जीवनसाथीलाई गर्छु ।
खाना बनाउन मलाई एकदमै जाँगर लाग्छ । घरमा मैले बनाएको खसीको मासु एकदमै स्वादिलो हुन्छ भन्नुहुन्छ । मलाई खाना बनाएर परिवारलाई खुवाउँदा आनन्द लाग्छ । हाम्रो समाजमा घरको काम महिलाको मात्र जिम्मेवारी हो भन्ने गलत संस्कार छ । म यसको विपरीत छु । म घरको सबै काम गर्छु । काम सबैको हो, एउटाको मात्र जिम्मेवारी होइन ।
मेरो पहिरन
एकदमै साधारण पहिरन रुचाउँछु । मलाई कपडा लगाउँदा सहज हुनुपर्छ । म फेसनका लागि भन्दा पनि शरीरलाई शीतल र न्यानो राख्ने लुगा रुचाउँछु ।
सिर्जनाको समय
लेखनका लागि यही समय उपयुक्त भन्ने छैन । राति अबेरसम्म पनि लेख्ने गरेको छु, कहिलेकाहीं त रातभरि पनि लेख्छु । मेरो लेख्ने समयको ठेगान छैन । लेख्नको लागि पढ्नुपर्छ । पढ्ने–लेख्ने समय निश्चित नै छैन ।
मेरो रुचि
मलाई लेख्नबाहेक अरुका सिर्जना पढ्न ज्यादै रुचि लाग्छ । यस्तै खाना बनाउने र यात्रा गर्ने पनि अर्को रुचि हो । मलाई यात्रामा एकदमै रुचि छ । नेपालका विकट भेगहरुमा यात्रा गर्न, त्यहाँका स्थानीय बासिन्दासँग घुलमिल हुन, त्यहाँको भाषा, धर्म, संस्कृति, चालचलन र जीवनशैलीको अवलोकन गर्न मन पराउँछु । यात्रा गर्दा यात्रु भएर बास बस्दा खुशी लाग्छ ।
मलाई चलचित्र हेर्न पनि उत्तिकै मन पर्छ । बढीजसो इरानी चलचित्र हेर्छु । यथार्थवादी चलचित्रले मलाई बढी आकर्षित गर्छन् ।
प्रतिक्रिया 4