
१८ माघ, काठमाडौं । कोरोना महामारीको सबैभन्दा बढी चपेटामा परेको चलचित्र हो सुदर्शन थापाको निर्माण तथा निर्देशनमा बनेको ‘म यस्तो गीत गाउँछु २’ । रिलिजका लागि प्रचार समेत सकेको समयमा यो चलचित्र पहिलो पटक पोष्टपोन्ड भयो ।
दोस्रो पटक चलचित्रको प्रचार मिति माघ १९ गतेलाई तोकिएको थियो । अर्थात्, यदि सबै कुरा ठीक भएको भए यो चलचित्र शुक्रबारबाट रिलिज हुने थियो ।
चलचित्रको प्रदर्शन मिति बारम्बार पोष्टपोन्ड हुँदा यसको निर्माणपक्षलाई केही लाख घाटा त भइसकेको छ । तर चलचित्रको टिमले रिलिजका लागि समय पाउँदा त्यसको फाइदा पनि उठाइरहेको छ ।
केही हप्ताअघि चितवन पुगेर चलचित्रको टिमले थारु संस्कृति झल्किने गरी प्रमोसनल गीतको भिडियो छायांकन गर्यो । थारु भाषामा नै तयार पारिएको गीतमा मुख्य कलाकारहरु पल शाह र पूजा शर्माले नृत्य गरे ।
यस्तै, यो टिमले आइतबार र सोमबार भक्तपुरमा नेवारी भाषाको गीतमा अर्को प्रमोसनल गीत तयार पारेको छ । चलचित्रका मुख्य कलाकार पल शाह र पूजा शर्मा नेवारी भेषमा नै देखिएका छन् । अभिनेत्री तथा निर्मात्री शर्माका अनुसार अन्य केही भाषामा पनि भिडियो छायांकन गर्ने योजना गरिएको छ ।
चलचित्रको प्रचारका लागि तयार पारिएका गीत, ट्रेलरहरु पहिलो चरणको प्रचारमा नै सार्वजनिक भइसकेका छन् । यसैले अब चलचित्रलाई कसरी प्रमोसन गर्ने भन्ने चुनौती यसको टिमलाई छ । यही कुरालाई ध्यानमा राखेर चलचित्रका टिमले विभिन्न भाषामा प्रमोसनल गीत तयार पारिरहेको बताइएको छ ।
माघ १९ गतेबाट पनि पोष्टपोन्ड भएको चलचित्र अब कुन मितिमा रिलिज हुन्छ भन्ने निश्चित छैन ।
प्रतिक्रिया 4