
२० माघ, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले तीन वटा आक्रमणकारी ड्रोन ध्वस्त पारेको छ । मुलुकमा हमला गर्न आएका ड्रोनलाई आकाशमै रोकेर ध्वस्त पारिएको यूएईको रक्षा मन्त्रालयले जनाएको हो ।
मन्त्रालयका अनुसार बुधबार बिहान आएका ड्रोन मानवबस्ती भन्दा टाढै थिए । लेबनानको इरानपक्षीय टेलिभिजन च्यानल अल मायादीनले इराकको एक मिलिसियाले पछिल्लो घटनाको जिम्मा लिएको बताएको छ ।
बुधबार यूएईको रक्षा मन्त्रालयले आक्रमणकारी ड्रोनलाई आकाशमै रोकेर ध्वस्त पारेको भन्दै ट्विटरमा लेखेको छ’, ‘रक्षा मन्त्रालयले कुनै पनि खतरासँग जुध्न तयार छ भनेर प्रस्ट पार्न चाहन्छौं र मन्त्रालयले मुलुक तथा आफ्नो भौगोलिक क्षेत्र जोगाउन सबै उपाय समेत अपनाइरहेको छ ।’
पछिल्लो समय यूएईमाथि मिसाइल र ड्रोन हमला हुन थालेका छन् । यमनमा हुथी विद्रोहीविरुद्ध अरब गठबन्धनलाई समर्थन गर्दै आएको उक्त मुलुकमा गत २ हप्ताको अवधिमा ३ पटक मिसाइल प्रहार भइसकेको छ । हुथी समूहले मिसाइल आक्रमणको जिम्मा लिँदै यूएईमा थप हमला गर्ने चेतावनी दिइसकेको छ ।
यसैबीच, अमेरिकाले संयुक्त अरब इमिरेट्स (यूएई) मा युद्धपोत र लडाकु विमान पठाउने भएको छ । यमनको हुथी समूहले यूएईमा मिसाइल प्रहार गर्न थालेपछि अमेरिकाले युद्धपोत र लडाकु विमान पठाउन लागेको हो ।
अमेरिकाले बुधबार एक विज्ञप्ति जारी गर्दै यूएईको सुरक्षार्थ युद्धपोत र लडाकु विमान पठाउन लागेको जनाएको हो । यमनका इरान समर्थित हुथी मिलिसियाले यूएईमा मिसाइल प्रहार गर्न थालेपछि अत्याधुनिक लडाकु विमान र ‘गाइडेड मिसाइल डिस्ट्रोयर’ तैथान गर्न लागेको अल अरेबिया समाचार माध्यमले जनाएको छ ।
अमेरिकी रक्षामन्त्री लियोड अस्टिन र अबुदबीका राजकुमार मोहम्मद बिन जायद अल नाहेनबीच भएको टेलिफोन कुराकानीपछि अमेरिकाले ‘यूएईविरुद्ध जारी खतरामा सघाउन’ युद्धपोत र लडाकु जहाज पठाउन लागेको समाचारमा उल्लेख छ ।
यमनका हुथी समूहसँग लडिरहेको अरब गठबन्धनलाई सघाइरहेको यूएईमा गत महिना ३ पटक मिसाइल हमला भएको थियो । ती हमलामा परी तेल कम्पनीमा काम गर्ने तीन जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया 4