+
+

एमसीसी रोक्न संसद बैठक स्थगित !

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १६ गते १९:३३

१५ माघ, काठमाडौं । अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लाई संसदमा अगाडि बढाउनबाट रोक्न आइतबारका लागि तय भएको प्रतिनिधिसभाको बैठक स्थगित गरेको पाइएको छ ।

प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजेका लागि तय गरिएको थियो । बैठकको एजेण्डा तय गर्न सभामुख अग्निप्रसाद सापकोटाले आइतबार बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाएका थिए ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले शनिबार अपरान्ह पौने पाँच बजे साँझ नै प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक गरेका थिए । तर यति तयारी गरेर पनि शनिबार साँझ प्रतिनिधिसभाको बैठक माघ २६ गतेसम्मका लागि स्थगित गरियो ।

संघीय संसद सचिवालयले जारी गरेको सूचनामा कोरोना महामारीको जोखिम कायमै रहेको भन्दै बैठक स्थगित गरेको उल्लेख गरेको छ । तर शनिबार साँझको सत्तारुढ गठबन्धनको बैठक र त्यहाँ भएको छलफलपछि बैठक स्थगित गरेको गठबन्धनका नेताहरु बताउँछन् ।

गठबन्धनका नेताहरुका अनुसार आइतबारकै बैठकमा एमसीसी सम्झौता अघि बढाउने प्रधानमन्त्रीको चाहनालाई रोक्नका लागि नै संसद बैठक स्थगित गरिएको हो ।

शनिबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकमा एमसीसी सम्झौता अनुमोदनको विषयमा छलफल भएको थियो ।

नेताहरुका अनुसार प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता अनुमोदन गर्नुपर्ने समय घर्किन लागेको बताएका थिए । उनले फेब्रुअरी १ अर्थात माघ १८ गतेसम्म अनुमोदन गर्नुपर्ने भन्दै गठबन्धनका दलहरुको सहयोग मागेका थिए ।

तर नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले सभामुखमार्फत संसद बैठक नै स्थगित गर्न लगाएका हुन् । सभामुख सापकोटा नेकपा माओवादी केन्द्रको तर्फबाट सभामुख भएका हुन् ।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्रीले एमसीसी अनुमोदन गर्न दबाव दिएकै कारण प्रतिनिधिसभाको बैठक सार्न लगाइएको स्वीकार गर्छन् ।

‘फेब्रुअरी १ मा एमसीसी अनुमोदन गराउन अमेरिकाले अल्टिमेटम दिएको रे । त्यसभित्र तिमीहरुले पास ग¥यौ भने ग¥यौ होइन भने हामी फिर्ता लान्छौं भनेर प्रधानमन्त्रीले भन्नुभएको थियो’ नेता खनालले अनलाइनखबरसंग भने ।

अमेरकाले अल्टिमेटम दिएको हो भने प्रतिनिधिसभा बैठक स्थगित गरौं भन्ने सल्लाह भएको भन्दै उनले थपे, ‘अब १० दिन प्रतिनिधिसभा बैठक स्थगित गरौं, यहीबीचमा फेब्रुअरी १ पनि जान्छ । के के हुँदोरहेछ हेरौं न ।’

आफूहरु संशोधनबिना एमसीसी सम्झौता अनुमोदन गर्न नहुने पक्षमा दृढ रहेको पनि खनालले बताएका छन् । ‘यत्राविधि आपत्तिजनक कुरा छन्, नसच्चिएसम्म अनुमोदन हुँदैन नि’ नेता खनालले भने ।

गत पुस ४ गते वरिष्ठ नेता खनालकै नेतृत्वमा पाँच दलीय सत्ता गठबन्धनले एमसीसीबारे समान धारणा बनाउन अध्ययन समिति बनाएको थियो । तर, समितिले हालसम्म कुनै धारणा बनाएको छैन ।

अध्ययन समिति गठन गर्ने दिन गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले संसदको चालू अधिवेशनबाट एमसीसी पेस गर्ने प्रस्ताव राखेका थिए । तर, सत्ता साझेदार दलहरुले एमसीसी यथास्थितिमा अगाडि बढाउन नहुने भन्दै प्रश्न उठाएपछि गठबन्धनले समान धारणा बनाउन भन्दै समिति गठन गरेको हो ।

तर, गठन भएको डेढ महिनासम्म खनाल नेतृत्वको अध्ययन समितिले समान धारणा तय गर्न सकेको छैन । वरिष्ठ नेता खनाल नेतृत्वको अध्ययन समितिमा सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?