+
+

मातृशिशु मृत्युदर घटाउन घर घरमा स्वास्थ्यकर्मी

रासस रासस
२०७८ माघ २३ गते १५:२५

२३ माघ, कञ्चनपुर । मातृशिशु मृत्युदर घटाउनका लागि शुक्लाफाँटा नगरपालिकाले स्वास्थ्य संस्थामा प्रसूति भएका महिलाको घरमै (घरभेट) गएर स्वास्थ्यकर्मीमार्फत जाँच गराउने काम गर्दै आएको छ । प्रसूति भएका महिला र शिशुको अवस्थाबारे जानकारी लिनका लागि स्वास्थ्यकर्मीले घरमै गएर स्वास्थ्य परीक्षण गर्दै आएका छन । प्रसूतिपछि महिला र शिशुको स्वास्थ्यमा देखिन सक्ने जटिल अवस्था निवारण गर्न स्वास्थ्यकर्मी घरमै पुग्ने व्यवस्था मिलाइएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले बताए ।

‘प्रसूति भएको २४ घण्टाभित्रै पहिलो जाँच स्वास्थ्य संस्थामै हुन्छ’, उनले भने, ‘दोस्रो जाँच तीन दिनमा र तेस्रो जाँच सात दिनमा गरिन्छ ।’ दोस्रो र तेस्रो जाँच स्वास्थ्यकर्मी प्रसूति भएका महिलाको घरमै पुगेर गर्दै आएका छन् । घरमै पुग्ने स्वास्थ्यकर्मीले प्रसूति भएका आमा तथा नवजात शिशुको शारीरिक जाँच गर्ने, जटिल अवस्था पत्ता लगाउने, उपचारका लागि पठाउनुपर्ने भए तुरुन्तै नजिकैको बृहत् वा आकस्मिक प्रसूति सेवा भएको अस्पतालमा पठाउने गरिएको छ ।

‘घर भेटमा जाँदा स्वास्थ्यकर्मीलाई घर भेट झोला तयार गर्न भन्छौं’, शाखा प्रमुख भट्टले भने, ‘झोलामा आमा र नवजात शिशुको शारीरिक जाँचका लागि नभई नहुने औजार तथा उपकरण र आवश्यक औषधि राख्न लगाउछौं । कम्तीमा रक्तचाप तथा ज्वरो नाप्ने उपकरण, पञ्जा, पाठेघरको उचाइ नाप्ने टेप, टर्चलाइट, ड्रेसिङ सेट, बेटाडिनजस्ता औषधि राख्न लगाई स्वास्थ्यकर्मीलाई पठाउने गरिएको छ ।’

प्रसूति भएका आमाको जाँचमा गुप्ताङ्गबाट अत्यधिक रगत बगे नबगेको, नाडीको गति, तापक्रम, रक्तचाप, रक्तअल्पता, रक्तश्राव, स्तनको जाँच, अनुहार र हात सुन्निएको/नसुन्निएको अवस्था, पाठेघरको कडापन र खुम्च्याइ र आमाले सजिलोसँग पिसाब फेर्न सके/नसकेको बारे स्वास्थ्यकर्मीले जाँच गर्दै आएका छन् ।

अत्यधिक रक्तश्राव भएको वा अन्य खतराका लक्षण रहेको पाइए स्वास्थ्य संस्थामा उपचारका लागि पठाउने गरिएको छ । नवजात शिशुको रङ्ग, चाल र रुवाइको मूल्याङ्कन गर्ने, श्वासप्रश्वास जाँच गर्ने खुट्टा र पेटमा छामेर बच्चाको तापक्रम हेर्ने, नाभीमा रगत बगिरहेको र सङ्क्रमण भए नभएको हेर्ने, छालामा पिप जमेको वा खटिरा भए नभएको जाँच गर्ने, निधार, पेट, हत्केला र पैतलामा जडिन्सको सङ्केत भए नभउएको जाँच गर्ने, राम्ररी दूध चुसेको, दिसापिसाब गरे/नगरेको, नाभी मलम लगाएको/नलगाएको बारे स्वास्थ्यकर्मीले जाँच गर्दै आएका छन् ।

प्रसूतिपछि महिलामा रक्तश्राव हुने कार्यसँगै शिशुमा पनि निमोनियलगायत रोगको सङ्क्रमणसमेत देखिने गरेकाले त्यसबारे सजगता अपनाउनका लागि स्वास्थ्यकर्मी खटाउने गरिएको उनको भनाइ छ ।

प्रसूति भएका महिलालाई पोषिलो खाने कुरा खुवाउने, शिशुलाई स्तनपान गराउने तरिकाबारे पनि जानकारी दिने गरिएको छ । गत पुस महिनादेखि प्रसूति भएका महिलाका घरमा स्वास्थ्यकर्मी खटाउने कार्यक्रम सुरु गरिएको हो । हालसम्म नगरपालिका क्षेत्रमा सञ्चालित संस्थागत स्वास्थ्य संस्थामा प्रसूति भएका ४३ र अन्य स्वास्थ्य संस्थामा प्रसूति भएका १० महिलाको घरमा पुगेर स्वास्थ्यकर्मीले जाँच गरिरहेको सिनियर अहेब हरिनाथले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?