
२४ माघ, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले फागुन १ गतेबाट हल खोल्न सिफारिस गरेसँगै नेपाली चलचित्रकर्मी पनि जुर्मुराएका छन् । हल खुलेपछि नयाँ चलचित्र रिलिज गर्ने विषयमा चलचित्रकर्मीहरुबीच छलफल अगाडि बढेको छ । बलिउड र हलिउड चलचित्रको पनि ‘लाइनअप’ लामो बनिसकेको छ ।
यतिबेला केही निर्माता–निर्देशकको आँखा भने फागुन १३ मा देखिएको छ । किनकि, शिवरात्री पर्वमा चलचित्र रिलिज गर्दा फाइदा हुने बुझेका निर्माता यो मितिलाई छाड्न चाहँदैनन् । हुन त, यो मितिमा बलिउड चलचित्र ‘गंगुबाई काठियावाडी’ पनि रिलिज हुँदैछ । तर, यो चलचित्रले नेपाली चलचित्रको व्यापारमा ठूलो असर नगर्ने बुझाइ चलचित्रकर्मीहरुको छ ।
फागुन १३ गतेका लागि चलचित्र ‘लप्पन छप्पन २’ले केही समयअघि नै मिति तय गरिसकेको थियो । तर, निर्माणपक्षले प्रचार भने सुरु गरेको छैन । चलचित्रका निर्देशक मुकुन्द भट्टले फागुन १३ गतेबाट चलचित्र पछाडि नहट्ने बताएपनि प्रचारका लागि कुनै सुरसार भने गरेका छैनन् ।
अर्कोतिर यो मितिमा चलचित्र ‘म यस्तो गीत गाउँछु २’ रिलिज गर्ने विषयमा पनि छलफल अगाडि बढेको छ । चलचित्र संघले बनाएको नयाँ नियम अनुसार वैशाख १ गतेसम्म रिलिज हुने एक नेपाली चलचित्रसँग अर्को जुध्न नपाइने भन्ने छ । यसैले फागुन १३ मा ‘म यस्तो गीत गाउँछु २’ रिलिज गर्नका लागि चलचित्र ‘लप्पन छप्पन २’ पछि हट्नुपर्छ । यो विषयमा निर्माता, वितरक र प्रदर्शकबीच छलफल अगाडि बढेको बताइएको छ ।
कोरोनाका कारण ‘म यस्तो गीत गाउँछु २’को रिलिज दुईपटक पछि सरिसकेको छ । यसअघि माघ १९ गते रिलिज मिति तय गरेको यो चलचित्र प्रदर्शन हुन पाएको थिएन । सुदर्शन थापा निर्देशित यो चलचित्रमा पल शाह, पूजा शर्मा, दिनेश डीसी, हरिहर शर्मा लगायतका कलाकारको अभिनय रहेको छ ।
प्रतिक्रिया 4