
१४ माघ, काठमाडौं । जोर्डनको सेनाले २७ जना लागू औषध तस्करलाई मारेको छ । बिहीबार हतियार र लागू औषधसहित सिरियाबाट जोर्डन प्रवेश गर्न खोजेका २७ जना तस्कर मारिएको सेनाका एक प्रवक्ताले बताएका हुन् ।
सिरियासँग सीमाना जोडिएका विभिन्न मोर्चामा गरिएको कारबाहीका क्रममा हतियार र लागू औषधसहित जोर्डन प्रवेश गर्न खोजेका २७ जना तस्कर मारिएको सीएनएनले जनाएको छ ।
नाम नखुलाइएका सेनाका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै लागू औषध तस्करलाई सिरियाली भूमिमा सक्रिय ‘सशस्त्र समूहको साथ रहेको’ बताएका छन् । घटनास्थलबाट ठूलो परिमाणमा लागू औषध बरामद भएको पनि विज्ञप्तिमा उल्लेख छ ।
तर घटनास्थलबाट कुन लागू औषध बरामद भएको भनेर प्रस्ट भइसकेको छैन । पछिल्ला वर्ष सिरियाबाट जोर्डनमा लागू औषध तस्करीका घटना बढ्न थालेका छन् । यही कारण सुरक्षा चुनौती बढेको भन्दै संयुक्त राष्ट्संघले चिन्ता व्यक्त गरिरहेको छ । जोर्डनका अधिकारीहरूले समेत सिरियाबाट तस्करी गरेर ल्याइने लागू औषध बरामद गर्दै आएका छन् ।
सेनाको तथ्याङ्क अनुसार २०२१ मा अघिल्लो वर्षको तुलनामा दोब्बर परिमाणको लागू औषध बरामद गरिएको थियो । यो महिना मात्रै सिरियाबाट ल्याउन लागिएको ५० लाखभन्दा बढी क्याप्टागन पिल बरामद भएको थियो ।
सीएनएनबाट
प्रतिक्रिया 4