+
+

युट्युबमार्फत कसरी फैलाइँदैछ बलिउड र कलाकारप्रति नकारात्मक अभियान ?

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १९ गते १४:१४

१९ माघ, काठमाडौं । भारतको प्रमुख चलचित्र उद्योग बलिउडमा हिट र फ्लप, खुशी र डर, प्रशंसा र उपहास चलिरहन्छ । तर केही यस्ता विषय छन्, जसलाई बलिउडकर्मीले खासै ध्यान दिने गरेका छैनन् ।

विशेषगरी पछिल्लो समय इन्टरनेटको माध्यमबाट बलिउड र कलाकारहरु विरुद्ध नकारात्मक अभियान चलाउन थालिएको छ । सामाजिक सञ्जालमा लाखौं फलोअर्स कमाएका व्यक्तिहरुलाई बलिउडकर्मी विरुद्ध गाली गलौज गर्न, झुटो खबर फैलाउन र उनीहरुको व्यक्तिगत जीवनलाई हानी पुर्‍याउन निर्देशन दिइन्छ । र, यस्ता खालका प्रचार गरेवापत उनीहरुले पैसा समेत पाउने गरेका छन् ।

बलिउडको विरुद्धमा खबर फैलाउनका लागि युट्युबलाई सबैभन्दा ठूलो हतियारको रुपमा लिइएको छ । यस्तो अभियानलाई अगाडि बढाउने व्यक्तिहरु दक्षिणपन्थी हुन् । बीबीसीले गरेको खोज अनुसार यस्ता खालका व्यक्तिहरु भारतमा सरकारको नेतृत्व गरिरहेको पार्टी भारतीय जनता पार्टीका सदस्यहरुसँग गफगाफमा रमाएको भेटिएको छ । साथै, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको साथमा भर्चुअल मिटिङमा पनि उनीहरुलाई निमन्त्रणा गरिएको थियो । बलिउडकर्मीले अनलाइन माध्यमबाट भइरहेको गलत प्रचारले आफूहरुको जीवनमा असर गरेको र यस्ता कुरा रोक्नका लागि कुनै प्रयास नगरेको स्वीकार गरेका छन् ।

यस्तै, एक युट्युबर सन्दीप बर्माले हालै मात्र बनाएको एक भिडियोमा उनले बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधनको अनुसन्धानमा भ्रष्टाचार भएको दाबी गरेका छन् । उनले सुशान्तको निधनको जाँचमा एम्स अस्पतालले धाँधली गरेको भन्दै भिडियो तयार पारेका छन् ।

बीबीसीसँगको साक्षात्कारमा सन्दीपले आफूसँग यसको प्रमाण भएको दाबी गरेका थिए । तर उनले भिडियोमा प्रस्तुत गरेका तर्कको कुनै पनि प्रमाण दिन अस्वीकार गरे । बरु बीबीसीका संवाददातालाई नै कारबाही गर्ने धम्की सन्दीपले दिएका थिए ।

बीबीसीले बलिउडका अभिनेता, निर्देशक र निर्मातालाई राष्ट्र विरोधी र हिन्दु विरोधीको आरोप लगाउन पनि युट्युब च्यानलको सहारा लिइएको बताएको छ । कुनै प्रमाणविना नै अभिनेताहरुलाई लागूऔषध, वेश्यावृत्ति, बालबालिकाको अश्लील भिडियो बनाएको आरोप लगाइएको छ ।

यस्ता खालका व्यक्तिहरुले पैसा कमाउनका लागि कैयौं व्यक्तिहरुसँग पैसा समेत माग्ने गरेका छन् । पैसा जुटाउनका लागि उनीहरुले युट्युबमा च्याट फिचरको अलवा पेड मेम्बरसिपबाट पनि भिडियो बेच्ने गरेका छन् ।

