+
+

कर्णालीमा गैरसांसदलाई मन्त्री बनाउने माओवादी केन्द्रको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २१ गते १३:४१
कार्चेन लामा

२१ माघ, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आइतबार सरकारलाई पूर्णता दिने तयारी गरेका छन् ।

सत्तारुढ माओवादी केन्द्रले मन्त्रीको नाम टुंगो लागेपछि आइतबार मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो । ‘मन्त्रालयको भागवण्डा करिब करिब मिलिसकेको छ । आज नाम आए आइतबार सरकारले पूर्णता पाउँछ,’ मुख्यमन्त्री शाहीले अनलाइनखबरसँग भने ।

मुख्यमन्त्रीमा नियुक्त भएको तीन महिनासम्म पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै उनको आलोचना भइरहेको छ । शाही १६ कात्तिकमा मुख्यमन्त्री बनेका थिए ।

आठ मन्त्रालय रहेको कर्णालीमा नेकपा माओवादीले चार, एकीकृत समाजवादीले तीन र कांग्रेसले मुख्यमन्त्रीसहित तीन मन्त्रालयमा दाबी गरेपछि भागबण्डा मिलाउन सकस भएको थियो । माओवादीले तीन, कांग्रेसले मुख्यमन्त्रीसहित तीन र एकीकृत समाजवादीले दुई मन्त्रालय लिने सहमति नजिक पुगेको स्रोतको दाबी छ ।

माओवादी केन्द्रबाट विन्दमान विष्ट आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका छन् ।

अब कार्चेन लामा र गणेशप्रसाद सिंहलाई मन्त्री बनाउने निर्णय भएको प्रदेश सभा सदस्य तथा माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले जानकारी दिइन् । सिंह जाजरकोटका प्रदेशसभा सदस्य हुन् भने हुम्लाका लामा गैरसांसद हुन् । ‘हामीले दुईजना मन्त्रीको टुंगो लगाएर केन्द्रमा सिफारिस गरेका छौं, आज नाम आउँछ’ अध्यक्ष केसीले भनिन् ।

त्यस्तै एकीकृत समाजवादीबाट जुम्लाका पदम रोकाया मन्त्री बनाउने सम्भावना छ । यद्यपि निर्णय भइनसकेको एकीकृत समाजवादीकी सचेतक देवी वलीले बताइन् । ‘हामी छलफलमै छौं । तीन मन्त्रालय पाउनुपर्छ भन्ने हाम्रो अडान कायमै छ,’ उनले भनिन् ।

प्रदेश सरकारमा एकीकृत समाजवादीबाट चन्द्रबहादुर शाही भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री छन् ।

नेपाली कांग्रेसबाट यज्ञबहादुर बुढा क्षेत्री र हिमबहादुर शाही मन्त्री बन्ने बताइएको छ । तर टुंगो भने लागेको छैन । ‘कांग्रेसभित्र समस्या छैन्, मोटामोटी छलफल भइसकेको छ । हामी सरकारमा जाने सांसदको आज टुंगो लगाउछौं,’ मुख्यमन्त्री शाहीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?