
१९ माघ, काठमाडौं । गायिका लासीमित राई यतिबेला हामीमाझ छैनन् । कोरोना संक्रमणका कारण केही समयअघि ५३ वर्षको उमेरमा उनको निधन भयो । कोरोना संक्रमण हुनुअघिसम्म पनि लासीमित संगीत साधनामा व्यस्त थिइन् । सक्रिय गायनमा लगभग तीन दशक गुजारिन्, लासीमितले । त्यसबीचमा उनले थुप्रै आधुनिक गीत गाइन् । साथै चलचित्रको पार्श्व गायनमा पनि स्वर दिइन् ।
कोरोना संक्रमणअघि पनि उनी गीत रेकर्डिङमा व्यस्त थिइन् । त्यसबेला स्वरबद्ध उनको गीत हालै सार्वजनिक भएको छ । गीतका केही हरफ यस्ता छन्–
कहिले हराउँदै, कहिले भेटिँदै
लुकामारी खेलिरहन्छु म
कहिले उकाली हुन्छु
कहिले ओराली…
यी गीतका हरफहरु कवि एवं गीतकार मञ्जुलको हो । संगीत भने लासीमित राई स्वयंको हो । पुराना एवं दिग्गज स्रष्टाहरुको संगीत संकलन गर्दै आएको आरबीए फिल्म्सले यो गीत भिडियोसहित सार्वजनिक गरेको हो ।
गीतको भावअनुसार दृश्यहरु समायोजन गरेर म्युजिक भिडियो बनेको छ । यसमा सुविस्ता र विशालले अभिनय गरेका छन् । यज्ञराज खड्काले निकै सुन्दर ढंगले दृश्यहरु कैद गरेका छन् । रमित कुँवरले म्युजिक भिडियो निर्देशन गरेका हुन् ।
एक संगीत साधकको सम्मानमा यो गीत र म्युजिक भिडियो निर्माण गरेको आरबीए फिल्म्सका रुद्र गुरुङ बताउँछन् । यसअघि उनले नातिकाजी, फत्तेमान, अम्बर गुरुङदेखि भक्तराज आचार्यसम्मका गीतहरु उत्पादन गर्दै आएका छन् । साथै आरबीए फिल्म्सबाटै यसअघि लासीमित राईको छुट्टै गीति संग्रह पनि सार्वजनिक भएको थियो ।
दार्जिलिङको रङ्गोनमा काचिन लेप्चा र मधु लिम्बुको कोखबाट जन्मिएकी लासीमित राई जीवनभर संगीत सिर्जनामा तल्लीन रहिन् । उनले आफ्नो जीवनकालमा दुई सोलो एल्बम बजारमा ल्याइन् । उनका ‘मेरो माया लै बरि लै लै’, ‘सँगसँगै बाँच्न पाउँ’, ‘मायालुको मुहारै हँसिलो’ लगायतका गीत जनजिब्रोमा झुण्डिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4