बलिउड अभिनेत्री स्वरा भाष्करले बीबीसीसँगको कुराकानीमा भनेकी छन्, ‘युट्युबमा चलाइएको यस्ता खालका भिडियोले मानिसहरुले मलाई सोच्ने तरिका नै परिवर्तन गरेका छन् । अब मानिसहरुको दिमागमा मेरो कामको भन्दा मेरो बारेमा कपोलकल्पित रुपमा बनाइएको गलत कुराले स्थान पाउन थालेको छ । यसको सिधा असर मेरो काममा परिरहेको छ । बलिउडकर्मीहरु मलाई लिँदा विवाद हुने डरले मलाई काम नै दिन छाडेका छन् । मसँग विभिन्न ब्राण्डका मानिसहरु पनि डराउँछन् ।’

बलिउड अभिनेत्री स्वरा भास्कर

स्वराले अगाडि भनेकी छन्, ‘सन् २०११, १२, १३ सालको जस्तो अहिले स्टारहरु पेट्रोलको भाग बढेको विषयमा बोल्न किन चाहँदैनन् ? यहाँसम्म कि कुनै पनि विषयमा उनीहरुलाई सिधै निशाना बनाउँदा पनि केही बोल्दैनन् । तर हामी यो सोच्दैनौं कि यस्तो अवस्था किन आयो ? यस्तो अवस्था आउनुमा डरले काम गरेको छ । बलिउडमाथि निरन्तर हमला भइरहेको छ । यो योजनावद्ध रुपमा चलाइएको एजेन्डा हो । यो सबै बलिउडलाई आफ्नो इशारामा चलाउन खोज्ने केही मानिसको योजना हो ।’

यस्ता झुटा खबरले बलिउडकर्मीको ज्यानको सुरक्षामा समेत गम्भीर असर परेको छ । पत्रकार श्रीमी बर्माले भनेकी छन्, ‘जब पद्मावत रिलिजका लागि तयार थियो, उक्त समय चलचित्र भित्र दीपिका पादुकोण र रणवीर सिंहको चुम्बन रहेको हल्ला फैलाइयो । यही हल्लाका कारण केही संगठनले चलचित्रको सेटमा तोडफोड गरेका थिए भने निर्देशक सञ्जय लीला भन्सालीमाथि थप्पड हानेका थिए । यस्तै अभिनेत्री दीपिका पादुकोणको नाक काट्ने धम्की समेत दिइएको थियो ।’

पत्रकार श्रीमी बर्मा

बलिउडमा चलचित्र रिलिजअघि निर्माता र कलाकारले पोस्ट प्रोडक्सनको विषयमा धेरै पटक सोच्नुपर्ने अवस्था आएको छ । चलचित्रभित्र आपत्तिजनक तथ्य भएको विषयमा पनि निर्माताले सोच्नुपर्ने अवस्था आएको छ । तर यो सबै कुरा नहुनुपर्ने बीबीसीले उल्लेख गरेको छ ।

पत्रकार श्रीमीले अगाडि भनेका छन्, ‘बलिउडकर्मीबीच एकापसमा एकता हुन आवश्यक छ । उनीहरुले सांसदसँग कुराकानी गरेर नयाँ कानूनका लागि दबाब दिन आवश्यक छ । अभिव्यक्ति स्वतन्त्रता भन्दा पनि गलत खबरप्रति अंकुश लगाउने विषयमा कुरा गर्नुपर्छ ।’

भारतमा युट्युबका ४५ करोड भन्दा बढी प्रयोगकर्ता छन् । जबकि, विश्वभर यो संख्या २ अर्ब छ । यस्ता खालका व्यक्तिहरुलाई युट्युबले समेत सहजै मोनिटाइजेसनको अधिकार दिएको छ । उनीहरु च्याटको माध्यमबाट सहजै कमाउन पनि सक्छन् । यस्ता व्यक्तिहरु खतरनाक किसिमका प्रचार गरिरहेका छन् र आफ्नो च्यानलबाट यस्तै सामाग्री बेचिरहेका छन् ।

युट्युबले यस्तो गलत खबर फैलाउने व्यक्तिहरुलाई ‘सत्यापित बैज’ पनि दिएको छ । जसले गर्दा उनीहरुले दर्शकमाझ भरोसा कायम गर्न पनि सकेका छन् ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?